चौरचन पर्व मनाइँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १६, २०७६
|
|
२९ पटक हेरिएको
Shares
चौरचन पर्व मनाइँदै

सारांश

  • मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ ।
  • चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व हो ।
  • चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिल समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ ।

मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व हो ।

चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिल समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ ।

ज्योतिषशास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ । यही विश्वासले मैथिल समाज कुनै पनि शुभ कार्य गर्दा चन्द्रमाको स्थितिलाई अनिवार्य रूपले विचार गर्ने चलन रहेको छ ।

मैथिल समाजको भाव, कल्पना र विचारमा चन्द्रमाको व्यापकता रहेका कारण सो समाजले धार्मिक अनुष्ठानदेखि साहित्य, सङ्गीत, चित्रकलालगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनी आराधना गर्दै आएको देखिन्छ ।

चन्द्रमालाई मनको देउता पनि भनिन्छ । ऋग्वेदमा धनको प्राप्ति एवम् सुस्वास्थ्यका लागि चन्द्रमाको यत्रतत्र प्रार्थना गरिएको पाइन्छ । चन्द्रमाको उपासनाले कफ रोग निको हुने, वीर्य दोषबाट निवृत्ति र चञ्चल मन एकाग्र हुने धारणा पाइन्छ ।

शारीरिक कान्तिका लागि पनि चन्द्रमाको पूजा गर्ने मान्यता रहेको छ । योग शास्त्रका अनुसार चन्द्रबिम्बमा ध्यानले विश्वको समस्त घटनाको ज्ञान साधकको सहजताले प्राप्त हुन्छ । भदौ चतुर्थी तिथिका दिन मनाइने यो पर्वलाई चौँठचन्द्र पनि भनिन्छ । संस्कृत भाषाको चतुर्थी ध्वन्यात्मक भेदले गर्दा चौँठी वा चौँठ हुन गएको हो ।

लोक धारणाअनुसार भदौ शुक्ल चतुर्थीको दिन उदाउने चन्द्रमा चोर हुन्छ भनिन्छ । यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरेमा दोष लाग्दछ । हातमा कुनै फल वा नैवेद्य लिइ यस दिनको चन्द्रमाको दर्शन गरेमा दोष नलाग्ने मान्यतासमेत रहेको छ ।

यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङ्ग ठाकुरद्वारा भएको मानिन्छ । उनी ज्योतिषशास्त्राज्ञ भएकाले चन्द्रमाको पूजाको परम्परा प्रारम्भ गरेको विश्वास पाइन्छ ।

मैथिल समाजका धेरैजसो परिवारमा यो व्रत गर्ने भाकल गरिएको हुन्छ । परिवारमा कसैलाई कुनै कष्ट भएको बेला यो पर्व गर्ने भाकल गरेर कष्ट निवारणका लागि चन्द्रमालाई बिन्ती गरिन्छ । यस्तो भाकल पाँच÷दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्दछ ।

यो व्रत गर्नेले तृतीया तिथिका दिन नहाए खाए गर्दछ । चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्यका लागि पकवान पकाइन्छ । साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरिन्छ । मिथिलाञ्चलमा आज यस पर्वको उल्लास छाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?