छोरी बिहेमा गाउँ नै दाइजोमा दिइयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
छोरी बिहेमा गाउँ नै दाइजोमा दिइयो

सारांश

  • वीरगन्ज : गाउँखाने कथा नेपाली जनजिब्रोमा चलिआएको ज्ञानगुन बढाउने रमाइलो खेल हो ।
  • गाउँखाने कथाको जवाफ दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ ।
  • त्यो गाउँको राम्रो कुरा आफ्नो र नराम्रो कुरा कथा भन्नेको भाग लगाएपछि प्रश्नको उत्तर दिने प्रचलन छ ।

वीरगन्ज : गाउँखाने कथा नेपाली जनजिब्रोमा चलिआएको ज्ञानगुन बढाउने रमाइलो खेल हो । गाउँखाने कथाको जवाफ दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ । त्यो गाउँको राम्रो कुरा आफ्नो र नराम्रो कुरा कथा भन्नेको भाग लगाएपछि प्रश्नको उत्तर दिने प्रचलन छ ।

गाउँखाने कथामा जस्तै पर्साको एउटा गाउँका बासिन्दाले वास्तविक जीवनमै एउटा गाउँ दिएका छन् । तर, यहाँ गाउँखाने कथा सोध्नेलाई गाउँ दिइएको होइन, विवाहमा छोरी–ज्वाइँलाई गाउँ नै दाइजो दिइएको हो । पर्साको बहुदरमाई नगरपालिका–७ मा बहिनी नैना डोमको बिहे हुँदा उनलाई दाइजोमा गाउँ दिइएको उनका दाजु लक्ष्मी बताउँछन् । उनी भन्छन्, ‘बिहे गर्दा दाइजो दिन बुबासँग पैसा नभएकाले दाइजोमा गाउँ दिएर बहिनीको बिहे गरिएको हो ।’

करिब २० वर्षअघि भारतको इनर्वा बजारमा नैना डोमको बिहे भएको हो । उनलाई वि श्रामपुरको दक्षिण टोला दाइजोमा दिइएको हो । उनका अनुसार बहिनीबाहेक डोम समुदायका अरू कोही पनि त्यो गाउँमा माग्न वा कमाउन जान पाउँदैनन् । दाइजोमा पाएको गाउँबाट मागेर आफ्नो गुजारा चलिरहेको नैना सुनाउँछिन् । ‘त्यो पनि मुस्किलले दुई छाक खान पाइन्छ’, उनले भनिन्, ‘आफूसँग न पैसा छ, न त बस्ने घर नै !’ नहरछेउको अलिकति खाली जग्गामा टाँगिएको त्रिपाल नै आफ्नो घरसंसार भएको उनी बताउँछिन् ।

यति मात्र नभई रकम अभाव भएका बेला दाइजो पाएको गाउँ बन्धकी राखी ऋण लिएर उनी आफ्नो गर्जो टार्छिन् । ‘डोम समुदायलाई मर्दा÷पर्दा कसैले ऋण दिँदैन । त्यसबेला पैसा चाहिन्छ’, लक्ष्मी भन्छन्, ‘त्यो पैसा भएको डोमसँग गाउँ बन्धकी राखेर ऋण लिइन्छ ।’

केही दिनअघि कान्छो भाइलाई रकम आवश्यक पर्दा छोरा धर्मेन्द्रसँग भौराटारको छपकैया बन्धकीमा राखेर ऋण लिएको उनले सुनाए । नगद लेनदेनमा जस्तै यस्तो ऋणको पनि म्याद हुन्छ । म्याद नाघेको १० वर्षसम्म अझै प्रतीक्षा गरिन्छ । त्यो अवधिमा पनि रकम फिर्ता गर्न नसके बन्धकी राखेको गाउँ ऋण दिनेको हुन्छ । डोम समुदायको आम्दानीको स्रोत उनीहरूले काम गर्ने गाउँ हुन्, जहाँबाट उनीहरू जीविकोपार्जन गर्छन् । उनीहरूको आम्दानीको एउटा स्रोत गाउँमा बिहेवारी हुँदा त्यसका लागि चाहिने डाला, दाउरालगायत अन्य सामग्री बेच्नु हो । अर्को गाउँमा कसैको मृत्यु भए घाटमा डोमसँग आगो लिइन्छ र त्यसबापत उनीहरूलाई केही रकम दिइन्छ ।

वीरगन्जका समाजसेवी तथा पूर्वप्रधानाध्यापक फुलमहम्मद मियाँ डोम समुदाय अझै गरिब रहिरहनु र पछि पर्नुको मुख्य कारण शिक्षाको पहुँचबाहिर हुनु हो । उनी भन्छन्, ‘अध्ययन गर्ने वा शिक्षा पाएका दलितले अहिले मागेर खानु पर्दैन, त्यो परिवारको सामाजिक स्तर केही बढेको छ ।’

राष्ट्रिय जनगणना २०६८ अनुसार देशको साक्षरता दर ६५ दशमलव ९४ प्रतिशत छ । जातीय आधारमा हेर्दा ब्राह्मण, क्षत्रीको साक्षरता ७६ दशमलव ०३ प्रतिशत हुँदा दलितको ५२ दशमलव ४८ प्रतिशत छ । दलितमध्ये पनि पहाडी दलितको साक्षरता ६१ दशमलव ९३ र औसतमा मधेसी दलितको ३४ दशमलव ५० प्रतिशत छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?