नेपाल क्वाटरफाइनल भन्दा माथि जान सकेन
सारांश
- काठमाडौँ ।
- इन्डोनेशियामा चलिरहेको १८ औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा पराजित भएको छ ।
- राष्ट्रिय खेलकूद परिषद् (राखेप) का अनुसार चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको छ ।
काठमाडौँ । इन्डोनेशियामा चलिरहेको १८ औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा पराजित भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का अनुसार चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको छ ।
पहिलो सिङ्गल्समा नेपालबाट रत्नजित तामाङ २१–१६ र २१–१३, दोस्रोमा नेपालका दिपेश धामी २१–५ र २१–११ तथा तेस्रोमा नेपालका नविन श्रेष्ठ २१–११ र २१–१० को सोझो सेटमा पराजित भएका थिए । ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेल शुक्रबारदेखि शुरु हुनेछ ।
पौडीमा गौरिका १८ औं र टीसा २२ औँ स्थानमा
एशियाली खेलकूदको पौडीतर्फ भएको खेलमा दुई नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरेका छन् । प्रतिस्पर्धामा २७ खेलाडी सहभागी थिए । त्यसमध्ये गौरिका १८ औँ र टीसा २२ औँ स्थान प्राप्त गरे । गौरिकाले निर्धारित १ मिनेट शुन्य दशमलव ८२ सेकेन्ड समयमा दूरी पार गरिन भने टिसाले १ मिनेटमा दूरी तय गरिन् ।
आज मङ्गलबार नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रि स्टायलमा सहभागिता जनाउने छन् ।
तेक्वान्दोको गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका छन् । सागरले भियतनामका खेलाडीसँग २५–५ अङ्कले पराजित भएको थियो ।
त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४–४० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसँग २३–१० तथा ६७ केजीमुनि नेपालकी सङ्गीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसँग २०–१७ ले पराजित भइन् ।
आज महिला ६७ केजीमुनि निशा रावल र ५७ केजीमुनि ज्ञानी चुनारा तथा पुरुष ८० केजीममाथि अनोज पुजारीले प्रतिस्पर्धा गर्ने राखेपले जनाएको छ ।
प्रतिक्रिया