यसै वर्ष आउने भो नेपालमा रेल, मोरङको कटहरीसम्म बिछ्याइयो लिक
सारांश
- अस्बिन खड्का उदयपुर, ९ साउन ।
- नेपालमा यसै वर्षदेखि रेल चल्ने भएको छ ।
- भारतीय निर्माण कम्पनी इकर्नले नेपालतर्फको कटहरीसम्म रेल ल्याउनका लागि लिक बिछ्याइरहेको छ ।
अस्बिन खड्का
उदयपुर, ९ साउन । नेपालमा यसै वर्षदेखि रेल चल्ने भएको छ । भारतीय निर्माण कम्पनी इकर्नले नेपालतर्फको कटहरीसम्म रेल ल्याउनका लागि लिक बिछ्याइरहेको छ ।
रेल्वे निर्माण कम्पनी इकर्नले भारतको सीमावर्ती बथनादेखि विराटनगर भेडियारीसम्म रेल्वे परियोजनाको काम अघि बढाइरहेको छ । आगामी चैतसम्ममा कटहरीसम्मै रेल गुडेको हेर्न पाइने भएको छ । रेल परियोजनाअन्तर्गत भारततर्फको काम भने अन्तिम चरणमा पुगिसकेको छ ।
बथनादेखि कटहरीसम्म चारवटा रेलको स्टेसन रहनेछन् । जसमा बथना भारतमा पर्छ भने बुधनगर, भेडियारी र कटहरी नेपाल क्षेत्रमा रहेका छन् । कुल ३ अर्ब ७३ करोड भारतीय रुपैयाँ (भारु)को लागतमा बन्ने रेलमार्गको लम्बाइ १८ दशमलब ६ किलोमिटर छ । लिकको कुल लम्बाईमध्ये १० किलोमिटर नेपालमा पर्छ भने बाँकी ८ दशमलब ६ किलोमिटर भारततर्फ पर्छ । रेलमार्ग बनेपछि नेपालका लागि अन्तर्राष्ट्रिय व्यापार सहज हुनेछ । कलकत्ताबाट रेलले ढुवानी गरेको बस्तु सिधै कटहरीसम्म ल्याउन यो रेलमार्गले सहज हुने बिराटनगरका ब्यबसायीहरु बताउँछन् ।
इकर्नका सहायक प्रबन्धक रणवीर कुमारले भने ३ किलोमिटरसम्म भने लिक बिछ्याउने काम रोकिएको बताए । यस क्षेत्रको मुआब्जा विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले भने मुआब्जा विवाद समाधानका लागि भारतका प्रतिनिधि, निर्माण कम्पनी र जग्गाधनीसँग छलफल गरेर छिट्टै समाधान गर्ने र लिक बनाउने कार्य अगाडि बढ्ने उनले बताएका छन् ।
प्रतिक्रिया