चक्कुको चिह्नसहित श्रीमतीलार्इ यस्तो म्यासेज गरेका थिए इन्टर्पोलका प्रमुखले

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
चक्कुको चिह्नसहित श्रीमतीलार्इ यस्तो म्यासेज गरेका थिए इन्टर्पोलका प्रमुखले

सारांश

  • चीनले अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलका प्रमुख मेङ होङ्वेई आफ्नो नियन्त्रणमा रहेको पुष्टि गरेको छ।
  • प्रस्ट नपारिएको कानूनको उल्लङ्घनबारे भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले उनीमाथि अनुसन्धान गरिरहेको बेइजिङले जनाएको छ।
  • चीनको सार्वजनिक सुरक्षासम्बन्धी उपमन्त्री रहिसकेका मेङ फ्रान्सस्थित इन्टर्पोलको मुख्यालयबाट सेप्टेम्बर २५ मा चीन गएपछि बेपत्ता थिए।

चीनले अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलका प्रमुख मेङ होङ्वेई आफ्नो नियन्त्रणमा रहेको पुष्टि गरेको छ। प्रस्ट नपारिएको कानूनको उल्लङ्घनबारे भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले उनीमाथि अनुसन्धान गरिरहेको बेइजिङले जनाएको छ। चीनको सार्वजनिक सुरक्षासम्बन्धी उपमन्त्री रहिसकेका मेङ फ्रान्सस्थित इन्टर्पोलको मुख्यालयबाट सेप्टेम्बर २५ मा चीन गएपछि बेपत्ता थिए।तत्काल लागु हुने गरी अध्यक्ष पदबाट मेङको राजीनामापत्र आइतवार प्राप्त भएको इन्टर्पोलले जनाएको छ।

चर्चित

सार्वजनिक पद धारण गरेका मानिसहरूले गर्ने भ्रष्टाचारबारे अनुसन्धान गर्ने राष्ट्रिय सुपरिवेक्षण आयोगले मेङमाथि अनुसन्धान भइरहेको आफ्नो वेबसाइटमा राखेको एउटा विज्ञप्तिमा उल्लेख गरेको छ। चीनमा बेपत्ता हुनेमा मेङ पछिल्लो चर्चित व्यक्ति हुन्। पछिल्ला महिनाहरूमा उच्च सरकारी अधिकारीहरू, अर्बपति र लोकप्रिय व्यक्तित्वहरू बेपत्ता भएका छन्। गत जुलाइदेखि बेपत्ता भएकी चिनियाँ अभिनेत्री फान बिङबिङले गत हप्तामात्रै एउटा सार्वजनिक क्षमायाचना गरेकी थिइन्। फानलाई करछलीसहितका अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ।

इन्टर्पोलले के भनेको छ ?

सामाजिक सञ्जाल ट्विटरमा राखेको एउटा वक्तव्यमा इन्टर्पोलले तत्काल लागु हुने गरी मेङको राजीनामापत्र प्राप्त भएको जनाएको छ। आफ्नो प्रावधान अनुसार उसले हाल उपाध्यक्ष रहेका दक्षिण कोरियाली नागरिक किम जङ याङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ। आगामी महिना दुबईमा हुने इन्टर्पोलको महासभाले बाँकी दुई वर्षे कार्यकालका लागि अध्यक्ष चयन गर्नेछ। मेङको कार्यकाल सन् २०२० सम्मका लागि थियो। इन्टर्पोलले मेङको अवस्थालाई लिएर आफू चिन्तित बनेको भन्दै उनीबारे स्पष्ट पार्न चीनलाई शनिवार आग्रह गरेको थियो। अनुसन्धान थालिसकेको बताएको फ्रान्सले आफूसँग थप जानकारी नभएको आइतवार बताएको थियो।

मेङकी श्रीमतीले के भनिन् ?

चीनले हिरासतमा लिएको पुष्टि गरे लगत्तै बोल्दै ग्रेस मेङले आफ्ना श्रीमान् खतरामा रहेको आफूलाई लागेको पत्रकारहरूलाई बताइन्। आफ्ना श्रीमान्‌को अवस्था पत्ता लगाउनका लागि सघाइदिन उनले अन्तर्राष्ट्रिय समुदायलाई आइतबार एउटा भावुक अपील गरेकी थिइन्। बेपत्ता भएको दिन मेङले सामाजिक सञ्जालमा ‘मेरो फोनको प्रतीक्षा गर्नू’ भन्दै चक्कुको चिह्नसहितको आफूलाई सन्देश पठाएको उनले बताइन्।

उनले भनिन्, “उहाँलाई के भएको छ भन्ने कुरा मलाई थाहा छैन।” सुरक्षाका कारण मुख नदेखाइ आँसु थाम्दै उनले चिनियाँ र अङ्ग्रेजी भाषामा लेखिएको एउटा वक्तव्य पढिन्। “हामी सधैँ मुटुहरूले जोडिएका छौँ। यो विषय निष्पक्षता र न्यायसँग जोडिएको छ।” “यो विषय अन्तर्राष्ट्रिय समुदायसँग जोडिएको छ। यो विषय मेरो मातृभूमिका मानिसहरूसँग जोडिएको छ।”

प्यारिसस्थित बीबीसीका ह्यू स्कोफिल्डको विश्लेषण

मानबाट चीनमा ओर्लिनासाथ मेङ होङ्वेईलाई पक्राउ गरिएको हुनसक्छ भन्ने मानिसहरूले जे लख काटेका थिए, चिनियाँ अधिकारीहरूले त्यसैलाई पुष्टि गरेका छन्। भ्रष्टाचारविरोधी निकायले मेङलाई नियन्त्रणमा लिएको खबरले राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी बृहत् अभियान अन्तर्गत उनलाई समातिएको दर्शाउँछ। उक्त अभियानका कारण कैयौँ वरिष्ठ अधिकारीहरू बेपत्ता भएका छन्।

मेङलाई के भएको छ भन्ने कुरा त अहिले स्पष्ट भएको छ। तर उनीविरुद्ध के कस्ता अभियोग लगाइँदैछ र उनको भविष्य के हुनेछ भन्ने कुरा सदाझैँ अस्पष्ट नै छ।

को हुन् मेङ होङ्वेई

नोभेम्बर २०१६ मा इन्टर्पोलको अध्यक्ष निर्वाचित।

कार्यकाल सन् २०२० सम्म।

चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारी।

चीनका सार्वजनिक सुरक्षा मामिलाका पूर्व उपमन्त्री।

आपराधिक न्याय र प्रहरी सङ्गठनमा ४० वर्ष लामो अनुभव।

सन् २०१६ मा इन्टर्पोलमा अध्यक्ष निर्वाचित हुनुअघि उनी सार्वजनिक सुरक्षा मामिलाका उपमन्त्री थिए।

उनी इन्टर्पोलमा निर्वाचित भएपछि मानव अधिकारवादी समूहहरूले भिन्न राजनीतिक मत राखेर चीन छोडेकाहरूलाई उनीमार्फत् खोज्न चीनलाई सहयोग पुग्न सक्ने भन्दै टिप्पणी गरेका थिए। तर मेङले संसारभरि प्रहरीलाई बलियो बनाउन काम गर्ने बताएका थिए। उनीसँग आपराधिक न्याय, लागुऔषध, प्रतिआतङ्कवाद र सीमा सुरक्षाबारे ४० वर्ष लामो अनुभव भएको इन्टर्पोलले जनाएको छ। खोजी गरिएको व्यक्तिका लागि इन्टर्पोलले संसारभरि रेडकर्नर नोटिस जारी गर्न सक्छ।

तर उसले कसैलाई पक्राउ गर्न, प्रहरी खटाउन वा पक्राउपुर्जी जारी गर्न सक्दैन।

बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?