चिया बेचेर रु ६० हजार बचत गर्दै विपना

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३, २०७९
|
|
२७ पटक हेरिएको
Shares
चिया बेचेर रु ६० हजार बचत गर्दै विपना

सारांश

  • रेसुङ्गा।
  • गुल्मीको मुसिकोट नगरपालिका-२ की विपना महत २० वर्ष पुगिन्।
  • यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ।

रेसुङ्गा। गुल्मीको मुसिकोट नगरपालिका-२ की विपना महत २० वर्ष पुगिन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ।

यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्। उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छन्।

बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन्। बजारमा चियाको मूल्य रु २५ भए पनि विपनाले एक कप चिया रु २० का दरले बेच्छिन्।

“चिया बेचेर दैनिक रु तीन हजारका दरले मासिक रु ९० हजार कमाइ हुन्छ”, उनले भनिन्, “घरखर्च सबै कटाएर रु ६० हजार बचत गर्दै आएकी छ। ” विपनाले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ रु तीन हजार भएको बताइन्।

माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि उनी पढ्नका लागि तम्घास आएकी हुन्। उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सक्काएकी छन्। यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोचिन्।

उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो। यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गरिन्। मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गरिन्। तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छन्।

अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको उनले बताइन्। “अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ”, उनले भनिन्, “मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन”, उनले भनिन्। तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने उनको भनाइ छ।

आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उनले बताइन्। उनी बिहान ६ बजे बजारमा चिया बेच्न निस्किन्छिन्। त्यसपछि फर्किएर खाना खाएपछि १२ बजे निस्किन्छिन्। तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनै दिन पनि नरहेको विपनाले बताइन्। आफूले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको छ।

उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ। कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन्। कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन्।

उनी उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आएकी छन्। उनले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताइन्। विपनाका बुवा हरिबहादुर कृषक हुन् भने आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका छिन्। चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ।

विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिन्छिन्। उनले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताएकी छन्। लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको तर्क छ। विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै छिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले पहिलो पटक टेस्ट टाेली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै
नेपालले पहिलो पटक टेस्ट टाेली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै
मर्सिडिजका पूर्व कर्मचारी जेसीबी लिएर प्लान्टमा घुसे, चकनाचूर पारे ७० करोड रुपैयाँको गाडी
मर्सिडिजका पूर्व कर्मचारी जेसीबी लिएर प्लान्टमा घुसे, चकनाचूर पारे ७० करोड रुपैयाँको गाडी
भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरी नियन्त्रणमा
भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरी नियन्त्रणमा
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९को उजुरी
सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९को उजुरी
दश करोड सत्तरी लाख वर्ष पुराना हड्डी भेटिए
दश करोड सत्तरी लाख वर्ष पुराना हड्डी भेटिए
जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा
जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा
एक किलो टमाटरको मुल्य २५ लाख !
एक किलो टमाटरको मुल्य २५ लाख !
चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस
चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस
शिक्षामा समानताका लागि हिँडे ८०० युवा, टिच फर नेपाल फेलोसिप आवेदन खुला
शिक्षामा समानताका लागि हिँडे ८०० युवा, टिच फर नेपाल फेलोसिप आवेदन खुला

तपाईंले छुटाउनुभयो कि?