देउवाले कसरी जिते संसदीय दलको नेता! उपनेता गच्छदार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २२, २०७४
|
|
३८ पटक हेरिएको
Shares
देउवाले कसरी जिते संसदीय दलको नेता! उपनेता गच्छदार

सारांश

  • काठमाडौं, २२ फागुन – कांग्रेस सभापति शेरबहादुर देउवा दुईतिहाइभन्दा बढी मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।
  • प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् ।
  • ६३ सांसदले दलको नेता चयनका लागि मत खसाल्दा देउवाले ४४ र सिंहले १९ पाए ।

काठमाडौं, २२ फागुन – कांग्रेस सभापति शेरबहादुर देउवा दुईतिहाइभन्दा बढी मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् । ६३ सांसदले दलको नेता चयनका लागि मत खसाल्दा देउवाले ४४ र सिंहले १९ पाए । देउवाले ७० प्रतिशत मत प्राप्त गरे भने रामचन्द्र पौडेल पक्षका सिंहले ३० प्रतिशत मत प्राप्त गरे । आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले खबर लेखेका छन् ।

सुशील कोइरालाको निधनपछि ०७२ चैतमा भएको संसदीय दलको निर्वाचनमा देउवा २०६ भोटमा १३९ मत ल्याएर विजयी भएका थिए । रामचन्द्र पौडेल ६७ मत ल्याएर पराजित भएका थिए । देउवाले त्यतिखेर ६७.४७ प्रतिशत र पौडेलले ३२.५३ प्रतिशत मत ल्याएका थिए । तर, दुई वर्षपछि आफ्नो शक्ति झन् बढाएका छन् । पौडेल पक्ष भने झन्झन् खस्किएको छ ।

प्रत्यक्षतर्फ पार्टीले जितेको २३ सिटमा देउवा पक्षले ११ जित्दा पौडेल पक्षले नौ र सिटौला पक्षले तीन सिट जितेको थियो । तर, समानुपातिकका ४० सिटमा देउवाले २८ सांसद आफ्नो पक्षका पार्न सफल भए । समानुपातिकमा आफ्नो पक्षको वर्चस्व हुने गरी नै सभापति देउवा पक्षले सूची बुझाएको थियो । प्रत्यक्षमा हाराहारी जिते पनि समानुपातिकबाट देउवा हाबी भएका हुन् ।

यसअघि, देउवा तीनपटक संसदीय दलको नेता चयन हुँदा तीनैपटक प्रधानमन्त्री बनेका थिए । यसपटक वाम गठबन्धनको वर्चस्व भएपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनिसकेको छ र पूरा कार्यकाल जाने निश्चितजस्तै देखिन्छ । यसअघि, २०५२, २०५६ र २०७२ मा देउवा संसदीय दलको नेतामा चयन भएका थिए ।

नेता निर्वाचित भएलगत्तै आक्रामक देउवा
संसदीय दलको नेतामा चयन भएलगत्तै बसेको पहिलो बैठकपछि देउवाले सरकारका क्रियाकलापप्रति खरो रूपमा उत्रिने चेतावनी दिएका छन् । ‘हामी संसदीय बहुदलीय व्यवस्था मान्ने पार्टी हौँ । यो व्यवस्थामा सत्तापक्षलाई काम गर्नका लागि एकसय दिन अर्थात् हनिमुनको अवधि दिने भनिन्थ्यो’ देउवाले भने, ‘तर, ओलीजीको सरकारले यस्तो ठाउँ नै दिएन । एकसय दिनसम्म विरोध नगरी काम गर्ने ठाउँ ओली सरकारले दिएन । सुरुदेखि नै हस्तक्षेप गरेको हुनाले हामी कडा प्रतिपक्षीको भूमिका खेल्छौँ ।’

पार्टी प्रवेश गरेलगत्तै गच्छदार उपनेता
संसदीय दलको नेतामा चयन भएपछि पहिलो बैठकबाटै देउवाले विजयकुमार गच्छदारलाई उपनेता बनाए । प्रतिनिधिसभा निर्वाचनको केही समय अघि मात्रै फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका गच्छदारलाई देउवाले उपनेतामा चयन गरेका हुन् ।

शशांकको निष्क्रियताले भोट घटेको आशंका
पौडेल पक्षका नेता भएर पनि महामन्त्री डा. शशांक कोइराला दलको नेता चयन प्रक्रियामा सक्रिय नभएपछि नेता सिंहलाई अपेक्षाभन्दा कम भोट खसेको कांग्रेसभित्र चर्चा छ । निर्वाचित पदाधिकारी र प्रभावशाली नेता भएर पनि सिंहको प्रस्तावक नबन्दैदेखि कोइरालाको निष्क्रियताप्रति शंका गरिएको थियो । कोइराला सिंहको प्रस्तावक पनि बसेनन्, उम्मेदवारी दर्ताको प्रक्रियामा पनि सहभागी भएनन् । तर, सोमबार दलको नेता चयनका लागि भोट हाल्न भने पुगे ।

सिटौला पक्षको पनि मत बाँडियो
कांग्रेसमा सिटौला पक्षबाट निर्वाचित तीन सांसद थिए । जसमा भीमसेनदास प्रधान र उमाकान्त चौधरीले देउवालाई भोट दिएका छन् । युवा नेता गगन थापाले भने सिंहलाई भोट हाले । सिटौला पक्षबाट प्रधान र चौधरीलाईसमेत सिंहलाई भोट हाल्न अन्तिमसम्म मनाउन पहल गरिएको थियो । तर, दुवैले देउवालाई भोट हाले । प्रधान सिंहसँग सधैँ असन्तुष्ट रहँदै आएका नेता हुन् । चौधरीले पनि देउवालाई नै भोट दिए । सभापति र दलको नेता एकै व्यक्ति हुन नहुने भन्दै अडान लिँदै आएका थापाले मात्र सिंहलाई भोट हाले ।

गगन, प्रदीपलगायतको पहल जारी रहने
पार्टी सभापति र संसदीय दलको नेता एकै व्यक्ति हुनु हुन्न भन्दै गगन थापा, प्रदीप पौडेललगायत युवा नेताहरूले अभियान नै चलाएका थिए । तर, प्रयास अहिलेका लागि असफल भयो । यद्यपि, टुंगोमा नपुगेसम्म आगामी दिनमा पनि लागिरहने यी नेताहरूले बताएका छन् । ‘पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने निष्कर्षका साथमा दलको नेता नयाँ बनाउन सभापतिलाई हामीले निरन्तर आग्रह गर्दै आयौँ, आग्रह काम लागेन । मतदानबाट नेतृत्व परिवर्तन गर्न सकेनौँ’ सांसद थापाले नयाँ पत्रिकासित भने, ‘नेतृत्व परिवर्तन गराउने प्रयासको थालनी भएको छ । टुंगोमा नपुगेसम्म लगातार अभियान अघि बढाउँछौँ ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Magarathuldai Thada

    अहिले नेपालाँ चुनाब पनि कसरी जित्छन र तेइ दाम ठेलेर त होनि हौ।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?