पहिरो विस्थापितको १०औँ ज्ञापनपत्र

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १३, २०८०
|
|
२३ पटक हेरिएको
Shares
पहिरो विस्थापितको १०औँ ज्ञापनपत्र

सारांश

  • मलेखु ।
  • धादिङको गजुरी गाउँपालिका–२ चामबासका पहिरो विस्थापितले १०औँ पटक शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
  • विस्थापित बनेको पाँच वर्षमा यहाँका उनीहरूले ज्ञापनपत्र बुझाएको यो १०औँ पटक हो ।

मलेखु । धादिङको गजुरी गाउँपालिका–२ चामबासका पहिरो विस्थापितले १०औँ पटक शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । विस्थापित बनेको पाँच वर्षमा यहाँका उनीहरूले ज्ञापनपत्र बुझाएको यो १०औँ पटक हो ।

विस्थापितले बुझाएको ज्ञापनपत्रमा लेखिएका केही बाध्य र प्रश्नले पनि विस्थापितको पीडा कतिसम्म रहेछ भन्नेकुरा बुझ्न सकिन्छ । विज्ञप्तिमा भनिएको छ, “हावाहुरी र पानी आउँदा ठूला मान्छे जोगिन कठिन छ, बालबालिका कसरी जोगाउने ? एउटा टेन्टमा छ÷सात जनासम्मको परिवार कसरी बस्नु ? अब त बर्खा लाग्यो झनै गाह्रो हुन्छ । पहिले कै बस्तीमा बस्न पनि हुँदैन भन्नुहुन्छ । जग्गा भाडामा दिनेले पनि जग्गा छोड । हामी कहाँ गएर बस्ने प्रमुख जिल्ला अधिकारी ज्यु ?”

सुरक्षित स्थानमा बस्ती स्थानान्तरणका लागि हारगुहार गर्दै यहाँका विस्थापितले यसअघि वडा कार्यालयमा तीन पटक, गाउँपालिकाको कार्यालयमा तीन पटक, मुख्यमन्त्री कार्यालयमा दुई पटक र जिल्ला प्रशासन कार्यालयमा एक पटक ज्ञापनपत्र बुझाइसकेका थिए ।

विसं २०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरोमा प¥यो । जमिन चिरा प¥यो । घर र बस्तुभाउ बाँध्ने गोठ पनि भत्किए । एक्काइस परिवार विस्थापित भए । त्यतिबेलादेखि नै चामबासका पहिरो विस्थापित बारबिसेमा बस्दै आएका छन् । चार वर्षदेखि टेन्टमा रातदिन बिताइरहेका विस्थापित परिवारलाई सरकारले अहिलेसम्म ठेगाना लगाउन सकेको छैन । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भेटिएकी विस्थापित सुनमाया तामाङ भन्छिन्, “अघिल्ला सिडियो, मन्त्री, सांसद धेरैसँग हारगुहार गरियो, सबैबाट आश्वासन मात्रै पाइयो, अहिले नयाँ सिडियो आउनुभएको छ रे उहाँले हाम्रा लागि केही गरिदिनुहुन्छ कि भन्ने आश लिएर यहाँ आएका हौँ ।”
  
यो बस्तीको पीडा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीले पनि पटकपटक प्रत्यक्ष देखेका छन् । तर स्थायी प्रबन्ध मिलाउन सकेका छैनन् । आसैआसमा गुजारा गरिरहेका छन् । एक्काइस घरपरिवारका ९२ जना कोही टेन्डमा त कोही पुराना जस्ताको ट्रस्ट बनाएर बसिरहेका छन् । अस्थायी बस्तीमा बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन । बस्ने र खानेको ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन् । टेन्ट र जस्तापाताबाट छिरेको पानीले ओछ्यान भिजाउँछ ।

स्थानीय तहको चुनावअघिको वाचा पूरा नभए पनि गत भदौमा तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नै आएर तपाईहरुलाई तत्काल बसोबास सारिदिन्छु भन्ने ठूलो विश्वास दिलाउनु भए पनि अहिलेसम्म कुनै काम अघि नबढेको विस्थापित वीरबहादुर लामाले गुनासो सुनाए । मुख्यमन्त्री ज्यू नै आउनु भएर मिटिङमा तत्काल बसोबास सारिदिन्छु भन्नुभएको थियो । चुनाव सकिनेबित्तिकै पनि सार्छौं भन्नुभएको थियो । अहिलेसम्म केही गर्नुभएन । “अब फेरि बर्खा सुरु भयो, हावाहुरी चल्ने दिन आयो, यो बर्खा पनि टेन्टमै बित्नेभयो”, लामाले दुखेसो सुनाए ।

विस्थापित भएसँगै खाद्यान्न अभाव पनि भोगिरहेका छन् । भएका जग्गाजमिनमा फर्केर खेती गर्न जान नसकेपछि विस्थापितमा खाद्यान्नको अभाव खड्किएको हो । पहिरो विस्थापित बस्दै आइरहेको बारबिसे बस्तीको गजुरी गाउँपालिकाले जग्गाभाडा उपलब्ध गराउँदै आएको छ । तर दीर्घकालीन समाधान हुन सकेको छैन । गाउँपालिकाले भाडा तिरिदिएकोे जग्गावालाले बस्ती छाड्न आग्रह गरेपछि कहाँ जाने, के गर्ने अन्योलमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?