ओमानमाथि नेपालको १५० रनको विशाल जीत
सारांश
- काठमाडौं।
- मलेसियामा जारी यु–१९ विश्वकप छनोटमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ ।
- नेपालले दिएको २३० रनको लक्ष्य पच्छ्याउन मैदानमा उत्रिएको ओमानले ७९ रन बनाउँदै अलआउट भएको हो ।
काठमाडौं। मलेसियामा जारी यु–१९ विश्वकप छनोटमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पच्छ्याउन मैदानमा उत्रिएको ओमानले ७९ रन बनाउँदै अलआउट भएको हो । नेपालका लागि पवन सर्राफले ३, प्रतिस जिसी र सूर्य तामाङले २–२ तथा कुशल मल्ल, भीम सार्की र कमल सिंह ऐरीले १–१ विकेट लिए । ओमनका लागि जील तन्ना र अमनप्रित सिराहले १३–१३ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि पहिलो इनिङमा १० औं नम्बरमा ब्याटिङ गर्न आएका प्रतिस जिसीले आक्रामक ब्याटिङ गरेपछि नेपालले ओमानलाई २३० रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २२९ रन बनाएको थियो ।
आजको खेलमा नेपालको सुरुवात सन्तोषजनक हुन सकेको थिएन । नेपालले २० ओभरको खेल हुँदा ८१ रनको स्कोरमा पाँचौं विकेट गुमाइसकेको थियो । तर, त्यसपछि रोहितकुमार पौडेल र भीम सार्कीले ९२ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हाले । छैटौं विकेटको रुपमा कप्तान रोहित कुमार पौडेल आट हुँदा नेपालको स्कोर १७३ रन पुगिसकेको थियो ।
कप्तान पौडेल आउट भएपछि भने नेपालको इनिङ फेरि धर्मरायो । त्यसपछि लगातार विकेट जाँदा १७८ रनको स्कोरमा नेपालले ९ विकेट गुमाइसकेको थियो । नेपालका लागि १० औं नम्बरमा ब्याटिङ गर्न आएका प्रतिस जिसीले आक्रामक इनिङ खेल्दै २३ बलमा ४१ रन बनाएपछि नेपालको स्कोर २२९ रन पुगेको हो ।
नेपालको लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रन बनाए । ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । प्रतिस जिसीले आक्रामक ब्याटिङ गर्दै २३ बलमै ४१ रन बनाउने क्रममा ४ छक्का र २ चौका प्रहार गरे । २ चौका र १ छक्का हानेका भीम सार्कीले ४३ बलमा ३९ र बनाए । कप्ता रोहित कुमार पौडेल म्यान अफ द म्याच घोषित भए ।
आज जिते पनि नेपालको विश्वकपसम्म पुग्ने बाटो भने निकै कठिन छ । अहिलेसम्म ४ खेल खेलेकोमा ३ खेल जितेको नेपाल ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । ४ खेलमध्ये सबै जितेको युएइ ८ अंकसहित शीर्ष स्थानमा छ । ४ खेलमध्ये ३ खेल जितेर ६ अंक बटुलेको कुवेतको पनि ६ अंक नै छ तर नेट रनरेटमा पछि परेका कारण ऊ नेपालपछि तेस्रो स्थानमा छ । अब नेपाल विश्वकप पुग्ने वा नपुग्ने छिनोफानो पर्सी हुने २ खेलले गर्नेछन् ।
पर्सी ३ खेल हुँदैछन् र उपाधिको दौडमा पनि ३ टिम नै छन् । पर्सी नेपालले कुवेतसँग, युएइले ओमानसँग र मलेसियाले सिंगापुरसँग खेल्दैछन् । यीमध्ये मलेसिया र सिंगापुरको खेल प्रतिष्ठाको लडाइँ मात्र हो । यो खेलको नतिजा जे भएपनि यी दुवै देश विश्वकप पुग्ने सम्भावना छैन । ओमान पनि विश्वकपको दौडबाट बाहिरिइसकेको छ तर पर्सी उसले युएइलाई जित्न सक्यो भने नेपालको विश्वकपको ढोका खुल्नेछ । यो खेल युएइले जित्यो भने युएइ विश्वकप पुग्नेछ ।
युएइ र ओमानबीचको खेल ओमानले जिते पनि अर्को खेलमा नेपालले कुवेतलाई हराउनुपर्छ । नेपालले कुवेतलाई जितेमा मात्र नेपालको सम्भावना रहन्छ अन्यथा विश्वकपको लागि युएइ र कुवेतमध्ये जुन टिमको नेट रनरेट बढी हुन्छ त्यही टिम छनोट हुनेछ । भोलिको खेल युइएले हार्ने र नेपालले जित्ने हो भने चाहिँ नेपाल विश्वकप पुग्ने निश्चित जस्तै छ किनकि नेपालको नेट रनरेट युएइको भन्दा निकै माथि छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया