प्रधानमन्त्री ओलीले लिए सपथ, लालबाबु र थममाया मन्त्री नियुक्त
सारांश
- काठमाडौँ, फागुन ३ ।
- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताका शपथ गराएकी छिन् ।
- राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् ।
काठमाडौँ, फागुन ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताका शपथ गराएकी छिन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालगायतको सहभागिता थियो ।
ओलीलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बिहीबार बिहान प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । संविधानको धारा ७६ को उपधारा २ मा ‘प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
बिहीबार बिहान मात्र एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शितल निवास पुगेर आफ्नो पक्षमा स्पष्ट बहुमत रहेको भन्दै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आग्रह गर्दै दावी पेश गरेका थिए ।
यसैबीच,प्रधानमन्त्री ओलीले एमालेबाट २ जनालाई मन्त्री बनाएका छन् । लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापा मगरलाई महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बनाइएको छ । उनीहरुले पनि राष्ट्रपति भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रतिक्रिया