चुनावी मैदानमा रहेका एक दर्जन जोडी !
सारांश
- काठमाडौं, २१ कार्तिक।
- प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि ठूला राजनीतिक दलहरुबाट एक दर्जन जोडी चुनावी मैदानमा रहेका छन्।
- लामो समय पार्टीका लागि योगदान गरेर पनि टिकट नपाएको भन्दै असन्तुष्टीको स्वार सुनिएपनि चुनावमा टिकट पाउने भाग्यमानी जोडीहरु को हो हुन्।
काठमाडौं, २१ कार्तिक। प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि ठूला राजनीतिक दलहरुबाट एक दर्जन जोडी चुनावी मैदानमा रहेका छन्। लामो समय पार्टीका लागि योगदान गरेर पनि टिकट नपाएको भन्दै असन्तुष्टीको स्वार सुनिएपनि चुनावमा टिकट पाउने भाग्यमानी जोडीहरु को हो हुन्।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलहरुले पति पत्निलाई उम्मेदवार बनाएको छ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट र देउवा पत्नी आरजु राणा देउवाले कैलाली–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। ठूलो राजनीतिक दलबाट प्रत्यक्षमा प्रतिस्पर्धा गर्ने एक मात्रै जोडी हो।

काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँण दुवै जना समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा छन्।
पूर्व सभामुख ओनसरी घर्ती मगर समानुपातिकबाट सांसद् बन्ने तयारीमा छन् भने उनका श्रीमान माओवादी नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन्। सभामुख घर्तीको नाम आदिवासी जनजाति महिलातर्फको तेस्रो नम्बरमा छ। दोस्रो प्रतिनिधिसभा चुनावमा उनले रोल्पा-२ बाट चुनाव जितेकी थिइन।

एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङ–२ ‘ख’ बाट प्रदेश सभाको उम्मेदवारी दिएका छन् । एमाले केन्द्रिय सदस्य तथा पोखरेल पत्नी सुजिता शाक्य प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा छन्। पोखरेललाई प्रदेश नम्बर पाँचको मुख्यमन्त्रीको रुपमा प्रोजेक्ट गरिएको छ।

एमाले केन्द्रिय सदस्य रघुवीर महासेठ धनुषा–४ मा प्रत्यक्षतर्फबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्दै छन् भने उनकी श्रीमती जुलीकुमारी महतो प्रतिनिधि सभामै समानुपातिक उम्मेदवार छिन्। महासेठले जित्न नजित्ने सुनिश्चित छैन तर मधेशी महिलातर्फ पहिलो नम्बरमा रहेको उनी भने सांसद बन्ने करिब करिब निश्चित जस्तै छ।
त्यसैगरी एमालेका सिन्धुपाल्चोक क्षेत्र-२ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैछन् भने उनी पत्नि उषाकला राई प्रदेशसभाको समानुपातिकको सूचीमा जनजाति महिलातर्फ दोस्रो नम्बरमा छिन्। राई पहिलो संविधानसभा चुनावमा समानुपातिकतर्फबाट सभासद रहेकी थिइन्।

प्रतिनिधि सभामा जाजरकोटबाट उम्मेदवारी दिएका माओवादी नेता शक्तिबहादुर बस्नेत र प्रतिनिधि सभाकै समानुपातिकतर्फका उम्मेदवार सत्य पहाडी पनि श्रीमान श्रीमती हुन।

दुवै पूर्व मन्त्री समेत हुन । रोल्पा ‘क’ बाट प्रदेश सभामा उम्मेदवारी दिएका माओवादी नेता कुलबहादुर केसीकी श्रीमती तारा घर्ती केसी समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्।
प्युठानबाट प्रदेशसभाका उम्मेदवार बनेका कृष्णध्वज खड्काकी पत्नि रेखा शर्मा सोही पार्टीको समानुपातिक सूचीमा छिन्। यसअघि पनि माओवादीको समानुपातिकबाट सांसद बनेकी शर्मा खस आर्य महिलाको सूचीमा पहिलो नम्बरमा छिन्।

माओवादी नेता देवप्रसाद गुरुङ लमजुङबाट प्रत्यक्षतर्फबाट र पत्नी यशोदा सुवेदी गुरुङ समानुपातिकतर्फबाट उम्मेदवार छन् । काठमाडौं–१० का माओवादी उम्मेदवार हितमान शाक्य र समानुपातिकतर्फका उम्मेदवार अमृता थापा मगर पनि श्रीमान्–श्रीमती हुन ।
नेकपा मालेका महासचिव सिपी मैनाली र उनकी पत्नी निलम केसी दुवै समानुपातिकको सूचीमा रहेका छन्।

प्रतिक्रिया