दशकौँदेखि भारत र पाकिस्तानका सेना कश्मीर सीमामा आमुन्नेसामुन्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३, २०७६
|
|
२४ पटक हेरिएको
Shares
दशकौँदेखि भारत र पाकिस्तानका सेना कश्मीर सीमामा आमुन्नेसामुन्ने

सारांश

  • बीबीसी।
  • "सुरुमा हामी एकअर्काविरुद्ध लाइट मशीन गनबाट गोली हानाहान गर्छौँ।
  • त्यसपछि मिडिअम मशीन गनको प्रयोग हुन्छ।

बीबीसी। "सुरुमा हामी एकअर्काविरुद्ध लाइट मशीन गनबाट गोली हानाहान गर्छौँ। त्यसपछि मिडिअम मशीन गनको प्रयोग हुन्छ। अनि मोर्टार आक्रमण हुने गर्छ। केही वर्षयता हामीले दुवै पक्षबाट आर्टिलरी प्रयोग हुन थालेको पाएका छौँ। जब स्थिति बिग्रन थाल्छ अनि हाम्रा वरिष्ठ कमान्डरहरूले पाकिस्तानी समकक्षीसँग कुरा गरेर स्थिति साम्य पार्न प्रयास गर्छन्।"

भारतीय सेनाका एक अवकाशप्राप्त अधिकारीले कश्मीरस्थित नियन्त्रणरेखामा दुई सेनाबीच हुने गोली हानाहानको अवस्था यसरी व्याख्या गरे। परमाणुशक्तिसम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानका झन्डै १० सैनिक विवादित क्षेत्रमा केही मिटरको दुरीमा आमन्नेसामुन्ने परिचाालित छन्। यो क्षेत्र विश्वकै सबभन्दा धेरै सैनिक परिचालित क्षेत्रमा पर्छ।

शत्रुको बन्दुकको छायामा निरन्तर त्यसरी काम गर्नु, खानु र सुत्नुपर्दा कस्तो अनुभव हुन्छ भन्नेबारे भारत र पाकिस्तानका दुई अवकाशप्राप्त अधिकारीहरूले बीबीसीसँग आफ्नो धारणा व्यक्त गरेका छन्।

"सबैलाई शान्ति मन पर्छ। शान्ति एउटा आदर्श हो। कुनैकुनै बेला शान्ति प्राप्त गर्न पनि तपाईँले युद्ध गर्नुपर्छ," एक पाकिस्तानी अधिकारीले भने। "तपाईँले कि त मार्नुपर्छ कि त मारिनुपर्छ। अर्थोक सोच्ने वा विचार गर्ने केही छैन," उनका भारतीय समकक्षीले बताए।

"सिमानामा कहिले पनि स्थिति एकनासको हुँदैन। खतरापूर्ण अनि चलायमान स्थिति रहन्छ। हामीहरू उनका चौकीमाथि हावी हुन खोज्छौँ र उनीहरू हाम्रा चौकी कब्जा गर्न खोज्छन्," भारतीय सेनाका अवकाशप्राप्त अधिकारी कर्नेल मुरुगानन्थमले भने।

"दुईबीचको सङ्घर्ष कहिल्यै सकिँदैन। जसले उँचो भूभागमा पकड जमायो उसैले त्यो क्षेत्रमा आधिपत्य जमाउँछ," उनले भने। सेकेन्ड लेफ्टिनेन्ट हुँदा युवावस्थामा मुरुगानन्थम (उनी यही नाम प्रयोग गर्छन्) भारत र पाकिस्तान-प्रशासित कश्मीरलाई छुट्ट्याउने नियन्त्रणरेखामा खटिएका थिए।

"त्यो सन् १९९३ को बेला थियो, त्यो समय पाकिस्तानले भारतमा विद्रोहीको घुसपैठ गराउन खोजिरहेको थियो। अग्रमोर्चामा रहेका हामीहरूको जिम्मेवारी भनेको तिनलाई रोक्नु थियो। जबजब उतापट्टिबाट गोली चल्थ्यो तबतब हामीलाई थाहा हुन्थ्यो कि उनीहरू घुसपैठ गर्नेहरूलाई सजिलो बनाइदिने प्रयास गरिरहेका छन्। त्यतिखेर हामी थप चनाखो हुन्थ्यौँ र घुसपैठ गर्नेहरूलाई खोज्थ्यौँ।"

सुरुमा पाकिस्तानले उसले विद्रोहीहरूलाई केवल नैतिक समर्थन गरेको बतायो। तर तीव्र अन्तर्राष्ट्रिय दबावपश्चात् उसले भारतमा आतङ्कवादी आक्रमण गर्न जिम्मेवार व्यक्ति तथा संस्थाविरुद्ध कारबाही गर्न स्वीकार गर्‍यो।

"कश्मीरमा युद्धविराम भएको बेला म त्यहाँ खटाइएको थिएँ। तर पनि हामी उच्च सतर्कतामा रहन्थ्यौँ," नाम बताउन नचाहने एक अवकाशप्राप्त पाकिस्तानी कर्नेलले बीबीसीलाई बताए।

हालसालै पाकिस्तानले छानिएका २६ अवकाशप्राप्त अधिकारीबाहेक अन्यलाई सञ्चारमाध्यमको सम्पर्कमा आउन प्रतिबन्ध लगाएको छ। तिनै छानिएकामध्ये कसैसँग कुरा गर्न बीबीसीले पाकिस्तानी सेनामार्फत् गरेको प्रयास सफल भएन।

त्यसैले बीबीसीले सम्पर्क गरेका ती पाकिस्तानी अधिकारीले उनले सन् २००६ देखि २००८ का बीचमा ती भारतीय अधिकारी खटिएकै क्षेत्र पुँछमा खटिएको बेलाको अनुभव सुनाए। तर नाम नबताउने सर्तमा।

"केही चौकीहरू बडो प्रभावकारी रूपमा लुकाइएका हुन्छन् र ती खासै देखिँदैनन्। तर हामीलाई थाहा हुन्छ ती त्यहाँ छन् भनेर।" "हाम्रा केही चौकी निकै नजिकनजिक हुन्छन्। एउटा ठाउँमा त भारतीय र पाकिस्तानी चौकीबीचको दुरी केवल २५ मिटर थियो।"

भारतीय सेनामा सैनिक तथा युवा अधिकारीहरूलाई सामान्यतया एक वा दुई महिनाका लागि अग्रमोर्चामा खटाइन्छ। त्यहाँ शत्रुपक्षसँग आमुन्नेसामुन्ने हुनुपर्छ। सघन गोली हानाहान भएका बेला दुवै पक्षले सिमानाका गाउँलेहरूलाई सुरक्षित स्थानमा सार्छन्
"हामीबीचको दुरी केवल डेढ सय मिटर थियो। मैले उनीहरूले आफ्ना हतियार सफा गरिरहेको समेत प्रस्टसँग देख्न सक्थेँ," कर्नेल मुरुगानन्थमले सम्झिए। "अर्को समयमा, म अलि होचो भूभागमा थिएँ। मैले उनीहरूको गतिविधि प्रत्यक्ष नदेखे पनि उनीहरूले निरन्तर हामीलाई निगरानी गरिरहेको मलाई थाहा थियो।"

"हुन त डर भनेको एक किसिमले स्वाभाविक भावना हो तर मेरो सैनिक प्रशिक्षणले मलाई शान्त रहन सघायो। मैले मअन्तर्गत रहने सैनिकलाई डराएको देखाउनु पनि त भएन। जेजस्तो भए पनि हामीसँगै चौकीमा रहनुपर्छ भनेर म लेसैनिकहरूलाई भन्थेँ।" "म एक रात भारतीयहरूको सामुन्ने रहेको एक चौकीमा थिएँ," पाकिस्तानी कर्नेलले भने।

"त्यो यस्तो वातावरण थियो जसमा अभ्यस्त भएको खण्डमा त्यसले तपाईँलाई बलियो बनाउँछ।" "मेरा सैनिक मेरो जिम्मामा थिए। त्यसले थप दबाव हुन्थ्यो।" जब एकअर्काप्रति घृणा गर्ने अस्त्रशस्त्र अनि प्रशिक्षणयुक्त दुई सेना आमुन्नेसामुन्ने हुन्छन्, जुनसुकै बेला जेसुकै हुन सक्छ।

"एकचोटि हाम्रा एक सैनिक पाकिस्तानी मशीन गन फायरमा मारिए," कर्नेल मुरुगनन्थमले सुनाए। "हाम्रो बटालियनमाझ एकदमै उदासीको अवस्था आइपर्‍यो। तर लगत्तै त्यो अनुभूति प्रतिशोधको मागमा बदलियो। हामी अधिकृतहरूले थुमथुमायौँ र सैनिकहरूलाई हामीले अवश्य प्रतिक्रिया जनाउनेछौँ भनेर आश्वस्त पार्‍यौँ।"

"हामीले छेउको चौकीबाट प्रत्याक्रमणको योजना बनायौँ र उनीहरूमाथि हानि गरायौँ।" पाकिस्तानी कर्नेलले चाहिँ उनी त्यहाँ खटिएको बेला गोलाबारी नभएको तर उनका फौज बेलाबेला भावनात्मक बन्ने गरेको बताए। "जबजब हामीलाई भारतनियन्त्रित कश्मीरमा ज्यादती भएका खबर सुन्थ्यौँ तबतब हाम्रा सैनिक अशान्त हुन्थे। सामान्य स्थितिमा फर्कन कैयौँ दिन लाग्थ्यो।"

सीमामा खटिएको सैनिकको निम्ति शत्रुमात्र खतरा भने होइन। हेर्दा सुन्दर हिमचुली सहितका भूभाग त्यहाँ खटिने सैनिकका लागि निर्दयी हुने गर्छन्। "निमोनिया र छातीमा हुने एलर्जी ठूला चुनौती हुन्। बिरामी सैनिकलाई उद्धार गर्दा स्वस्थ सैनिक पनि जोखिममा पर्छन्," पाकिस्तानी अधिकृतले भने।

"निकै उच्च भूभागमा रहँदा विभिन्न जटिलता हुन्छन्। एक त त्यहाँ बस्नु अगाडि छ दिन जति उच्च भूभागमा बस्नको लागि अनुकूलन हुनुपर्छ।" "हामीमा हुने कुल हताहतको सङ्ख्या झन्डै आधाजसो त मौसमकै कारण हुनेगर्छ।"

सन् १९९७ मा कर्नेल मुरुगनन्थम शम्सा बार्री क्षेत्रमा खटिएका थिए। त्यसको ठिक अगाडि पाकिस्तानी-प्रशासित कश्मीरको लिपा उपत्यका पर्छ। "म सम्झन्छु त्यो दीपावलीको दिन थियो, अचानक भीषण मेघगर्जन हुन र चट्याङ पर्न थाल्यो। मेरो चौकी झन्डै ३६०० मिटरको उचाइमा थियो। त्यति उचाइमा चट्याङको आवाज निकै भयङ्कर हुन्छ।"

"तत्काल हामीले हाम्रा सबै जेनरेटर बन्द गर्‍यौँ, रेडिओ उपकरण बन्द गर्‍यौँ र बङ्कर भित्र गयौँ। पाकिस्तानीहरूले पनि पारिपट्टि त्यसै गरेको देख्यौँ।" कठिन भूभागका कारण कैयौँ चौकीहरू सडकले जोडिएका छैनन्। बन्दोबस्तीका सामग्री ढुवानी गर्न या त हेलिकप्टर प्रयोग हुन्छन् या त गधालाई भारी बोकाएर सामान पुर्‍याइन्छ।

"कश्मीरका सडक अत्यन्तै साँघुरा र खराब छन्। गाडी पल्टिएर पनि धेरै हताहत भएका छन्," पाकिस्तानी कर्नेलले बताए। "म खटिएका बेला मेरा दुई सैनिकको गाडी दुर्घटनामा परेर ज्यान गएको थियो।"

सिमानामा खटाइनु भनेको एक सैनिकका निम्ति निकै मुस्किलको विषय हो किनभने उसले महिनौँसम्म आफ्नो परिवारबाट अलग भएर बस्नुपर्छ र कैयौँ महत्त्वपूर्ण पारिवारिक अवसरमा सहभागी हुनबाट वञ्चित हुनुपर्छ।

दुस्मनको गोलीको सोझो निसानमा पर्ने क्षेत्रमा सैनिकहरूलाई एक महिनाभन्दा लामो समय राखिँदैन। पैँतीस सय मिटर माथिका उच्च भूभागमा तीन-तीन महिनामा बटालियन सारिन्छ। अग्रमोर्चामा रहेका कतिपय चौकी सैनिक इन्जिनियरहरूले कङ्क्रिट तथा स्टीलको प्रयोग गरेर डिजाइन र निर्माण गरिएका हुन्छन्। साना हतियारको प्रहार तिनले धान्न सक्छन्।

अस्थायी चौकीहरू भने बालुवा भरिएका बोरा अनि ढुङ्गाले घेरेर सुरक्षित पारिन्छन्। तीमध्ये कतिपय बङ्करमा त केवल दुई वा तीनजना मात्र मशीन गन बोकेका सैनिक बस्न सक्छन्। अस्त्रशस्त्रले सुसज्जित सेना त्यति नजिक हुँदा ससाना कुराले पनि निकै डरलाग्दो परिस्थिति खडा गरिदिन्छ।

"एक पटक के भयो भने हाम्रो फौजले भारतीय चौकीमा एउटा सानो डिशजस्तो वस्तु देख्यो। हामीले ठान्यौँ त्यो हाम्रो फौजको गतिविधि अनुगमन गर्ने कुनै रेडार हो," पाकिस्तानी अधिकृतले भने।

"उनीहरूले त्यो त स्याटलाइट टीभीको छाता भएको बताए। म छक्क परेँ। त्यसपछि मैले पनि हाम्रोपट्टि त्योभन्दा ठूलो आकारको स्याटलाइट डिश राख्न लगाएँ।" कश्मीरको विवाद सन् १९४७ मा भएको भारतको विभाजनबाट सुरु भयो। सन् १९८९ देखि यो विवादले सशस्त्र विद्रोहको रूप धारण गर्‍यो।

विश्व एट्लसका बमोजिम भारतको नियन्त्रणमा ४५.१% कश्मीर छ भने पाकिस्तानको नियन्त्रणमा ३८.२% छ। बाँकी भूभाग चीनसँग छ। विगत एक दशकयता भारत र चीनबीच लद्दाख क्षेत्रको विवादित भूभागमा निकै ठूलो परिमाणमा सैन्य विस्तार भएका छन्। तर पनि सन् १९६२ को युद्धपश्चात् ती ठाउँमा हिंसक भिडन्त भने भएका छैनन्।

अर्को दिशामा चाहिँ भारत र पाकिस्तानका सेना आमुन्नेसामुन्ने छन् र त्यहाँ भने अवस्था निकै अनिश्चयपूर्ण छ। गत ३० वर्षमा सीमामा भएका लडाइँका कारण दुवै देशका सयौँ सैनिकले ज्यान गुमाइसके।

"कर्तव्य पालनको सिलसिलामा कहिलेकाहीँ तपाईँको ज्यान जान सक्छ। देशभक्ति, आफ्नो सैन्य रेजिमेन्टको गौरव, कश्मीरप्रतिको प्रतिबद्धता जस्ता विषयले हामीलाई प्रोत्साहित गर्छ," पाकिस्तानी कर्नेलले बताए। भारतीय कर्नेलको भावना पनि उस्तै छ, "भारतप्रतिको भावनाले हामीलाई प्रेरित गर्छ।"

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
तीन तहकाे चुनावबाट काङ्ग्रेसकाे सिद्धन्त विजयी : सभापति देउवा
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव
संविधानको सफल कार्यान्वयनमा नेताहरू चुक्दा प्रसाईंहरू धावा बोल्दैछन् : नैनसिंह महर
संविधानको सफल कार्यान्वयनमा नेताहरू चुक्दा प्रसाईंहरू धावा बोल्दैछन् : नैनसिंह महर
पूर्वयुवराज पारश शाह नर्भिकमा भर्ना
पूर्वयुवराज पारश शाह नर्भिकमा भर्ना
ब्राजिल माथि कोलम्बियाको २-१ को जित
ब्राजिल माथि कोलम्बियाको २-१ को जित
Oli back home from China
Oli back home from China
डीपीएलः सोमपालको विष्फोटक ब्याटिङले धनगढीको जित
डीपीएलः सोमपालको विष्फोटक ब्याटिङले धनगढीको जित
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस
कस्ले राख्यो टिचिङ अस्पतालमा रहेको ‘लकर’मा पेस्तोल ?
कस्ले राख्यो टिचिङ अस्पतालमा रहेको ‘लकर’मा पेस्तोल ?

तपाईंले छुटाउनुभयो कि?