प्रधानमन्त्री ओलीसँग क्रिकेट टोली, विश्वकप छनोटका लागि आज जिम्बावे जाँदै
सारांश
- काठमाडौं, १२ फागुन – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगितामा उपविजेता बनेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोली साता दिन पनि नबित्दै अर्को महत्र्वपूर्ण प्रतियोगिता खेल्न विदेश जाँदै छ।
- नेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने क्रिकेट विश्वकपको अन्तिम छनोट प्रतियोगिताका लागि शनिबार जिम्बावेतर्फ प्रस्थान गर्दै छ।
- त्यसका लागि नेपाली टोली प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुक्रबार नै बिदाइसमेत भइसकेको छ।
काठमाडौं, १२ फागुन – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगितामा उपविजेता बनेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोली साता दिन पनि नबित्दै अर्को महत्र्वपूर्ण प्रतियोगिता खेल्न विदेश जाँदै छ। नेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने क्रिकेट विश्वकपको अन्तिम छनोट प्रतियोगिताका लागि शनिबार जिम्बावेतर्फ प्रस्थान गर्दै छ। त्यसका लागि नेपाली टोली प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुक्रबार नै बिदाइसमेत भइसकेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
फागुन २० गतेदेखि सुरु हुने प्रतियोगिता नेपाली टोलीका लागि निक्कै महत्र्वपूर्ण रहेको छ। यो प्रतियोगिताले नेपाललाई पहिलो पटक ५० ओभर क्रिकेटको विश्वकपमा पुर्याउने मात्रै हैन, आगामी चार वर्षका लागि एक दिवसीय टोलीको मान्यता पनि दिलाउनेछ। यद्यपि त्यसका लागि नेपाललाई प्रतियोगिताको फाइनलमा पुग्नु पर्नेछ।
आईसीसीको अहिलेसम्मको निर्णयअनुसार प्रतियोगिताको शीर्ष दुई टोली अर्काे वर्ष हुने विश्वकपका लागि छनोट हुनेछन् भने एसोसिएटमध्ये (नेदरल्यान्ड्सबाहेक) शीर्ष तीनमा रहने टोलीले सन् २०२२ सम्मका लागि एक दिवसीय टोलीको मान्यता पाउनेछन्। नेपालका लागि ५० ओभर क्रिकेटको विश्वकप छनोट तथा एकदिवसीय टोलीको मान्यता दुवै पहिलो उपलब्धि हुनेछन्।
नेपाली क्रिकेटले अहिलेसम्म चाहेको अवसर पनि यही हो। आईसीसीबाट प्राप्त हुने फन्ड र खेलाडीको क्षमता अभिवृद्धिका लागि महत्र्वपूर्ण मानिने ५० ओभर क्रिकेटको सफलताले मात्रै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त बनाउनेछ।
नेपालका लागि यो अवसर सहज भने छैन। यसअघि दुई पटक विश्वकप जितिसकेको वेस्ट इन्डिजसहित टेस्ट टोलीहरू जिम्बावे, अफगानिस्तान, आयरल्यान्डसहित पछिल्लो चार वर्षयता डिभिजन एकमा रहेर उच्चस्तरको प्रतियोगिता खेल्दै आइरहेका हङकङ, पपुवान्युगिनी, नेदरल्यान्ड्स, स्कटल्यान्ड्स र डिभिजन दुईको विजेता टोली संयुक्त अरब इमिरेट्स (यूएई) ले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालका लागि त्यो अवसर निक्कै चुनौतीपूर्ण रहेको छ।
पछिल्लो केही समययता नेपाली टोलीले पनि माथिल्लो स्तरको क्रिकेट खेल्दै आइरहेको छ। हालैमात्र डिभिजन दुई प्रतियोगिता खेलेर आइरहेको नेपाली टोली लयमै छ। तर, अहिलेसम्मको महत्र्वपूर्ण र ठूलो प्रतियोगिता खेल्न लागेको नेपाली टोलीले विशेष तयारी भने गर्न पाएन। डिभिजन दुई खेलेर नामिबियाबाट फर्केपछि नेपाली टोलीले शुक्रबार आधा दिन अभ्यास गरेको थियो। यसबीचमा नेपालले कुनै पनि तयारी गर्न पाएन।
नेपाल लगातार दोस्रो पटक विश्वकप छनोट प्रतियोगिता खेल्दै छ। सन् २०१५ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोट प्रतियोगितामा निक्कै कमजोर प्रदर्शन गरेको थियो। प्रायः खेलाडी बिरामी र चोटग्रस्त हुँदा नेपाल त्यसबेला सहभागी १० टोलीमध्ये नवौं स्थानमा रहन पुगेको थियो। सोही प्रतियोगिताको कमजोर प्रदर्शनले गुमाएको विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यता प्राप्तका लागि पनि नेपालले यस पटक सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया