दाइजोमा लैनो भैंसी दिन नसक्दा बेहुली अमृताको सिन्दूर पुछियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २२, २०७३
|
|
२०३ पटक हेरिएको
Shares
दाइजोमा लैनो भैंसी दिन नसक्दा बेहुली अमृताको सिन्दूर पुछियो

सारांश

  • ‘गरिब के कोनो जिन्गी अई हुजुर’ (गरिबको कुनै जिन्दगी हुन्छ र हजुर) कुटुम्बले मागेजति दाइजो दिन नसकेपछि विवाह गरेपनि छोरी बेहुली भएर दुलाहा घर जान नपाएकी घटनाले आहत भएका महोत्तरी र्बिर्दवास–८ फूलबारी बस्तीका ५५ वर्षीय रामप्रकाश कापर अहिले सबैसँग यस्तै बिलौना गरिरहेका भेटिन्छन् ।
  • गत माघ ९ गते विवाह गरिदिएकी छोरी अमृतालाई सम्धीले दुखी कापर र ज्वाइँ रौदी कापरले लैनो भैंसी नदिएको भन्दै घर लान नमानेपछि छाँगाबाट खसेजस्तो भएका रामप्रकाश छोरीको घर नभएको चिन्ताले पिरोलिएका छन् ।
  • ‘धनले गरिब छि, मुदा मन सऽ नईर्,’ (धनले गरिब छु, मनले होइन) रामप्रकाशले भने– ‘सम्धीकै एकलाख ६० हजार नगद आ एकलाख ९० हजार मूल्यके नव्का मोटरसाइकल देली’ (सम्धीलाई एकलाख ६० हजार नगद र एकलाख ९० हजारमा किनेर नयाँ मोटरसाइकल दिएँ) ।

‘गरिब के कोनो जिन्गी अई हुजुर’ (गरिबको कुनै जिन्दगी हुन्छ र हजुर) कुटुम्बले मागेजति दाइजो दिन नसकेपछि विवाह गरेपनि छोरी बेहुली भएर दुलाहा घर जान नपाएकी घटनाले आहत भएका महोत्तरी र्बिर्दवास–८ फूलबारी बस्तीका ५५ वर्षीय रामप्रकाश कापर अहिले सबैसँग यस्तै बिलौना गरिरहेका भेटिन्छन् ।

गत माघ ९ गते विवाह गरिदिएकी छोरी अमृतालाई सम्धीले दुखी कापर र ज्वाइँ रौदी कापरले लैनो भैंसी नदिएको भन्दै घर लान नमानेपछि छाँगाबाट खसेजस्तो भएका रामप्रकाश छोरीको घर नभएको चिन्ताले पिरोलिएका छन् ।

‘धनले गरिब छि, मुदा मन सऽ नईर्,’ (धनले गरिब छु, मनले होइन) रामप्रकाशले भने– ‘सम्धीकै एकलाख ६० हजार नगद आ एकलाख ९० हजार मूल्यके नव्का मोटरसाइकल देली’ (सम्धीलाई एकलाख ६० हजार नगद र एकलाख ९० हजारमा किनेर नयाँ मोटरसाइकल दिएँ) । रामप्रकाशले अगाडि भने– ‘मुदा, कुटुम्ब हमर दिकत नई बुझ्लैन्’ (तर, कुटुम्बले मेरो अप्ठ्यारो बुझेनन्) ।

रामप्रकाश र धनुषाको कान्छिबजारका बेहुलाका बाबु दुखी कापरबीच बिहेमा एउटा होन्डासाइन मोटरसाइकल र नगदसहित साढे तीन लाख दाइजोमा कुरा मिलेर सो रकम बिहेअघि नै पूर्ति गरिए पनि बिहेमा खानाखाने बेलामा दुलहा रौदी कापरले लैनो भैंसी नपाए नखाने बताएपछि विवाद बढ्दा अमृताको घर नभएको फूलबारी टोलका बासिन्दा बताउँछन् ।

‘रामप्रकाश भैया त एकसाल वाद भैंस सेहो देवाक बतौने छला, मुदा दुलहा मरवा सऽ निकैलक माइरपिटमे उतइरगेला’ (रामप्रकाश दाइले त भैंसी नै पनि एक वर्ष दिउँला भन्नुभयो, तर दुलहा त मरवा (विवाह यज्ञस्थल)बाट निस्केर कुटपिटमै ओर्लनुभयो) बस्तीमा रामप्रकाशले भाइ नाता लगाउने गणेशी महतोले भने ।

विवाह समारोहमै धक्कामुक्का चल्न थालेपछि प्रहरीलाई खबर गरिएको गणेशी महतोसहितका पूmलबारी बस्तीका बासिन्दा बताउँछन् । पछि चौलीखा प्रहरी चौकीको समन्वयमा दुई दिनपछि सामाजिक छलफल गराइने गरी जन्ती बेहुली नै नलिई घर फर्केपछि रामप्रकाश इन्तु न चिन्तुका बनेका छन् । सहमति भएको रकमसँगै दुलहाको पोसाक ५६ हजार लगाएर दिँदा पनि कुटुम्ब बाङ्गिएका रामप्रकाश बताउँछन् ।

‘बेटिके ब्याहके लेल जे जेना मगलक्, तेहिना जमिन बेच्क ढेउवा व्यवस्था कैली, आब सबकुछ् हात सऽ छुटल’ (छोरीको बिहेका लागि ज–जसले जसरी मागे, त्यसरी जग्गा बेचेर पैसा जुटाए, अब सबै कुरा हातबाट गयो) – रामप्रकाशले लामो सुस्केरा लगाउँदै दुःख पोखे ।

यता, बेहुला पक्षकाले भने खानेबेलामा केटी पक्षले भद्दा गालीगलौज गरेर बेहुला र जन्तीलाई अभद्र व्यवहार गरेकाले स्थिति बिग्रिएको बताएका छन् । ‘खाने बेलामा ससुराली पक्षसँग केही सामानका लागि दङ्ग्याउने त मैथिल स्थापित परम्परा नै हो नि !’ बेहुला पक्षका सभ्रान्तजस्ता देखिने एक जनाले छलफलमा भन्दै थिए– ‘दुलहाले खाने बेलामा भनेको कुरा त माग नभएर मैथिल संस्कार हास–परिहास न हो, सक्नेले दिन्छन्, नसक्नेले बेहुलालाई कुराले मनाएर ख्वाउन लगाउँछन् ।’ बेहुला पक्षकाले यस्तो बताए पनि उनीहरु दुलाहाकै नेतृत्वमा धक्कामुक्कामा ओर्लिएका दुलही पक्षको भनाइ छ ।

यता आफ्नो बिहेमा बेहुला पक्षको रडाको नजिकबाट देखे बुझेकी अमृता भने अझै पढ्न चाहन्छिन् । एक वर्षअघि नौ कक्षा उत्तीर्ण गरेर पढाइ थन्किएकी अमृताले नेपालीमै भनिन्– ‘दुष्ट रहेछन्, जग्गेमै धक्कामुक्कामा ओर्लिए, सायद म त्यो घरमा सञ्चसँग बस्नसक्ने थिइन होला, जे हुनु भयो । अब पढ्न पाए हुन्थ्यो ।’ आफ्नो उमेर नगएको र पढिलेखी ज्ञान र सीप आर्जन गर्नसके दाइजो नमागी बिहे गर्ने केटा पनि पाउनसक्ने अमृताको विश्वास छ ।

बिहे भएर घर (बेहुलाको घर) नै नपुगी परिबन्दले दुई दिनपछि नै सिन्दूर पुछेकी अमृताको पढ्ने रहर पूरा हुने नहुने केही ठेगान छैन । गरिबीले छोरीको चाँडै बिहे गर्न परेको बताउने रामप्रकाशको परिवारले बिहे गरेर घर जान नसकेपछिको घटनाले आफ्नो सामाजिक मर्यादामा आँच पुगेको ठानेका छन् । आफन्तसँगको कुराकानीमा रामप्रकाशका परिवारजन छोरीलाई पढ्न पठाउनभन्दा अर्काे केटा खोजेर बिहे गरिदिने कुरामा लागेका देखिने गरेको सो बस्तीका उनका छिमेकी बताउँछन् ।

यसैबीच, महिला अधिकार क्षेत्रमा क्रियाशील महिला नेत्री अन्तर पार्टी महिला सञ्जाल बर्दिवास नगरकी अध्यक्ष शारदा थापाको मनमाफिक दाइजो नपाउँदा बुहारी, पत्नी छोडेर हिँड्ने बेहुलाका बाबुछोरालाई तत्काल कार्बाहीको दायरामा ल्याउनुपर्ने भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?