प्रचण्ड र ओलीलाई ठूलो दबाब, ,आउन थाले धम्कीपूर्ण अभिव्यक्ती

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
प्रचण्ड र ओलीलाई ठूलो दबाब, ,आउन थाले धम्कीपूर्ण अभिव्यक्ती

सारांश

  • आकांक्षी धेरै भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी ओली अहिले अप्ठ्यारोमा छन् ।
  • दुवै पार्टीभित्र मन्त्री बन्ने लाइनमा अधिकांश नेताहरुको दौडधूप बढेपछि अध्यक्षद्वय अप्ठ्यारोमा परेका हुन् ।
  • आकांक्षीहरुको दौडधूपलाई हेर्दा मन्त्री छान्ने काम यसपटक सहज देखिदैँन ।

आकांक्षी धेरै भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी ओली अहिले अप्ठ्यारोमा छन् । दुवै पार्टीभित्र मन्त्री बन्ने लाइनमा अधिकांश नेताहरुको दौडधूप बढेपछि अध्यक्षद्वय अप्ठ्यारोमा परेका हुन् । आकांक्षीहरुको दौडधूपलाई हेर्दा मन्त्री छान्ने काम यसपटक सहज देखिदैँन । केन्द्रीय समितिले निर्णय गर्न नसकेपछि त्यसको सम्पूर्ण जिम्मा पार्टीका अध्यक्षलाई सुम्पिएको हो । जसबाट मन्त्री हुन नपाउनेको गुनासो सबैभन्दा बढी उनीहरुमाथि नै हुनेछ । विगतका तुलनामा मन्त्रालयको संख्या पनि घटेको र आकांक्षी पनि बढेकोले त्यसको सकस राम्रैसँग पर्ने निश्चित छ । यसअघि मन्त्री भइसकेका पनि स्थिर रुपमा मन्त्रालयमा रहन नपाएकोले अहिलेको मन्त्रालयमा जाने रस्साकसीमा लागेका छन् । यद्यपि दुई अध्यक्षले आफूखुशी मन्त्रालय छान्ने भने होइनन् त्यसको लागि पनि विभिन्न मापदण्ड तोकिएको छ ।

एकपटक पनि मन्त्रालयको जिम्मेवारी नपाएकाहरुको तीव्र इच्छा र भइसकेकाको पनि दोहोरिने आकांक्षाका कारण बाँडफाँडको टुंगो हत्तपत्त लाग्ने संकेत देखिदैँन यद्यपि शीघ्रातिशीघ्र असहजताका वावजूत पनि समस्या सल्टाउनै पर्नेछ । आफूनिकटका नेताहरुलाई पनि समेट्नु सबै ठाउँ र लिंग, समुदायको सन्तुलन मिलाउनु, जनताको चाहना कदर गर्नु र आफ्नै सहयात्रीको पनि चित्त बुझाउनु चानचुने विषय भने होइन । जसले गर्दा ओली र प्रचण्डले चाहेका व्यक्तिहरु पनि फुत्किने संभावना प्रबल छ । जसले गर्दा नेताहरुमा आक्रोश बढ्ने संभावना देखिएको छ । साथै काम गर्ने र जनताको विश्वास जितेकाहरुलाई नसमेट्दा जनताको आक्रोश बढ्ने पक्का छ । यी सबै चुनौतिको बावजुत मन्त्री छनोटको जिम्मा पाएका ओली र प्रचण्डले कसरी भागबन्डा मिलाउँछन् त्यो त हेर्न बाँकी नै छ ।

एमाले स्थायी कमिटीले भौगोलिकदेखि जातीय र लैंगिक सन्तुलनसँगै समृद्धिको सपना पूरा गर्न सक्ने क्षमतावान र दक्षलाई मन्त्री बनाउने मापदण्ड तय गर्दै मन्त्री छनोटको अधिकारी प्रधानमन्त्री ओलीलाई सबै अधिकार दिएको छ । यसैगरी माओवादी केन्द्रले अध्यक्ष दाहालसहित नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई अधिकार सुम्पिएको छ । पार्टीभित्र मन्त्रीका आकांक्षी निकै रहेकोले दुवै नेतालाई छनोटमा सहज नभएको सहयोगी टिमले बताएको छ । एमालेबाट मन्त्रीका लागि उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, सचिवहरू प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र योगेश भट्टराई मन्त्रीका सशक्त दाबेदार देखिएका छन् ।

पार्टी पदाधिकारीहरूले मन्त्री बन्ने चाहना राखे पनि प्रधानमन्त्रीलाई सहज बनाउन छनोटको जिम्मा दिएपछि ओली झनै दबाबमा परेका हुन् । एमाले स्थायी समितिले मन्त्री छनोट गर्दा ‘भौगोलिक सन्तुलन, पार्टीभित्र नेताहरूको योगदान, योग्यता र क्षमता’ लाई ध्यान दिन प्रधानमन्त्रीलाई सुझाएको छ । स्थायी कमिटीको यो सुझावअनुसार सात वटै प्रदेशबाट कम्तीमा एक जना मन्त्री बनाउनै पर्ने बाध्यता छ । तर, एउटै प्र्रदेश र पदाधिकारी आकांक्षी हुँदा कसलाई अवसर दिने भन्ने समस्या रहेको प्रधानमन्त्री निकट एक नेताले बताए ।

भौगोलिक सन्तुलन र योग्यलाई मात्रै स्थान दिँदा कतिपय आफ्ना भनिएका रिसाउने र घुक्र्याउने काम हुने विगतको अनुभवले पनि प्रधानमन्त्री ओली दबाबमा परेको ती नेताले बताए । प्रधानमन्त्रीको निजी सचिवालयमा बस्नसमेत चारैतिरबाट भनसुन गराउने आफ्नै सहयोगीदेखि निकटसम्मको दबाब झेलिरहेका ओलीले मन्त्रीका लागि आकांक्षी बढी हुँदा योग्य रोज्ने कि दबाबअनुसार छान्ने भन्ने निर्णय लिन नसकेका हुन् । यद्यपि, प्रधानमन्त्रीको रोजाइ योग्य र काम गर्न सक्ने नै हुनुपर्ने सुझाव निकट सबै नेताले दिएका छन् ।

पदाधिकारी बाहेकका स्थायी कमिटी सदस्यमा पनि मन्त्रीका आकांक्षी धेरै छन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, छबिलाल विश्वकर्मा पनि मन्त्रीका आकांक्षी हुन् । यस्तै प्रदेश–१ बाट पाँचथरबाट भारी मतमा जितेका वसन्त नेम्वाङ, मोरङका भानुभक्त ढकाल, धनकुटाका राजेन्द्र राई, संखुवासभाका राजेन्द्र गौतम, खोटाङका विशाल भट्टराई, ओखलढुंगाका यज्ञराज सुनुवार मन्त्रीका आकांक्षी छन् । प्रदेश–२ बाट प्रत्यक्षतर्फ निर्वाचित रघुवीर महासेठ, लीला श्रेष्ठदेखि समानुपातिकमा सांसद बनेको धेरै मन्त्रीका आकांक्षी देखिएका छन् ।

मन्त्रीको सन्तुलन मिलाउन प्रदेश–३ मा निकै धेरै दबाब रहेको छ । प्रदेश–३ बाट स्थायी कमिटीमा रहेका बाहेक दोलखाका पार्वत गुरुङ, सिन्धुपाल्चोकका शेरबहादुर तामाङ, काभ्रेका गोकुल बाँस्कोटा, भक्तपुरका महेश बस्नेत, काठमाडौंका कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्ण राई, ललितपुरका नवराज सिलवाल, कृष्णलाल महर्जन मन्त्रीका दाबेदार रहेका छन् ।

यसैगरी मकवानपुरका विरोध खतिवडा, कृष्ण दाहाल, सिन्धुलीका गणेश पाहाडी पनि मन्त्रीका दाबेदार हुन् । प्रधानमन्त्री ओलीका निकटसहयोगी सबै मन्त्रीको दाबीमा रहेपछि यस प्रदेशबाट छनोटमा निकै ठूलो गृहकार्य गर्नुपरेको प्रधानमन्त्री निकट स्रोतले बतायो । सबैभन्दा बढी मत ल्याएर झापाबाट विजयी प्रधानमन्त्री ओलीमाथि आफूपछि दोस्रो मत ल्याउने काभ्रेका गोकुल बाँस्कोटा र सबैभन्दा बढी मत अन्तरमा जित्ने दोलखाका पार्वत गुरुङलाई मन्त्री बनाउन ठूलै दबाब परेको छ ।

प्रदेश–४ मा पनि आकांक्षी धेरै छन् । कास्कीका रविन्द्र अधिकारी, खगराज अधिकारी, स्याङ्जाका पद्मा अर्याल, तनहँुका किशान श्रेष्ठसहित आधा दर्जन सांसद मन्त्रीका दाबेदार बनेका छन् । कास्कीका अधिकारी तेस्रोपटक जितेका नेता हुन् भने स्याङ्जाकी महिला नेतृ अर्याल दोस्रोपटक निर्वाचित भएकी हुन् । यस्तै तनहुँका श्रेष्ठले बहुदलपछि कहिल्यै नहारेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका नेता हुन् ।
प्रदेश–५ मा पदाधिकारी र स्थायी कमिटीमा रहेकाबाहेक पनि थुपै्र दाबेदार देखिएका छन् ।

पाल्पामा सदावहार विजय निकाल्ने सोमप्रसाद पाण्डेदेखि शान्ता चौधरीसम्म मन्त्रीका आकांक्षी रहेका छन् । राष्ट्रिय सभामा आएका नेतालेसमेत मन्त्री मागिरहेका छन् । प्रदेश–६ बाट भने मन्त्री छान्न त्यति ठूलो दबाब परेको छैन । हेभिवेटका नेता सबै प्रदेशतिर गएपछि केन्द्रीय मन्त्री छनोटमा सहज भएको हो । यद्यपि, आकांक्षी भने धेरै रहेका छन् । प्रदेश–७ बाट पनि आकांक्षी धेरै रहेका छन् । तर, उपाध्यक्ष रावल मन्त्री बनेको अवस्थामा अन्यको संभावना कम रहेको छ । सो प्रदेशमा दामोदार भण्डारी, प्रेम आले, निरु पाललाई मन्त्री बनाउनुपर्ने भन्दै प्रधानमन्त्री ओलीमाथि दबाब रहेको छ । केन्द्रीय कमिटीमा रहेका महिलालाईसमेत मन्त्री बनाउन दबाब बढेको छ ।

उता माओवादीमा पनि मन्त्रीका आकांक्षी निकै बढेका छन् । अध्यक्ष दाहालबाहेकका सबै सांसद मन्त्रीका लागि दाबेदारी पेस गरिरहेका छन् । त्यसमाथि आफ्नो भागमा परेको गृह मन्त्रालयमा चार–पाँच नेता दाबेदार छन् । पार्टी एकतामा अध्यक्ष दाहाललाई सघाएको कारण पार्टीबाट वरिष्ठ नेता रामबहादुर थापाले नेतृत्व गर्ने तय भए पनि सो मन्त्रालयमा अन्य नेताको दाबी रहेको छ । पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा, शक्तिबहादुर बस्नेतसँगै वर्षमान पुनले पनि गृह मन्त्रालय रोजेका छन् । थापा, बस्नेत र शर्मा एकता पक्षधर रहेकोले तीन मध्ये एकलाई दिने योजनामा दाहाल रहेका छन् । तर, पुनले आफूलाई नदिए देखाउने धम्की दिएपछि उनी दबाबमा परेका हुन् ।

संघीय प्रतिनिधिसभामा उपस्थित माओवादीका ५३ सांसदमध्ये ४६ जना मन्त्री बन्न तँछाडमछाड गरिरहेका छन् । राष्ट्रिय सभा सदस्यले पनि मन्त्री दाबी गरिरहेका छन् । माओवादी केन्द्रका प्रतिनिधिसभामा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट १७ सदस्य छन् । माओवादीमा प्रदेश–१ बाट राम कार्की, सुरेशकुमार राई, सुदन किराती, अमनलाल मोदी र शिवकुमार मण्डल मन्त्रीका दाबेदार छन् । प्रदेश–२ बाट मातृका यादव, प्रभु साह, रामेश्वर राय यादव, सुरेशचन्द्र दास मन्त्रीका दाबेदार हुन् ।

यसैगरी, प्रदेश–३ बाट पम्फा भुसाल, अग्नि सापकोटा, हरिबोल गजुरेल, हितबहादुर तामाङ, श्यामकुमार श्रेष्ठ बलियो दाबेदार हुन् । प्रदेश–४ बाट देव गुरुङ, देवेन्द्र पौडेल, हरिराज अधिकारी दाबेदार छन् । प्रदेश–५ बाट कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, वर्षमान पुन, चक्रपाणी खनाल, सन्तकुमार थारू, कमला रोका मन्त्रीका दौडमा छन् । प्रदेश–६ बाट शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गजेन्द्रबहादुर महत मन्त्रीका दाबेदार हुन् । यस्तै प्रदेश–७ बाट लेखराज भट्ट, विना मगर, गौरीशंकर चौधरी मन्त्रीको दाबीमा छन् । एउटा प्रदेशबाट एक जना मात्रै छान्नुपर्ने बाध्यताबीच दाबेदार निकै बढी भएपछि अध्यक्ष दाहाल दबाबमा परेका हुन् ।

यद्यपी अध्यक्ष दाहालले रामबहादुर थापा, बर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरीराजमणि पोखरेल, बिना मगर र अमनलाल मोदीलाई मन्त्री बनाउने निर्णय लिएका छन । अन्य आकांक्षीलाई आफूले सरकारको नेतृत्व गर्दा मिलाउने भन्दै दाहालले शुक्रवार नै ६ जनाको नाममा टुंगो लगाएको माओवादी स्रोतको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्डफ्लू संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्
बर्डफ्लू संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्
प्रधानमन्त्रीसँग प्रश्नोत्तर- १० सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
प्रधानमन्त्रीसँग प्रश्नोत्तर- १० सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
धेरै आशा गरेको युवा नेताको निधनले स्तब्ध छु : बाबुराम भट्टराई
प्रधानमन्त्रीले भने– अब नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्छ
प्रधानमन्त्रीले भने– अब नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्छ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २२ घण्टा सन्चालनमा, यस्तो दैनिक तालिका
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २२ घण्टा सन्चालनमा, यस्तो दैनिक तालिका
सुदुरपश्चिममा भीम रावललाई झड्का, बहुमत सदस्य माधव नेपालको पार्टीतर्फ
सुदुरपश्चिममा भीम रावललाई झड्का, बहुमत सदस्य माधव नेपालको पार्टीतर्फ
हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति
हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति
मास्क कालोबजारी गर्नेमाथि कारबाही
मास्क कालोबजारी गर्नेमाथि कारबाही
सत्ता गठबन्धन: तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
सत्ता गठबन्धन: तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
आईजीपीसहित विपक्षीका नाममा कारण देखाउ आदेश
आईजीपीसहित विपक्षीका नाममा कारण देखाउ आदेश

तपाईंले छुटाउनुभयो कि?