प्रधानमन्त्री ओलीले यतिसम्म भने पूर्वराजा शाहलाई !
सारांश
- काठमाडाै, २९ असाेज ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम राजा ज्ञानेन्द्र शाहलाई अन्तिम चिनियाँ बादशाह पु यी जस्तै बन्न सुझाव दिएका छन्।
- श्रीपेच, राजदण्ड लगायत राजतन्त्रकालीन महत्वपूर्ण सामाग्रीहरुको उद्घाटन गर्न नारायणहिटी दरवार संग्रहालय पुगेका प्रधानमन्त्री ओलीले त्यहीँबाटै पूर्वराजा शाहलाई यस्तो सुझाव दिएका हुन्।
काठमाडाै, २९ असाेज ।प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम राजा ज्ञानेन्द्र शाहलाई अन्तिम चिनियाँ बादशाह पु यी जस्तै बन्न सुझाव दिएका छन्। श्रीपेच, राजदण्ड लगायत राजतन्त्रकालीन महत्वपूर्ण सामाग्रीहरुको उद्घाटन गर्न नारायणहिटी दरवार संग्रहालय पुगेका प्रधानमन्त्री ओलीले त्यहीँबाटै पूर्वराजा शाहलाई यस्तो सुझाव दिएका हुन्।
‘पु यी जस्तै बन्न’ सुझाव दिनुअघि ओलीले ती चिनियाँ बादशाहले लेखेको आत्मकथाबारे संक्षिप्त चर्चा गरे। ‘पु यीले पछि १९४५ मा राजतन्त्रको अन्त्य नहुँदासम्म चीनका बादशाह थिए’ ओलीले भने, ‘उनको कितावमा सम्राट हुँदाका अनुभवपनि छन्, नागरिक हुँदाकापनि।’ओलीका अनुसार, राजाहरुले किन श्रीपेच लगाउँथे, किन राजदण्ड बोक्थे, किन छातिभरि तक्मा लगाउँथे भन्ने कुरा पु यीले लेखेको पुस्तकमा उल्लेख छ। ‘बादशाहहरु खोक्रा हुन्छन्, उनीहरु सधैँ त्रसित हुन्छन्’ पु यीलाई उद्धृत गर्दै ओलीले भने, ‘त्यही खोक्रोपन छोप्न अनौठा कपडा र श्रीपेच लगाउँदा रहेछन्।’
‘ती बादशाहले लेखेका छन्’ ओलीले थपे, ‘जनतालाई आफूबारे भ्रम दिन छातिभरि तक्मा, शरीरमा अनौठा कपडा, शीरमा अनौठो श्रीपेच लगाउने गर्दा रहेछन्।’जनतालाई भ्रममा राखेर शक्ति आर्जन गर्न बादशाहहरुले श्रीपेच लगाउने गरेपनि चीनमा जस्तै नेपालमा पनि त्यो भ्रम तोडिएको उनले उल्लेख गरे। ‘श्रीपेच लगाएको व्यक्ति शक्तिशाली हुन्छ भन्ने जुन भ्रम थियो, त्यो तोडिएको छ’ ओलीले भने, ‘त्यो श्रीपेच अब संग्रहालयमा कैद भएको छ।’ जनताले ढालेको राजतन्त्रलाई नेपालमा जस्तो सुविस्ताका साथ बस्न विश्वका अन्य कुनै देशमा नदिइएको पनि उनले उल्लेख गरे।
यति भन्दै उनी अन्तिम चिनियाँ बादशाहतिरै फर्के। र, पूर्वराजा शाहलाई सुझाव दिए, ‘अन्तिम चिनियाँ बादशाहले जस्तै किताव उहाँलेपनि लेखिदिए हुन्थ्यो।’ तर नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह चिनिया बादशाहको वाटोमा नरहेको उनको निष्कर्ष रहेछ। उनले पूर्वराजा शाहका अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरे। ‘तर उहाँबाट बेला–बेला अलिक फरक ढंगले, अवान्छनीय ढंगले अभिव्यक्ति आउँछन्’ ओलीले गुनासो गरे, ‘यसप्रति मेरो भन्नु केही छैन।’
प्रतिक्रिया