छोरीको बिहे छिनेर फर्केका सचिव मृत भेटिएः यसरी हुँदैछ खोजीकार्य (तस्बिरसहित)
सारांश
- काठमाडौं, माघ २७ ।
- सिंचाई मन्त्रालयका सचिव रामानन्द यादव चढेको जीप धादिङको बेनीघाट रोलाङ गाउँपालिका–३ को सलाङघाटबाट त्रिशुली नदीमा खस्यो ।
- बिहान पौने ३ बजे बा१झ ३१४० नम्बरको सरकारी जीप पृथ्वीराजमार्गको सलाङघाटबाट करिब ५० मिटर तल नदीमा खसेको हो ।
काठमाडौं, माघ २७ । सिंचाई मन्त्रालयका सचिव रामानन्द यादव चढेको जीप धादिङको बेनीघाट रोलाङ गाउँपालिका–३ को सलाङघाटबाट त्रिशुली नदीमा खस्यो । बिहान पौने ३ बजे बा१झ ३१४० नम्बरको सरकारी जीप पृथ्वीराजमार्गको सलाङघाटबाट करिब ५० मिटर तल नदीमा खसेको हो ।
त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जना अझै हराइरहेका छन् । शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा २ झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।
दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएका छन् । दुर्घटनामा परी बेपत्ता सचिव यादवका छोरा सन्तोष र उनको साथीको छोरीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गरेका हुन् । कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर सचिव यादव काठमाडौं फर्कदैं गर्दा दुर्घटनामा परेका हुन् ।
हराइरहेका २ जनाको खोजी कार्यका लागि सशस्त्रको गोदाखोर टोली, नेपाली सेना, जनपथ प्रहरी, स्थानीयबासीको सहयोगमा खोजीकार्य जारी भैरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार जिपमा अरु को–को थिए भन्ने खुलिसकेको छैन् । नदी धमिलो भएको कारण उद्दारमा कठिनाइ भएको प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाले बताए ।
घाइते अवस्थामा रहेका चालकलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि पौडी खेल्दै गएका चालक यादवलाई स्थानीयले पुल मुनिबाट उद्दार गरेका थिए । जिप सडक छेउका २ वटा प्याराफिट भत्काएर खसेको थियो ।
चालकले उक्त जिप सचिव यादवले नै चलाएका प्रारम्भिक बयान दिएका छन् ।

प्रतिक्रिया