तातो र चिसो हावाको घर्षणले बन्यो भुमरी
सारांश
- काठमाडौँ।
- बारा फेटा गाउँपालिका पुरैनियाका मुनाफ अन्सारीको परिवार आइतबार साँझ करिब ८.
- ०० बजे खाना खाने तयारी गर्दै थिए।
काठमाडौँ। बारा फेटा गाउँपालिका पुरैनियाका मुनाफ अन्सारीको परिवार आइतबार साँझ करिब ८.०० बजे खाना खाने तयारी गर्दै थिए। हावाको एक झोक्काले कच्ची घरमा हानेपछि मुनाफ बाहिर निस्कए। “ठूलो ठूलो असिना झरिहाल्यो,” उनले थने, “के भयो भनेर थाहा नपाउँदै ठूलो हुरी आयो।”
यो सिजनमा आउने कतिपय आँधीले सानो क्षेत्र ओगटे पनि कडा प्रभाव बोकेको हुने वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताउँछन्।
“चितवन हुँदै वेगमा गएको चिसो बादलसँग बङ्गालको खाडी र अरेबियन खाडीको तातो वायुसहित वेगमै आएको बादल त्यो क्षेत्रमा पुगेर मडारियो,” विज्ञ श्रेष्ठले थपे, “बादलभित्रै तातो वायु र चिसो वायुको घर्षण सानो घेराभित्र धेरै हुँदा ठूलाठूला ढिक्काको असिना बन्यो।” त्यो क्रम वायुमण्डलको उच्च तहमा नभई तल्लो तहमै भएकाले बारा पर्सामा ठूला असिना बर्षिएको उनले बताए। हुन पनि असिनाको आकार पनि झण्डै अण्डाजस्तो भएको स्थानीयको भनाइ छ।
वायुमण्डलमा न्यून चापीय रेखाको विकास भएपछि यसरी वायु पश्चिमबाट पूर्वतिर बहन्छ। त्यही दिन बङ्गालको खाडीबाट साढे एककिलोमिटरको उचाइ हुँदै तातो हावासहितको बादल उत्तरपश्चिम हुँदै त्यहाँ पुग्यो। “भारतको मध्यप्रदेशको न्यून चापीय प्रणालीबाट खाली ठाउँ खोज्दै आएको थियो,” मौसमविद् मिन अर्यालले भने, “त्यहीबेला अरेबियन सागरको उच्च चापीय तातो वायु पनि त्यही गतिमा बारा पर्सा आइपुग्यो।” यसरी आएको वायुको वेग झण्डै ७० किलोमिटर प्रतिघण्टा रहेको थियो।
उनका अनुसार तीव्र गतिको तातो, चिसो हावा र स्थानीय वायु खुला ठाउँमा एकैचोटी ठोक्किँदा आँधीको विकास भयो। तातो हावा माथि जान खोज्ने र चिसो हावा तल खस्न खोज्ने सङ्घर्षले भुमरी बन्यो। मौसमको त्यो चक्रले असिनासँगै आँधी मानव बस्तीमा वर्षियो।
अर्यालले त्यो समयको अध्ययन भू–उपग्रहमा गरिरहँदा तस्बिरमा साना साना केही थोप्लाको सङ्केतमात्र देखिएको थियो। त्यसको उच्च प्रभाव थाहा पाए पनि नेपालमा स्थानीय मौसम अध्ययन गर्ने राडार अभावका कारण तत्कालै स्थान यकिन गर्न नसकिएको उनले स्पष्ट पारे।
यस सिजनमा नेपाल, भारत, बङ्गलादेशलगायतका जुनसुकै क्षेत्रमा आउनसक्ने प्रक्षेपण मौसमविद्को छ। जमिन तातिदै गएर बनेको स्थानीय वायु समेत मिसिदा आँधी झन कडा भएको उहाँको ठहर छ।
पहाडी भेगमा यस्ता आँधीका केही भाग पहाडले छेकिनाले कम क्षति हुन्छ । तर तराइ क्षेत्रमा चुरेपछि अर्को पहाड नभई खुला र खाली ठाउँ हुन्छ। यस्तोमा पश्चिम र पूर्वबाट बहेको बादल र वायु खाली क्षेत्रमा मिसिने गर्छ।
गाेरखापत्र दैनिकका अनुसार जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखास्थित हावाको वेग नाप्ने प्रविधि विफोर्ट स्केलले त्यस दिनको अत्यधिक वेग ४८ नट रेकर्ड गरेको छ। यस अनुसार हिसाब गर्दा ९० किलोमिटर प्रतिघण्टाको दरले वायु बारा पर्सा क्षेत्रमा आँधी पुगेको अनुमान मौसमविद् मीन अर्यालको छ । यो हालसम्मकै शक्तिशाली मौसम प्रणाली रहेको महाशाखाले जनाएको छ ।
नेपालमा ३० नटभन्दा माथिको हुरी यसअघि आएको थिएन । मौसमको पछिल्लो विश्लेषण गर्दै उहाँले त्यो दिन पश्चिम नेपालबाट जमिनबाट तीन किलोमिटरदेखि करिब १४ किलोमिटरमाथिबाट चिसो बादलसहितको हावा तीव्र गतिमा बहेको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया