जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालन हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालन हुने

सारांश

  • काठमाडौँ, ४ मंसिर।
  • डेढ महिनाभित्र जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने भएको छ ।
  • रेल विभागका प्रवक्ता अमन चित्रकारले सन् २०१८ को अन्तिम (पुस १६) सम्ममा जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने जानकारी दिए।

काठमाडौँ, ४ मंसिर। डेढ महिनाभित्र जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका प्रवक्ता अमन चित्रकारले सन् २०१८ को अन्तिम (पुस १६) सम्ममा जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने जानकारी दिए। तत्काल जम्मा ३४ किलोमिटर दूरीको रेल सेवा पुनः सञ्चालनमा ल्याउन भौतिक निर्माणका काम सम्पन्न भइसकेको जानकारी समेत उनले दिए।
‘ट्रेन सेट’ खरिद गरेर जयनगर–जनकपुर रेलसेवा सञ्चालन गर्ने सरकारको पहिलो प्राथमिकता हो तर सन् २०१८ भित्र नै रेलसेवा सञ्चालनमा ल्याउनुपर्ने समयसीमा भएकाले ‘ट्रेन सेट’ नै ‘वेट लिज’ मा लिएर सञ्चालन गर्ने कि भन्नेबारे छलफल भइरहेको जानकारी पनि उनले दिए।

कुन मुलुकसँग ‘वेट लिज’ मा ‘ट्रेन सेट’ लिने भन्ने अहिलेसम्म तय भइनसकेको जानकारी दिँदै उनले ‘वेट लिज’ मा लिएर भए पनि नेपाल सरकारले आफ्नो पूर्ण स्वामित्वमा नै उक्त रेल सेवा सञ्चालन गर्ने स्पष्ट पारे। ‘वेट लिज’ मा लिएर सञ्चालनमा ल्याइने रेलमा नेपाली झण्डा फहराइने बताउँदै उनले ‘वेट लिज’ मा लिएर रेलसेवा सञ्चालन गर्ने क्रममा रेलसेवासम्बन्धी आफ्नै जनशक्ति तयार गर्ने योजना रेल विभागको रहेको जानकारी दिए।  यसअघि नै उक्त रेल सेवा सञ्चालनका लागि दुईपटक भार परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भइसकेका छन्। विसं. १९९५ देखि सञ्चालनमा आएको जनकपुर–जयनगर रेलसेवा २०७१ सालदेखि बन्द भएको हो।

पाँच वर्षअघि साँघुरो लेन (न्यारोगेज) मा सञ्चालित उक्त रेल सेवा अब फराकिलो लेन (ब्रोडगेज) मा सञ्चालन हुनेछ। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त रेल्वे लाइन पुनः निर्माण गरिएको हो।  तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणको क्रममा काँकडभिट्टा ७० किलोमिटर, विराटनगर १९ किलोमिटर, जयनगर–जनकपुर–बर्दिवास ७० किलोमिटर, भैरहवा १५ किलोमिटर, रुपैडिया–नेपालगन्ज १२ किलोमिटर ‘क्रस कन्ट्री लिङ्क’ रेल्वे सेवा निर्माण गर्न भारतसँग सहमति भएको थियो। प्रस्तावित उक्त ‘क्रस कन्ट्री लिङ्क’ रेलसेवाको कुल दूरी ११३ किलोमिटर रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?