दाङ बस दुर्घटना : विवाहको एक हप्ता नपुग्दै पुछियो सिन्दुर

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
१७ पटक हेरिएको
Shares
दाङ बस दुर्घटना : विवाहको एक हप्ता नपुग्दै पुछियो सिन्दुर

सारांश

  • बस दुर्घनामा परेर ज्यान गुमाउने सहचालक दाङ्ग तुल्सीपुर १७ का १८ वर्षीय (गाउँमा गोन्दि भनेर चिनिने) गणेश विकले मंसिर २९ गते मात्र घोराही– १९ को चासिला भन्ने टोलबाट १७ वर्षीया कमलासँग विवाह गरेका थिए ।
  • विवाहको भोलिपल्टदेखि काममा लागेका उनी शुक्रबार बिहान पनि करिब ५ बजेको समयमा नवदुलहीलाई ‘ल बस है, म साँझ आउँछु, अहिले काममा जान्छु’ भनेर हिडका थिए ।
  • नजानुस् भनेर धेरै कर गर्न पनि सकिनन् कमलाले ।

बस दुर्घनामा परेर ज्यान गुमाउने सहचालक दाङ्ग तुल्सीपुर १७ का १८ वर्षीय (गाउँमा गोन्दि भनेर चिनिने) गणेश विकले मंसिर २९ गते मात्र घोराही– १९ को चासिला भन्ने टोलबाट १७ वर्षीया कमलासँग विवाह गरेका थिए । विवाहको भोलिपल्टदेखि काममा लागेका उनी शुक्रबार बिहान पनि करिब ५ बजेको समयमा नवदुलहीलाई ‘ल बस है, म साँझ आउँछु, अहिले काममा जान्छु’ भनेर हिडका थिए । नजानुस् भनेर धेरै कर गर्न पनि सकिनन् कमलाले । ‘हुन्छ’ भन्दै लल्जालु मुस्कान दिँदै बाईबाईको हात हल्लाए दुबैले । दूर्भाग्य विवाहको एकहप्ता नपुग्दै त्यो ‘बाईबाई’ नै अन्तिम बाईबाई बन्न पुग्यो ।

बेहुली छँदा लगाएको कपडाहरुमा लागेको रातो टिका अझै मेटिएको छैन । नव दाम्पत्य जीवनमा उठ्ने जिज्ञासाको पुरा जवाफ पनि पाइसकेकी छैनन् उनले । तर दाङ्ग घोराही १९ चासिला गाउँकी कमलाको त्यो कलिलो उमेरमा उठेका जिज्ञासा जिज्ञासामै सिमित पारि दियो शुक्रबार भएको बस दुर्घनाले र विवाहको एकहप्ता नपुग्दै सिन्दुर पुछिदियो ।

तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर १७ का वडाध्यक्ष खलराज पुरी भन्छन्– ‘हाम्रो वडामा पनि त्यस बस दुर्घटनाले अत्यन्तै दुःखद घटना घटायो, भर्खर विवाह गरेका बेहुला विकले ज्यान गुमाए, हामी त्यो परिवारमा जाँदै छौं ।’ नियतिको बज्रपात सहनैपर्यो नयाँ बेहुला बेहुली जाल बाने र माईत जानु पर्ने बेलामा कमला ठाडो किरियामा बस्नुपर्ने भएको छ । शनिवार बिहान घर छेउँमा रहेकी एक शिक्षिकाले बस दुर्घटना भएको जानकारी दिएर मात्र विककी नवदुलही र आमाले थाहा पाएका थिए । घटना सुनेलगत्तै कमला अर्धचेत बनिन् र घरमै ढलिन् । आमा लक्ष्मी विकलाई छोरालाई केहि भयो होला भन्ने लागेन । राप्ती अस्पतालमा पुगेर छोरोको अवस्थाबारे सोध्न थालिन् । सत्य धेरैबेर लुकाउन सक्ने अवस्था रहेन ।

बाबु भक्तबहादुर विक सहितको परिवारलाई उनको शव बुझाउनुनै थियो । शव गृहबाट शव बाहिर निकालेपछि लक्ष्मीले छोराको शव सुम्सुम्याउँदै बेदना पोखिन् । उनले घरमा रहेकी नयाँ बुहारीलाई सम्झेर भक्कानो छाड्दा अवस्था भावविव्हल भएको थियो । उनलाई महिला प्रहरीहरुले सम्हाल्दै अलि पर लगे । वडाध्यक्ष गिरीका अनुसार बाबु भक्तबहादुर छोराको लामो कृयामा बसेका छन् । गाउँको रितीरिवाज अनुसार कमलालाई ठाडो किरियामा राखिएको छ । जुम्लामा आज सबैको दाहसंस्कारः रोयो गाउँ जुम्लामा हिजो साँझ पुर्याईएका सबै शवहरुको कसैले हिजो रातीनै त कसैले आज दाहसंकार गरेका छन् । गाउँवासीमा रुवावासीको कोलाहल छ अहिले साँझसम्म ।

गाउँका महिलाहरु आफ्ना छोरा, दाई र भाईलाई सम्झिँदै रोइरहेका थिए भने पु्रुषहरु सम्झाउने प्रत्यन गर्दै गहभरी आँशु पारेर शव बोकेर हिडिरहेका देखिन्थे । जुम्लाको चन्दनाथ नगरपालिकामा मात्रै ६ जना युवायुवतीले त्यस दुर्घटनामा परी ज्यान गुमाएका छन् । नगरपालिकाको वडा नम्बर १० का एउटै दाजुभाईका दुई छोराले ज्यान गुमाएका छन् । २२ वर्षीय रुपेश शाही र १९ वर्षीय रितेन्द्र शाहीको आज बिहान दुबै घरको आँगनमा शव राखेर परिवाजन डाको छाड्दै थिए । मृतकका आफन्त समेत रहेका स्थानीय शिक्षक धर्मेन्द्र देवकोटा भन्छन्–‘ माथि विमानस्थलबाट शव बुझेर ल्याएपछि गाउँमा कोलाहल मच्चिएको छ । मृतकका दुवै परिवार सामन्य परिवारका हुन् ।

दुबैजना प्राविधिक पढदै र उज्वल भविश्यको सपना देख्दै ४५ दिन अघि हिँडेका थिए अहिले शव बनेर आएका छन् ।’ उनले कर्णाली प्राविधिक क्म्यापसबाट नाम निकालेर जाने विद्यार्थीहरु मध्ये जनता मावि महत गाउँमा कुशुम रावललाई कक्षा ११ र १२ सम्म आफँैले पढाएको र तिहारपछि मात्र उनी दाङ पढ्न गएको बताए । कुशु्म दाङ पढ्न आएको डेढ महिना पनि भएको थिएन । डेढ महिनाअघि शुभसाइत पारेर बाबु–आमाको हातबाट निदारमा टिका थाप्दै हिडेकी उनी शनिबार साँझ निर्जिव ढुङ्गाजस्तै सेतो वस्त्रमा बेरिएर बाबुआमा र परिवार कहाँ आईन् । आँगनमा उनको शव धेरैबेर पनि रहन पाएन । उनकी आमा माया डाँको छाड्दै भन्दै थिइन्, मेरी छोरीलाई उतिखेरै भेरीखोलामा लगेर गए ।

कुशुमका बाबु हरिबहादुर रावल मन थामेर श्रीमतीलाई भुलाउँदै कुनो बार्दै थिए । उनको शव पख्र्यौली घर जुम्ला लगिएन । सुर्खेतमा पछि बनाएको घरमा लगेर अन्त्यिष्टि गरिएको र अहिले कुनो बार्न थालिएको बाबु हरिबहादुर रावलले बताए । उनलाई जस्तै कलिला मुनाजस्तै सन्तान गुमाएको पीडा जुम्लामा ११ परिवारमा छ । चन्दनाथ ३ का १७ वर्षीय हिक्मत बुढा, सोही नगरपालिका ३ का १६ वर्षीय देवीप्रसाद उपाध्याय, वडा नम्बर सोही स्थानकी १७ वर्षीया विपना खत्री, सोही जिल्ला रारालिखी १ का १९ वर्षीय जंगबहादुर बुढा, कनाकासुन्दर नगरपालिका १० का १९ वर्षीय वीरेन्द्र कन्दरा, चन्दनाथ १४ का १७ वर्षीय अर्जुन शाही, जितेन्द्र शाही, सोही नगरपालिका १० का २२ वर्षीय रुपेश शाही,हिमा गाउँपालिकाकी १७ वर्षीया शैलाजा शाहीको पनि सोही दुर्घनामा परी ज्यान गएको छ । शिक्षक देवकोटाका अनुसार उनीहरुमध्ये अधिकाँस जनता मावि महतगाउँका विद्यार्थी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?