पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक
सारांश
- पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ ।
- भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।
- उनले भारतीय नागरिककै रूपमा शपथ पनि खाएका छन् ।
पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनले भारतीय नागरिककै रूपमा शपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ ।
उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षका लागि कँडेल चुनाव लडेका थिए । सन् २०१६ मा भएको चुनावमा उनी असफल भए पनि गत वर्ष भएको चुनावमा भने उनी निर्वा्चित भएका थिए । निर्वा्चित भएलगत्तै हिन्दी भाषामा शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाया रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको व्यहोरा उल्लेख गरेका छन् । आफूले दिएको विवरण गलत भए भारतको संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि उनले शपथमा गरेका छन् ।
कँडेल आफैँले भारतीय नागरिक घोषणा गरेर उत्तरप्रदेशको कलेज सञ्चालक समितिको अध्यक्षका रूपमा शपथ खाएको विषयमा अख्तियारमा उजुरी परेको छ । अख्तियारले यो विषयमा अनुसन्धान गर्न निर्देशन दिएपछि नेपाल प्रहरीको सिआइबीले अनुसन्धान टोली खटाएको छ । सिआइबीको टोली स्थलगत अनुसन्धान गर्न गोरखपुर पुगेर फर्किएको छ । कँडेलले भारतीय नागरिकका रूपमा भारतीय कानुनअनुसार शपथ खाएको प्रमाण पनि भेटेको छ ।
सिआइबीको टोलीले संकलन गरेको विवरणअनुसार कँडेल भारत उत्तरप्रदेश, महाराजगन्ज जिल्लाको ठुठीबारीस्थित राधादेवी इन्टरकलेजको आर्य विद्या प्रसार समितिको अध्यक्ष भएको स्पष्ट भएको छ । सन् २०१८ को डिसेम्बरमा भएको निर्वाचनमा उनी अध्यक्षमा निर्वा्चित भएका हुन् । हाल उनी समितिको अध्यक्षकै हैसियतमा बहाल छन् ।
सन् २०१६ अगस्टमा भएको निर्वाचनमा समेत कँडेल उम्मेदवार बनेका थिए । तर, निर्वाचनमा अध्यक्षका उम्मेदवार देवेन्द्रराज कँडेल र ठूटीबारीका पूर्वप्रधान राजेश सिंहले बराबर मत पाएपछि चुनाव निष्कर्ष्विहीन भएको थियो । कँडेलले आफू भारतको ३३ कसाया रोड वेतिया हाता जनपथ–गोरखपुर निवासी भएको भनी लिएको शपथपत्र पनि सिआइबीले प्राप्त गरेको छ ।
नेपाल प्रहरी स्रोतले कँडेलसँग भारतको आधारकार्ड, मतदाता परिचय पत्रलगायत प्रमाणपत्र रहेको दाबी गरेको छ । उनले दोहोरो नागरिकता लिएको विषयमा भारतमा पनि छानबिन भइरहेको छ । भारतीय कानुनअनुसार कुनै पनि प्रतिष्ठानमा गैरभारतीय नागरिकले पदाधिकारी बस्न नपाउने प्रावधान छ । आफ्नो विषयमा इलाहावाद उच्च अदालतमा मुद्दा चलिरहेको स्वयं कँडेलले पनि स्वीकारे । ‘भारतको कलेज मेरो राजनीतिक थलो होइन । यही प्रश्न भारतमा पनि उठेको छ । उनीहरूले नेपालीले भारतमा आएर चुनाव लड्यो भनेर मेराविरुद्ध मुद्दा हालेका छन् । त्यहाँको उच्च अदालतमा मेरो विरुद्धको मुद्दा चलिरहेको छ । तर, म आजसम्म नेपाली नागरिककै हैसियतमा गोरखपुरको राधादेवी इन्टरकलेजको आर्य विद्या प्रसार समितिको अध्यक्ष छु,’ उनले नयाँ पत्रिकसँग भने ।
तर, कँडेल कलेज सञ्चालक समितिको अध्यक्ष मात्र होइन, भारतीय मतदाता पनि रहेको दाबी हिन्दुस्तान दैनिकले गरेको छ । हिन्नदुस्तानले २ मे २०१९ मा लेखेको छ, ‘२००४ को निर्वाचनमा पनि कँडेल ठुटीबारीका मतदाता थिए । उनको परिवारका तीन सदस्य अहिले पनि सोही क्षेत्रका मतदाता हुन् । उनीहरूले आगामी निर्वाचनमा पनि मतदान गर्न पाउनेछन् ।’
कँडेलले गरेको स्वघोषणाले नै उनले दोहोरो नागरिकता लिएको पुष्टि हुने कानुनवीद बताउँछन् । इलाहावाद उच्च न्यायालयका अधिवक्ता राकेश गुप्ताले दस्ताबेजले कँडेल कारबाहीको भागीदार हुने बताए । ‘सम्बन्धित व्यक्ति आफैँले राज्यसमक्ष आफू भारतवासी रहेको भनी जानकारी गराउने व्यहोराको शपथपत्र नै मुख्य प्रमाण हो, फेरि उनले आफूले दिएको विवरण गलत भए कानुनअनुसार कारबाही भोग्छु पनि भनेका छन्,’ गुप्ताले भने । अधिवक्ता गुप्ताले भारतीय नागरिक नभएसम्म कँडेल भारतीय कलेजको समितिमा आबद्ध हुन नसक्ने भएकाले उनी भारतीय नागरिक रहेको पुष्टि हुने दाबी गरे ।
यता, संविधानविद् भीमार्जुन आचार्य नेपाली सांसदले भारतीय संघसंस्थामा गएर चुनाव लड्नु र भारतीय कानुनअनुसार शपथ खानु गम्भीर अपराध भएको बताउँछन् । सांसद कँडेलले शपथ खाँदा प्रयोग गरेका शब्द आपत्तिजनक रहेको र त्यसका आधारमा अनुसन्धान गर्नुपर्ने टिप्पणी आचार्यको छ । नयाँ पत्रिकाबाट
प्रतिक्रिया