चिकित्सा क्षेत्रको सुधारको लागि २७ दिनसम्म अनशन बसेर डाक्टर गोविन्द केसीले सरकारसँग सम्झौता गरेको तर, सरकारले सदनमा त्योसम्बन्धी कुनै काम नगरेको उनको आरोप लगाए । उनले भने,‘सदनमा डाक्टर केसीको माग पूरा गराउन कुनै विद्येयक नै टेबुल भएन् । अहिले मेडिकल साईन्स पढ्ने प्रति विद्यार्थीबाट ३५ लाख बढि रकम असुली भैरहेको छ । भ्रष्टाचार त्यसैगरि मौलाएको छ । यी सबै कुरामा सरकार असफल भैसकेको छ।’
प्रधानमन्त्री ओलीले अब प्रत्येक नेपालीको घरको चुलोमा विजुलीको तार पुर्याउने भनेर हिजो सम्बोधन गरेकोप्रति टिप्पणी गर्दै गजुरेलले भने,‘विजुलीको तार त अहिलेपनि छ नि । जनताको आँखामा यसरी छारो हाल्ने काम गरिएको छ । योभन्दा हाँस्यस्पद अरु के हुन्छ?’उनले वर्तमान सरकार दुई तिहाई बहुमतको भएको उल्लेख गर्दै अहिले संविधानतः सरकारलाई हटाउन नसकिने बताए ।गजुरेलले भने,‘यो मन नपरेको र असफल भैसकेको सरकारलाई जनताले कति दिन र वर्ष बोकेर हिँड्नुपर्ने हो ? सरकारलाई हटाउनपनि सकिँदैन् । संविधानमा नै त्यस्तो प्रावधान राखेको छ । असफल सरकार बोकेर हिँड्नुपर्ने नेपाली जनताको नियती ? यो संविधानको असफलता हो । जनतालाई नै बोझ भएको सरकार हटाउन नपाउने ? संविधानमा त्यो अधिकार खोसिएको छ ।’
उनले अब यो सरकारलाई हटाउने एउटै उपाय अब सडक आन्दोलनमात्रै रहेको सुनाए । उनले भने,‘सडक आन्दोलनबाटमात्रै सरकार हटाउन सकिन्छ । हिजो सडक आन्दोलनबाट पञ्चायत ढल्यो। राजतन्त्र ढल्यो । ओली नेतृत्वको सरकारलाई संविधानतः हटाउनै सकिँदैन् । अब सडकबाटमात्रै हटाउन सकिन्छ । यो ७ महिनामा हामीले धेरै भोगिसकेका छौं । यो संविधान जनताको पक्षमा छैन् । खारेज गर्नुपर्छ । जनगणतन्त्र संविधान बनाउनुपर्छ । यो संविधान त्यस्तो छैन् ।’कहिलेकाहीँ त आफूहरुलाई कम्युनिष्ट भन्नपनि लाजै लागेर आउने उनले सुनाए । उनले भने,‘नेकपाले पनि हामी कम्युनिष्ट भन्छ । अहिले नेकपाकै सरकार छ । जनताले यो सरकारलाई थुकिराखेका छन् । त्यसैले कहिलेकाहीँ कम्युनिष्ट भन्नपनि हामीलाई लाजै लाग्छ ।’
सत्तामा नभएका वामपन्थीहरुसँग आफ्नो पार्टीले एकताको लागि वार्ता तथा छलफल गरिरहेको उनले सुनाए । उनले भने,‘एक राउण्ड छलफल हामीले विप्लवजीसँग पनि गर्यौं । मोहनविक्रम सिंहसँगपनि गर्यौं । ऋषि कट्टेलजीसँग वार्ता गर्यौं । अहिले वार्ता तथा छलफल परिपक्व भैसकेको छैन् । हामीसँग वैचारिक मतभिन्नताहरु छन् । तर, कार्यगत एकता गर्यौं । केही समय यता विप्लवसँग कार्यगत एकता अगाडि बढ्न सकेको छैन् । विप्लवका नेताहरुलाई सरकारले धरपकड गरेकोले अहिले हाम्रो सम्पर्क टुटेको छ।’
उनले आफ्नो तर्फबाट पार्टीले जनताको बिचमा कुराहरु राख्दै जाने पनि सुनाए । उनले भने,‘हामी देश र जनताविरुद्ध हुने सबै खाले षड्यन्त्र, राष्ट्रघात र जनघातहरुको भण्डाफोर गर्दै जान्छौं । अहिले हामी आन्तरिक रुपमा कमजोर छौं । संगठन बनाउन हामी लागिपरिरहेका छौं। सडक आन्दोलन त हामीले गरिरहेका छौं । तर, ठूलो आन्दोलन र आमसभा गर्ने स्थिति अहिले हाम्रो छैन् ।’ यद्धपी उनले आफ्नै पार्टीको शक्तिमा भरपर्दै अगाडि बढ्ने आफूहरुको रणनीति रहेको पनि सुनाए ।

प्रतिक्रिया