जलविद्युत क्षेत्रमा लगानी गर्न चिनियाँ सरकार र निजी क्षेत्र इच्छुक
सारांश
- उर्जामन्त्री पुन र चिनियाँ राजदूतबीच भेटवार्ता काठमाडौं, १४ चैत ।
- उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ ।
- सिंहदरवारस्थित उर्जा मन्त्रालयमा बुधवार भएको भेटवार्तामा राजदूत यु होङले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्नका लागि चिनियाँ सरकार र निजी क्षेत्र इच्छुक भएको बताएकी छन् ।
उर्जामन्त्री पुन र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं, १४ चैत । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा बुधवार भएको भेटवार्तामा राजदूत यु होङले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्नका लागि चिनियाँ सरकार र निजी क्षेत्र इच्छुक भएको बताएकी छन् ।
राजदूत होङले भेटका क्रममा चिनियाँ सरकार र निजी क्षेत्रले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्नका लागि नेपाल सरकारले पनि उपयुक्त वातावरण बनाउनु पर्नेमा जोड दिइन् । द्विपक्षीय हितका विषयमा छलफल गर्दै मन्त्री पुनसँगको भेटमा चिनियाँ राजदूतले नेपाल र चीनबीच भावनात्मक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरेकी थिइन् ।
चिनियाँ राजदूतले मन्त्री पुनसँगको भेटमा हाल चिनियाँ कम्पनीले करिव ८ सय ५० मेगावाट क्षमताका ११ वटा परियोजनामा काम अघि बढाइरहेको र ३ वटा परियोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको जानकारी दिइन् । उनले वान वेल्ट वान रोड परियोजनामा नेपालले हस्ताक्षर गरिसकेपछि चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको समेत बताइन् ।
राजदूत होङले चिनियाँ कामदारको भिषा प्रक्रियामा समस्या भएको भन्दै त्यसमा देखिएको कानुनी समस्या समाधान भए परियोजना निर्माणमा सहज हुने धारणा राखिन् । होङले उर्जा क्षेत्रमा चीन र नेपालको संयन्त्र निर्माण गर्ने विषयलाई आफ्नो सरकारले प्राथमिकतामा राखेको जानकारी समेत दिइन् । त्यसका लागि नेपालको तर्फबाट पनि काम अघि बढे त्यसले दीर्घकालीन रुपमा दुबै देशलाई फाइदा पुग्ने विश्वास समेत व्यक्त गरिन् । उनले चिनियाँ सरकार नेपालको जलविद्युत क्षेत्रको विकासमा सहयोग गर्न सधैं तयार रहेको धारणा व्यक्त गरिन् ।
भेटमा मन्त्री पुनले चीन र नेपालको सम्बन्ध निकै मजबुत भएको भन्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने उल्लेख गरे । उर्जामन्त्री पुनले चिनियाँ लगानीकर्ताले भोगिरहेका समस्याको बारेमा आफूले समाधानका लागि पहल गर्ने बताए । मन्त्री पुनले नेपालमा लगानीको वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तयार रहेको भन्दै थप लगानीको लागि पहल गर्न राजदूत होङलाई आग्रह गरेका थिए ।
“नेपालमा चिनियाँ कम्पनीले भोगेका समस्याको बारेमा हामी गम्भप्र छौं । त्यसमा देखिएका समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैन”, भेटमा मन्त्री पुनले भने । चिनियाँ कामदारको भिषा प्रक्रिया र लगानीकर्ताले भोगिरहेका समस्या समाधानको लागि उर्जा मन्त्रालयले पहल थाल्ने मन्त्री पुनले बताए । वान वेल्ट वान रोड परियोजनामा नेपालको सहभागिताले दुई देशबीचको सम्बन्ध अझ उचाईमा पुगेको भन्दै मन्त्री पुनले आगामी दिनमा उर्जा क्षेत्रमा सहकार्य गर्न सरकार तयार भएको धारणा राखेका थिए ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य समेत रहेका उर्जामन्त्री पुनले रसुवा–केरुङ प्रसारण लाइनको निर्माणपछि त्यसले विजुली आयात र निर्यातमा दुबै देशलाई फाइदा पुग्ने धारणा व्यक्त गरे । नेपालमा चिनियाँ लगानीकर्तालाई लगानीको वातावरण गर्न सरकार तयार रहेको भन्दै मन्त्री पुनले नेपालमा उत्पादन हुने विद्युत खपत नेपालभित्रै हुने वातावरण निर्माण गरिने समेत जानकारी दिए ।
“अहिलेसम्मको सहयोगको लागि चीन सरकारलाई म धन्यवाद दिन चाहन्छु । नेपालमा चिनियाँ लगानीकर्तालाई सहज वातावरण बनाउने जिम्मा हाम्रो भयो । तपाईहरुको तर्फबाट पनि थप लगानी होस्”, मन्त्री पुनले भने । उनले १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने सरकारको लक्ष्य भएको भन्दै त्यसका लागि ठूला आयोजना निर्माणमा सरकारको ध्यान जाने बताए । राजदूतसँगको भेटमा मन्त्री पुनले ठूला आयोजना निर्माणको लागि चीनबाट ऋण सहयोग र सहायताको विषयमा समेत छलफल गरेका थिए । राजनीतिक स्थिरतासहित सुशासन र समृद्धिको वातावरण बनाउने नयाँ सरकारको योजना रहेको मन्त्री पुनको भनाई थियो ।
प्रतिक्रिया