देउवा सरकारको पारा देखेर के भन्छ विवेकशील साझा पार्टी ?
सारांश
- काठमाडौं, १७ पुस ।
- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजयको सामना गरेको सत्तारुढ नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवाको पारा देखेर विवेकशील साझा पार्टीले समेत असन्तुष्टि पोखेको छ ।
- सो पार्टीले सहजरुपमा सत्ता हस्तान्तरण गर्नसमेत प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।
काठमाडौं, १७ पुस । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजयको सामना गरेको सत्तारुढ नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवाको पारा देखेर विवेकशील साझा पार्टीले समेत असन्तुष्टि पोखेको छ । सो पार्टीले सहजरुपमा सत्ता हस्तान्तरण गर्नसमेत प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।
विवेकशील साझा पार्टीले पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै निर्वाचनपछि सत्ताबाहिर जान थालेको सरकारले गरेका दूरगामी महत्वका निर्णयहरुप्रति पनि आपत्ति जनाएको छ । नयाँ सरकार गठनका लागि अनुकूल वातावरण बनाउने प्रयास गर्नुको सट्टा सरकारले दूरगामी महत्वका निर्णयहरु गर्ने, सरुवा, बढुवा र नियुक्ति गर्नेतर्फ तल्लीन भएको आरोप पनि विवेकशील साझाले लगाएको छ ।
“कतै सत्ता लम्ब्याउने खेल त भइरहेको छैन ?” विवेकशील साझाले प्रश्न उठाएको छ । विभिन्न बहाना निकालेर सरकारको आयु लम्ब्याउनेतिर लाग्नुभन्दा सहज सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नुपर्ने धारणा विवेकशील साझाले राखेको छ ।
यसैगरी सो पार्टीले राष्ट्रियसभालाई कार्यकर्ता व्यवस्थापनको थलो नबनाउन आग्रह गर्दै त्यहाँ राष्ट्रिय जीवनमा ख्याति कमाएका प्रबुद्ध नागरिकहरुको उपस्थिति हुनुपर्ने तर्क पेश गरेको छ । राष्ट्रिय जीवनमा ख्याति कमाएका प्रबुद्ध नागरिकहरुको उपस्थिति भएको राष्ट्रियसभाले मात्र आवश्यक पर्दा राष्ट्रिय हितलाई सर्वोपरी ठानी मुलुकलाई दिशानिर्देश गर्ने हैसियत राख्ने उसको विश्वास रहेको छ । त्यस्तै, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि जनाउँदै यो संस्था विवादभन्दा माथि रहनुपर्ने औंल्याएको छ । ढिलै भएपनि अध्यादेश जारी भएको र राजनीतिक गतिरोधको अन्त्य भएकोमा त्यसको स्वागत पनि गरिएको छ ।
Jivan Thapa
Ke ko shajha pati bastchar pati nam rakhan