पहिलो बैठकमै राजधानीको विवाद

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २२, २०७४
|
|
२० पटक हेरिएको
Shares
पहिलो बैठकमै राजधानीको विवाद

सारांश

  • बुटवल : प्रदेश ५ को पहिलो प्रदेशसभा बैठकमै राजधानीसम्बन्धी विवादले प्रवेश पाएको छ।
  • तीन निर्णय गर्दै फागुन २ सम्मका लागि स्थगित बैठकमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेश राजधानीप्रति घुमाउरो असन्तुष्टि प्रकट गरे।
  • रोल्पाबाट निर्वाचित माओवादीका कुलप्रसाद केसी र प्युठानकी राष्ट्रिय जनमोर्चाकी तारा जिसीले प्रदेशको मुद्दा संसद्मा उठाए।

बुटवल : प्रदेश ५ को पहिलो प्रदेशसभा बैठकमै राजधानीसम्बन्धी विवादले प्रवेश पाएको छ। तीन निर्णय गर्दै फागुन २ सम्मका लागि स्थगित बैठकमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेश राजधानीप्रति घुमाउरो असन्तुष्टि प्रकट गरे।

रोल्पाबाट निर्वाचित माओवादीका कुलप्रसाद केसी र प्युठानकी राष्ट्रिय जनमोर्चाकी तारा जिसीले प्रदेशको मुद्दा संसद्मा उठाए। सांसद केसीले पहिलो बैठकमै प्रदेश राजधानीको विषयलाई जोडतोडले उठाए। उनले प्रदेश राजधानीबारे आगो लगाएर खरानीको व्यापार नगर्न चेतावनी दिए। प्रदेश ५ आगोको लप्काबाट जन्मिएको भन्दै त्यो आक्रोश मत्थर पार्न सदन सफल हुने विश्वास उनले व्यक्त गरे। ‘प्रदेशमा आगो बालेर खरानीको व्यापार गर्नेहरूलाई परास्त गर्दै अघि बढ्नुपर्छ’, उनले भने।

जनमोर्चाकी जिसीले स्थायी प्रदेश राजधानी तोक्न विज्ञसहितको समिति गठन गर्नुपर्ने बताइन्। ‘प्रदेशको राजधानी सबैैलाई मान्य हुने गरी हुनुपर्छ, त्यसका लागि विज्ञ समिति बनाउन म आग्रह गर्छु’, उनले भनिन्। माओवादी सांसद सुदर्शन बलालले प्रदेश राजधानी यहाँ उहाँभन्दा पनि जनताको असन्तुष्ट रहेको पार्टीको धारणा बताए। ‘जनताको असुन्तुष्टि छ भन्नु पार्टीकै धारणा हो’, बैठकपछि उनले भने, ‘राजधानी दाङ जानुपर्छ भनेको होइन। समाधान खोज्नुपर्छ भन्ने हो।’

अस्थायी राजधानी बुटवलमा भएको बैठकमा अन्य सांसदले भने यो मुद्दा उठाएनन्। पहिलो सम्बोधन गरेका एमाले संसदीय दलका नेता शंकर पोखरेलले धार्मिकस्थल नवलपरासीको त्रिवेणीदेखि रुकुमको सिस्ने हिमाल सम्झिँदै यीनै पर्यटकीय क्षेत्रबाट प्रदेशको विकास हुने बताए। ‘दुई खालको भौगोलिक संरचना र यहाँका महत्वपूर्ण पर्यटकीय स्थलले नै प्रदेश ५ लाई देशकै समृद्ध प्रदेश बनाउँछन्’, उनले भने।

कांग्रेस सांसद वीरबहादुर रानाले प्रदेश सहकारी व्यवस्था भएको भन्दै सबैको सहमतिमा प्रदेशको समृद्धिका लागि काम गर्नुपर्ने बताए। संघीय फोरम संसदीय दलका नेता सांसद सह श्राम यादवले मधेसी, आदिवासी, जनजातिको अधिकार प्राप्ति प्रदेशबाट हुने बताए।

फागुन २ मा बस्ने दोस्रो बैठकले सभामुख चयन गर्नेछ। पहिलो बैठकले संसद कार्यविधि पारित गरेसँगै सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न समिति गठन गरेको छ। समितिमा एमालेका कमल श्रेष्ठ, माओवादीका दधिराम शर्मा, कांग्रेसका अष्टभुजा पाठक, फोरमका सन्तोष पाण्डे र जनमोर्चाकी तारा केसी छन्।

सांसदको अलमल, कार्यकर्ता भित्याउन हतार

पहिलो बैठकमा सांसदहरू अलमलिए। सभामुखको भूमिकामा रहेका पोख्रेलले संसद्को कार्यविधि निर्णयार्थ प्रस्तुत नगर्दै सांसदले टेबल ठोके। अघिल्लो लाइनमा बसेका एमाले संसदीय दलका नेता पोखरेलले केही सांसदलाई टेबल बजाउन रोक्न खोजे।

कार्यविधि प्रस्ताव पेस गर्दा सभामुखले हात उठाउन भनेपछि फेरि सांसदले टेबुल ठोकेका थिए। अन्य प्रस्तावमा पनि यस्तै भइरह्यो। प्रदेश संसद्मा ६ जनाले मात्र संसद्को अनुभव बटुलेका छन्। बैठकको जनाउ दिने घण्टी बजिरहदासम्म पनि सांसद कार्यकर्ता र आफन्त भित्र राख्न व्यस्त थिए। बैठकपछि सांसदहरूलाई सेल्फी खिच्न भ्याई नभ्याई थियो। बैठकमा राष्ट्रियसभा सदस्य कोमल वलीसमेत अतिथिका रूपमा पुगेकी थिइन्।

प्रहरी प्रमुख परे मर्यादापालकको फेला

दर्शक दीर्घामा बसेका रूपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीलाई सिपाहीले सम्झाउनुप¥यो। बैठकस्थलमा मोबाइल चलाउन निषेध भए पनि उनले मोबाइल चलाएका थिए। मर्यादापालकले मोबाइल राख्न आग्रह गर्दा दुईपल्ट अटेर गरेका उनलाई मर्यादापालकले चेतावनी दिएपछि मोबाइल खल्तीमा राखे।

बैठकस्थलमा १२ पुरुष र ८ महिला मर्यादापालक खटिएका थिए। संसद बैठक कक्षको पहिलो ढोकाबाट सांसद प्रवेश गरे। दोस्रो ढोकाबाट फोटो पत्रकारलाई मात्र तिन मिनेट फोटो खिच्न अनुमति दिइएको थियो। प्रमुख सचिव शंकर पाठक सहितका आगन्तुकहरु अन्तिम ढोकाबाट भित्र पस्दै दर्शक दीर्घामा बसेका थिए। यो प्रदेशमा ब्राह्मण क्षेत्री ४७ जना, थारु १२ जना, दलित ६ जना, मगर ९ जना, नेवार ३ जना, मधेसी ९ जना र मुसलमान ३ जना सांसद छन्।

‘प्रदेश समृद्ध बनाउँछौँ’

प्रदेशसभाको पहिलो बैठकमा सांसदले प्रदेशलाई ५ वर्षभित्र समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले उद्योग, कृषि र पर्यटनको विकास गर्न सके प्रदेश समृद्धिपथमा लम्किने र आफूहरूले यी सबै क्षेत्रको एकसाथ विकास गर्नेमा जोड दिए।

रूपन्देही जिल्लाबाट प्रदेशसभामा निर्वाचित कांग्रेसका फखरुद्दिन खाँले पर्यटकीयस्थलले भरिएको हुनाले पर्यटनबाटै प्रदेश समृद्ध हुने र विकासपथमा लम्किने बताए। उनले गौतम बुद्धको नामले नै देश र प्रदेश परिचित रहेको बताउँदै पर्यटनको विकास गर्न सके प्रदेश समृद्ध हुने दाबी गरे।

कपिलवस्तुबाट निर्वाचित एमालेका विष्णु पन्थीले आफ्नो क्षेत्र पिछडिएको उल्लेख गर्दै सडक निर्माणका साथै कृषि र पर्यटन विकासमा जोड दिने बताए। ‘मेरो क्षेत्र अलि पिछडिएको क्षेत्र हो’, उनले भने, ‘त्यसैले सबैभन्दा पहिले सडक निर्माणमा लाग्नेछु र कृषि तथा पर्यटन विकास पनि सँगसँगै लैजाने छु।’अन्नपूर्ण पोस्ट बाट

माओवादी केन्द्रबाट गुल्मीका सांसद सुदर्शन बलालले प्रदेशको बनावट मगरात, थारुवान, अवधलगायत तराई र पहाडको मि श्रण रहेकाले सबैको मनोविज्ञान बुझेर एकताबद्ध गर्नु नै आफ्नो पहिलो काम हुने बताए।

उनले मनोबिज्ञान र भुगोललाई जोड्ने गरि विकास निर्माण, भौतिक पूर्वाधार निर्माण गर्नु दोस्रो काम हुने बताए।

बर्दिया जिल्लाबाट निर्वाचित भुवनेश्वर चौधरीले पर्यटन, शिक्षालगायत विकासमा लाग्ने बताए। रूपन्देहीबाट निर्वाचित संघीय फोरमका सन्तोष पाण्डेयले पनि पर्यटन विकासका साथै शिक्षा, उद्योगलगायत क्षेत्रको विकासमा लाग्ने बताए। पाल्पाबाट निर्वाचित पुरमती ढेंगा मगरले उत्पीडित विभिन्न जातजाति, समुदायको मर्म बुझेर आवश्यक नीति बनाउने बताइन्।

 

उत्साहित छन् मर्यादापालक

दाङको वडा प्रहरी कार्यालयमा दरबन्दी रहेकी जानकी पुन संसद भवनको मर्यादापालकको भूमिकामा छिन्। कालो कोट र रातो घेरासहितको साडीमा सजिएकी उनी आइतबार प्रदेश सांसदलाई स्वागत गर्नमै व्यस्त थिइन्। पाँचबर्से जागिरमा उनका लागि यो महत्वपूर्ण अवसर हो। ‘भीआईपी भएका कार्यक्रममा पहिलो पटक खटिएकी छु’, उनले भनिन्। प्रहरीको पेसा मर्यादित र जिम्मेवार भएकाले आफूले त्यही भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता थियो।

‘हामीलाई जे काम तोकिएको छ, त्यही गर्छौ’, उनले भनिन्, ‘यहाँ खटिँदा उत्साहित छु।’ उनीसँगै ८ महिला र १२ पुरुष मर्यादापालक बैठक कक्षभित्र र प्रवेशद्वारमा खटिएका थिए। मर्यादापालकले एकदिने तालिम लिएका थिए। ४० जनाले तालिम पाए पनि २० जना मात्रै खटाइएका थिए। मर्यादापालकका प्रमुख प्रहरी इन्स्पेक्टर होमप्रकाश चौधरीले नयाँ अनुभव भएकाले चुनौति भए पनि महत्वपूर्ण अवसर रहेको बताए। ‘हामी अरुको आचरण हेर्न खटिएका छौं, यो निकै महत्वपूर्ण अवसर हो’, उनले उत्साहित हुँदै भने। उनी इलाका प्रहरी कार्यालय छपियाका इन्चार्ज हुन्।

पुरुष मर्यादापालक कालो कोट र दौरा सुरुवालमा सजिएका थिए। २० जनामध्ये एक जना मर्यादापालक मात्र अनुभवी थिए।

मर्यादापालकमा खटिएका सबै प्रदेश नम्बर ५ मा कार्यरत प्रहरी हुन्। सबैलाई काजमा संसद भवन खटाइएको छ। उनीहरुलाई सांसदसहित अतिथिहरुले अमर्यादित काम गरे बैठक कक्षबाट निकाल्ने अनुमति रहेको छ।अन्नपूर्ण पोस्ट बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?