दीपकराज जोशीपछि संसदीय सुनुवाईमा ओमप्रकाश मिश्र, के होला निर्णय ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
दीपकराज जोशीपछि संसदीय सुनुवाईमा ओमप्रकाश मिश्र, के होला निर्णय ?

सारांश

  • काठमाडौं, २५ भदौ ।
  • प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रको आज संसदीय सुनुवाई भइरहेको छ ।
  • संसदीय सुनुवाई विशेष समितिमा मिश्रका बारेमा परेका उजुरी तथा अन्य विषयमा समिति सदस्यहरूले छलफल गर्दैछन् ।

काठमाडौं, २५ भदौ । प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रको आज संसदीय सुनुवाई भइरहेको छ । संसदीय सुनुवाई विशेष समितिमा मिश्रका बारेमा परेका उजुरी तथा अन्य विषयमा समिति सदस्यहरूले छलफल गर्दैछन् ।

मिश्रसँगको छलफलपछि समितिले अनुमोदनबारे निर्णय लिनेछ । सामान्य बहुमतबाट अनुमोदन गर्न सक्ने भए पनि सिफारिस अस्वीकृत गर्न भने समितिलाई दुईतिहाइ मत चाहिन्छ । नेपालको संविधानको धारा २९२ को उपधारा ९१० मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानुन बमोजिम संसदीय सुनुवाइ हुने व्यवस्था छ ।

उक्त धाराको उपधारा ९२० मा उपधारा ९१० को प्रयोजनका लागि संघीय संसदका दुबै सदनका सदस्यहरु रहने गरी संघीय कानून बमोजिम १५ सदस्यीय संयुक्त समिति गठन गरिने प्रावधान छ । समितिमा सभापति चयन नभइसकेको हुँदा समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले सभापतित्व गरिरहेका छन् ।

यस्ता छन् उजुरी
संसदीय सुनुवाइ विशेष समितिले कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी गर्नेहरूसँग आइतबार छलफल गरेको थियो । एनसेलको कर छुटदेखि श्रीमती हत्यापछि जेल जीवन बिताइरहेका सशस्त्रका डीआइजी रञ्जन कोइरालाको मुद्दामा झगडिया झिकाएर आफन्तसँग घुस लिएको आरोपसहित मिश्रविरुद्ध समितिमा चार उजुरी परेका छन् ।

त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकका लागि लिइएको गणित विषयको परीक्षाको प्रश्नपत्र आउट गर्नेलाई छुट दिएको, हाँडीगाउँको जग्गाको मुद्दा फैसलामा पनि मिश्रले घुस लिएको भन्दै उजुरीकर्ताले निष्पक्ष छानबिन गर्न समितिसँग आग्रह गरेको बताइएको छ । ललितपुरको सैंबुस्थित विवादास्पद जग्गाका विषयमा मिश्रले अनियमितता गरेको भन्दै समितिमा परेको एउटा उजुरी भने उजुरीकर्ताले नै फिर्ता लिएका थिए ।

यसअघि प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई समितिले अस्वीकृत गरेको थियो । संवैधानिक परिषद्ले मिश्रको नाम सिफारिस गरी समितिमा पठाएको हो । जोशीको शैक्षिक प्रमाणपत्रदेखि न्याय सम्पादनका क्रममा विभिन्न विवादित फैसला भएको भन्दै दुईतिहाइ मतबाट समितिले अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?