नेपाल र जापानबीच आज श्रम सम्झाैता हुँदै
सारांश
- काठमाडौं।
- केही समय अगाडिदेखि चर्चामा रहेको नेपाल-जापान श्रम समझदारी पत्रमा आज हस्ताक्षर हुने भएको छ।
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी' पत्रमा आज (सोमबार) हस्ताक्षर हुने भएको हो।
काठमाडौं। केही समय अगाडिदेखि चर्चामा रहेको नेपाल-जापान श्रम समझदारी पत्रमा आज हस्ताक्षर हुने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी' पत्रमा आज (सोमबार) हस्ताक्षर हुने भएको हो।
नेपाली श्रमिकहरुको गन्तव्य मूलुकका रुपमा रहन सक्ने जापानमा यस अघि व्यक्तिगत तवरमार्फत चर्को लागतमा गइरहेका नेपाली श्रमिकहरुको शून्य लागतमा नै जान पाउने गरी सम्झौताका बुँदा तय गरिएको श्रम प्रवक्ता नारायण रेग्मीले जानकारी दिए।
उनले भने, 'सरकारले अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को मापदण्ड अनुसार नेपाली श्रमिकहरुको जापान रोजगारीका लागि पठाउने गरी श्रम समझदारी गर्ने भएको छ। जति सक्दो सरकारी संयन्त्रमार्फत नै श्रमिकहरु जापान पठाउने गरी सरकारले पहल गरिरहेको छ।'
यसअघि औद्योगिक प्रशिक्षार्थी मात्र लिने जापानसँग कामदार समेत लिने विषयमा सम्झौता गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। यसका लागि नेपाल र जापानबीच दुईपक्षीय सम्झौता (एमओयू)को ड्राफ्टसमेत आदानप्रदान भइसकेको छ।
आप्रवासी कामदार आपूर्ति गर्ने सन्दर्भमा जापानी भाषामा अभ्यस्त गराउन जापान सरकारले तालिमप्राप्त भाषा शिक्षकबाट भाषा अध्यापन गराउने निर्णय समेत गरेको छ। विदेशी कामदार ल्याउन जापान सरकारले सन् २०१९ का लागि १६ दशमलव ३ अर्ब जापानी येन बजेट छुट्याएको छ।
जापानले ५ वर्षमा ३ लाख ४५ हजार भन्दाबढी विदेशी कामदारलाई कामदार भिसामा भित्र्याउने तयारी गरेको छ। त्यसमा नेपालबाट पनि ठूलो संख्यामा श्रमिकहरु जापान रोजगारीमा पठाउन पहल गरिने मन्त्रालयले जानकारी दिएको छ ।
यस अघि देखि नै नर्स, केयर गिभर, लजिङ, रेस्टुरेन्ट र होटलका लागि व्यक्तिगत रुपमा जापान रोजगारीका लागि नेपाली श्रमिकहरु जाने गरेका छन् ।
यसबेला जापानले विभिन्न १४ क्षेत्रमा काम गर्ने विदेशी कामदार लिने नीति कार्यान्वयनमा ल्याउन लागेको छ । नर्सिङ केयर, रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले ती क्षेत्रलाई जापानले प्राथमिकता दिएको जनाएको हो ।
नेपालबाट उद्योग र कृषि क्षेत्रमा पनि कामदार लिने लक्ष्य जापानको रहेको बताएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया