निर्मला पन्त बलात्कार प्रकरण: निलम्बित एसपी बिष्टले बुझाए लिखित जवाफ
सारांश
- काठमाडौँ, ७ कात्तिक ।
- कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा गम्भीर लापरबाही गरेको आरोप लागेका निलम्बित एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले सरकारले सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका छन्।
- दुवै जनाले बुधबार दिउँसो सरकारलाई स्पष्टीकरणको लिखित जवाफ पेश गरेका हुन्।
काठमाडौँ, ७ कात्तिक । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा गम्भीर लापरबाही गरेको आरोप लागेका निलम्बित एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले सरकारले सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका छन्। दुवै जनाले बुधबार दिउँसो सरकारलाई स्पष्टीकरणको लिखित जवाफ पेश गरेका हुन्। पत्र बुझेको २४ घन्टाभित्र लिखित स्पष्टीकरण दिनुपर्ने कानुनी ब्यवस्था बमोजिम नै जवाफ पेश गरिएको छ।
पन्तको बलात्कारपछि हत्या प्रकरणमा गम्भीर लापरबाही गरेको आरोपमा बिष्ट र भट्टलाई बर्खास्त गर्ने सरकारी तयारी छ । उनीहरुले दिएको लिखित जवाफका आधारमा सरकारले आवश्यक निर्णय लिनेछ । यसअघि प्रहरी प्रधान कार्यालयले एसपी बिष्ट र र प्रहरी निरिक्षक जगदिश भट्टलाई बर्खास्त गर्न गृहमन्त्रालयलाई सिफारिस गरिसकेको छ । प्रहरी निरीक्षकदेखि उपरीक्षकसम्मको बर्खास्तिको अधिकार गृहसचिवमा निहीत हुन्छ। गृहसचिवले दुई पटकसम्म २४ घन्टे स्पष्टीकरण सोध्न सक्छन्।
गृहसचिव प्रेम राईले भट्ट र बिष्ट दुवैलाई लिखित स्पष्टीकरण दिन पत्र काटेका थिए। स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभए दुवै बर्खास्त हुनेछन्। गत साउन ११ गते भएको पन्तको बलात्कारपछि हत्या प्रकरणका बेला विष्ट कन्चनपुरका प्रहरी प्रमुख र भट्ट घटना भएको क्षेत्रका इलाका इन्चार्ज थिए।
प्रतिक्रिया