पाेखरा प्रिमियर लिग खेलिरहेका पारसकाे हातमा विश्वकप क्रिकेटको ट्रफी !
सारांश
- काठमाडाै, १० कात्तिक ।
- इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शनिबार बिहान पोखरा ल्याइएको छ।
- ट्रफी लिएर आइसिसीको एक प्रतिनिधिमण्डल पोखरा आइपुगेको हो।
काठमाडाै, १० कात्तिक । इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शनिबार बिहान पोखरा ल्याइएको छ। ट्रफी लिएर आइसिसीको एक प्रतिनिधिमण्डल पोखरा आइपुगेको हो। पोखरामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का र टोलीका सदस्य सन्दीप लामिछानले ट्रफी सार्वजनिक गरेका थिए।
ट्रफी नेपालमा सोमबारसम्म रहनेछ। ट्रफी शनिबार नै पोखराबाट फर्काइने अाइसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले बताइन्। यसअघि शुक्रबार नेपाल अाइपुगेको ट्रफी सोही दिन साझ स्वयम्भुमा प्रदर्शनीका लागि राखिएको थियो। यसपछि ट्रफीलार्इ चन्द्रागिरि हुँदै वसन्तपुर पुर्याउने कार्यक्रम छ।
सन्दीपले सार्वजनिक गरेको ट्रफी भिडियो:
‘ट्रफी टुरको मुख्य उद्देश्य क्रिकेटको क्रेज बढाउनु र पर्यटन प्रवर्धन गर्नु हो’ घिमिरेले भनिन्, ‘पोखरा रङ्गशालाका साथै फेवाताल र सराङकोटसम्म पुर्याउने तालिका छ, समयले भ्याएसम्म रुपा ताल र बेगनासतालसम्म ट्रफी लगिनेछ।’ २८ कार्तिकमा ट्रफीलाई काठमाडौँको ऐतिहासिक स्थान चन्द्रागिरि लगिनेछ। चन्द्रागिरिमा लगेर केही घण्टा त्यहाँ प्रदर्शनीमा राखिने र सो प्रदर्शनी कार्यक्रममा सञ्चारकर्मीलाई तस्बीर खिच्न दिइने घिमिरेले जानकारी दिइन्। सोही दिन चन्द्रागिरिबाट ट्रफी काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा लगेर राखिनेछ। त्यहाँ क्रिकेट समर्थक र सर्वसाधारणलाई ट्रफीसँग तस्बीर खिच्न दिने कार्यक्रम छ।
स्वयम्भू पुर्याइएपछि विश्वकप क्रिकेटको ट्रफी
आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो। नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको घिमिरेले बताइन्।
विश्वकपको ट्रफी निशान कम्पनीको सहयोगमा विश्वभर प्रदर्शन गरिएको हो। र, क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलो पटक ल्याइएको हो। फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ।
ट्रफीका साथमा सन्दीप लामिछाने
एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याइएको हो।
ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ।
विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ।
प्रतिक्रिया