तपाइँ भोकै हुनुहुन्छ, थिमि जानुस्, निःशुल्क खाना खानुहाेस्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १८, २०७७
|
|
२५ पटक हेरिएको
Shares
तपाइँ  भोकै हुनुहुन्छ, थिमि जानुस्,  निःशुल्क खाना खानुहाेस्

सारांश

  • भक्तपुर, १८ वैशाख  :  ‘लकडाउनका कारण तपाइँलाई खान समस्या छ, कि भोकै हुनुहुन्छ ?
  • तपाईं भोकै हुनुहुन्छ भने आउनुस्, हामी तपाइँलाई निःशुल्क खाना खुवाउँछौँ”, यो आह्वान मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको हो ।
  • मध्यपुरथिमि नगरपालिकाले पहिलो चरणको राहत वितरण सकेको १० दिनपछि नगरपालिकासहित सिङ्गो नगरवासीको सहयोगमा विभिन्न चार ठाउँमा सञ्चालन गरेको सामूहिक मेसमा निःशुल्क खाना खुवाउँदै आएको छ ।

भक्तपुर, १८ वैशाख  :  ‘लकडाउनका कारण तपाइँलाई खान समस्या छ, कि भोकै हुनुहुन्छ ? तपाईं भोकै हुनुहुन्छ भने आउनुस्, हामी तपाइँलाई निःशुल्क खाना खुवाउँछौँ”, यो आह्वान मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको हो ।

मध्यपुरथिमि नगरपालिकाले पहिलो चरणको राहत वितरण सकेको १० दिनपछि नगरपालिकासहित सिङ्गो नगरवासीको सहयोगमा विभिन्न चार ठाउँमा सञ्चालन गरेको सामूहिक मेसमा निःशुल्क खाना खुवाउँदै आएको छ । बुधबार मात्रै पाँच हजार ९५८ जनालाई खाना खुवाएको र लकडाउनभरि नै खाना खुवाउने कार्य जारी रहने नगरप्रमुख श्रेष्ठ बताउनुहुन्छ ।

नगरपालिकाले पहिलो चरणमा सात हजार ५२८ परिवारलाई रु ७४ लाख ४८ हजार ४४९ बराबरको राहत वितरण गरेपछि पछिल्लो चरणमा नगर र आसपासका क्षेत्रका कोही पनि व्यक्ति भोकै बस्न नपरोस् भनेर सामूहिक मेस सञ्चालन र अतिविपन्नलाई घरमै राहत वितरण कार्य शुरु गरेको हो ।

नगरप्रमुख श्रेष्ठ भन्नुहुन्छ, “उपत्यका नगरपालिका फोरमले यो विषम परिस्थितिमा आफ्ना नगरपालिकामा कोही भोकै बस्न नपरोस् भन्ने नीति लिएको छ ।” “मध्यपुरथिमि नगरकार्यपालिकाको निर्णयानुसार नै सबै वडामा राहत वितरण सम्पन्न गरेका छौँ, आफ्नो नगरपालिकाभित्र कोही पनि भोकै नपरुन् भनेर नगरपालिकाका सबै जनप्रतिनिधिको चाहनाअनुसार विगत १० दिनदेखि चार ठाउँमा सामूहिक मेस सञ्चालन गरेर निःशुल्क खाना खुवाइरहेका छौँ”, उहाँ भन्नुहुन्छ ।

नगरपालिकाले बिहान र बेलुका गरी दुईछाक खाना खुवाउने गरेको छ । यसका लागि कमेरोटारमा एभरेष्ट पार्टी प्यालेस, बोडेको सिन्टीटार, नगदेशको शुभश्री बैंक्वेट र गठ्ठाघरमा दैनिक पाँच हजारभन्दा बढीलाई खाना खुवाइरहेको छ । पैदल यात्री, दैनिक ज्यालादारी गर्ने मजदूर, गरिब, अतिविपन्न, असहाय नागरिकका लागि सञ्चालन गरेको सामूहिक मेसमा स्थानीय बासिन्दाभन्दा धेरै कोठाभाडामा बस्ने विपन्नले लाभ लिइरहेका छन् ।

सामूहिक मेसमा मध्यपुरथिमिभित्रका बासिन्दा मात्रै नभई चाँगुनारायण नगरपालिकाभित्र सञ्चालित केही इँटाभट्टामा रहेका करिब ४०० मजदूरले पनि खानाखाने गरेका छन् । नगरवासी मात्रै होइन, भोकै बसेका वा बस्नु पर्ने अवस्था आएका जोसुकै व्यक्तिले पनि खाना खान पाउने व्यवस्था गरेको छ । नगरपालिकाका वडाहरु, यहाँका बासिन्दा र विभिन्न सङ्घसंस्थाले पनि सामूहिक मेस सञ्चालनमा सघाइरहेका छन् । मानवीय आस्था नेपाल, शिक्षा विकास सञ्जाल मध्यपुरथिमिलगायतले खाद्यान्न सहयोग गरेका छन् भने कतिपयले नगद सहयोग गरेका छन् ।

स्थानीय दाताहरुले पनि खाद्यान्नदेखि तरकारी सहयोग गरेको बताउँदै नगरप्रमुख श्रेष्ठ खाना बनाउनदेखि खुवाउन थिमिका टोलटोलबाट महिला पुरुष स्वयंसेवकका रुपमा सहयोग गरिरहेको बताउनुहुन्छ । खाना खान आउने कतिपयले घरमा रहेका वृद्धवृद्धा र बालबालिकाका लागि लाने पनि गरेका छन् ।

सामूहिक मेस सञ्चालनमा सहयोग पु¥याउन बुधबार मात्रै शिक्षा विकास सञ्जाल मध्यपुरथिमिले रु ५५ हजार ५५५ बराबरको ७५० किलो चामल र ७५ किलो दाल, तेल नगरप्रमुख श्रेष्ठलाई हस्तान्तरण गरेको सञ्जालका अध्यक्ष वीरेन्द्र जयनाले जानकारी दिनुभयो । नगरपालिकाले लकडाउनका बेलामा कोही पनि व्यक्ति भोकै बस्न नपरोस् भनेर सामूहिक मेस सञ्चालन गरेकाले सहयोग गरेको उहाँले बताउनुभयो ।

त्यस्तै किरण बाडले २५० किलो चामल, धनराम प्रजापतिले ५०० किलो चामल, ५० किलो दाल र ५० लिटर तेल, बालकुमारी सहकारीबाट ५० बोरा चामललगायत विभिन्न दाता एवं व्यक्तिबाट सहयोग जुट्नेक्रम जारी रहेको छ । अपाङ्ग, असहाय, अति गरिब परिवार रहेको खबर आउनासाथ सम्बन्धित वडा कार्यालयले घर कोठामै लगेर खाद्यान्न वितरण गर्ने कार्य जारी राखेको छ । वडा नं ३ का वडासदस्य एवं कार्यपालिका सदस्य बिनु केसीले नगरपालिकाले खान नपाउनेका लागि वडामार्फत घर घरमा लगेर रासन वितरणको कामसमेत गरिरहेको जानकारी दिनुभयो ।

आइसोलेशन कक्ष १६ श्ययामा विस्तार

त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले आइसोलेटेड एम्बुलेन्स,  कोरोना परीक्षण गर्ने ल्याब, एक्सरे, चार श्ययाको भेन्टिलेटरसहित १६ श्ययाको आइसोलेशन कक्ष विस्तार गरेको छ । शुरुमा ६ श्ययामा सञ्चालन रहेको आइसोलेशन कक्षलाई नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालमा १६ श्ययामा विस्तार गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सुविधासम्पन्न आइसोलेशन कक्ष तयार पारेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी सिङ्गापुरबाट द्रुतगतिको कोरोना परीक्षण गर्ने एक हजार थान पिसिआर किट्स ल्याएको छ । उक्त किटबाट कोरोना परीक्षण थप विस्तार गर्न सहज हुने उहाँको भनाइ छ । कोरोना भाइरसको परीक्षण र सङ्क्रमितको उपचारका लागि सम्पूर्णरुपमा नगरपालिका तयारी अवस्थामा रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?