प्रधानसेनापतिकाे कार्यक्रममा देखिएकाे नयाँ अायाेजना

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
प्रधानसेनापतिकाे कार्यक्रममा देखिएकाे नयाँ अायाेजना

सारांश

  • काठमाडाै, २४ भदाै ।
  • पूर्णचन्द्र थापाले आइतबार (२४ भदौ) प्रधानसेनापतिको दर्ज्यानी चिन्ह पाउनुभन्दा २ दिन अघि शुक्रबार (२२ भदौ) मा सैनिक मुख्यालय (जंगी अड्डा) ले शुक्रबार दिउँसो प्रधानसेनापति राजेन्द्र क्षत्री को औपचारिक विदाई गर्‍यो।
  • औपचारिक रुपमा शुक्रबार नै विदाई गरिएका प्रधानसेनापति क्षत्री ४० बर्षे सैन्य सेवाबाट आज आइतबारदेखि अवकास पाउँदैछन्।

काठमाडाै, २४ भदाै । पूर्णचन्द्र थापाले आइतबार (२४ भदौ) प्रधानसेनापतिको दर्ज्यानी चिन्ह पाउनुभन्दा २ दिन अघि शुक्रबार (२२ भदौ) मा सैनिक मुख्यालय (जंगी अड्डा) ले शुक्रबार दिउँसो प्रधानसेनापति राजेन्द्र क्षत्री को औपचारिक विदाई गर्‍यो।

औपचारिक रुपमा शुक्रबार नै विदाई गरिएका प्रधानसेनापति क्षत्री ४० बर्षे सैन्य सेवाबाट आज आइतबारदेखि अवकास पाउँदैछन्। तर शुक्रबार भएको प्रधानसेनापति क्षत्री को औपचारिक विदाई पहिले गरिने विदाई भन्दा अलिक फरक रह्यो।सैनिक जनसम्पर्क निर्देशनालयले शुक्रबार (२२ भदौ) जारी गरेको विज्ञप्तीमा ‘सैनिक मञ्चमा उच्च सम्मान स्वरुप ईज्जत अर्पण कवाज’ र ‘जंगी अड्डामा पनि विशेष समारोहका साथ विदाई कार्यक्रम’ गरिएको उल्लेख छ।औपचारिक कार्यक्रममा विदाई सम्बोधन औपचारिक कार्यक्रममा विदाई सम्बोधन

यी दुईमध्ये ‘जंगी अड्डामा पनि विशेष समारोहका साथ विदाई कार्यक्रम’ चाहिँ सेनाले यसअघि पनि गर्दै आएको थियो। त्यस अन्तर्गत जंगी अड्डामा औपचारिक कार्यक्रम आयोजना गरिन्छ र प्रधानसेनापतिलाई उपहार दिएर विदाई गरिन्छ। प्रधान सेनापतिले पनि बधाई स्वरुप हुनेवाला प्रधानसेनापतिलाई उपहार दिने गर्छन्।

***
हुनेवाला प्रधानसेनापति र जंगी अड्डाको तर्फबाट हुने यस्तो विदाई कार्यक्रम यसपटकपनि गरियो। जंगी अड्डाभित्रको सैनिक सभाकक्षमा आयोजना गरिएको विदाई कार्यक्रममा प्रधानसेनापति क्षत्रीले परम्परा अनुसार विदाई मन्तव्य दिए। सेनाका सकल दर्जालाई धन्यवाद अर्पण गरे।

प्रचलन अनुसार कामु प्रधानसेनापति थापाले नेपाली सेनाको तर्फबाट प्रधानसेनापति क्षत्रीलाई घोडाले तान्दै गरेको सुनौलो रथ उपहार दिए। प्रत्युत्तरमा क्षत्री ले निर्माणाधी जंगी अड्डाको प्रतिरुप (रिप्लिका) र नेपाल-अंग्रेज युद्ध अन्तर्गत देउथलको लडाईंमा वीरतापूर्वक लड्दै गरेका बीर भक्ति थापा र किल्ला रहेको पेन्टिङ चित्र दिए।थापाद्वारा क्षेत्रीलाई उपहार थापाद्वारा क्षेत्रीलाई उपहार

देउथलको लडाईंमा वीरतापूर्वक लड्दालड्दै शहादत प्राप्त गरेका वीर भक्ति थापा ‘पुँवार थापा’ खलकका हुन्। आज (२४ भदौ) देखि प्रधानसेनापतिको जिम्मेवारी पाएका थापापनि त्यही खलकका हुन्। सम्भवत पुर्खा भक्ति थापाजस्तै मुलुकप्रति निष्ठावान हुने शुभेच्छास्वरुप क्षत्री ले थापालाई त्यो पेन्टिङ उपहारस्वरुप दिएका हुन्।क्षेत्रीद्वारा थापामार्फत् सेनालाई उपहार क्षेत्रीद्वारा थापामार्फत् सेनालाई उपहा

तर, त्यस अघि टुँडिखेलस्थित सैनिक मञ्चमा गरिएको कवाज चाहिँ प्रधानसेनापतिको विदाईका लागि गरिएका कार्यक्रम मध्ये विल्कुलै नौलो आयोजना थियो। जंगी अड्डाले यसलाई ‘उच्च सम्मानस्वरुप ईज्जत अर्पण कवाज’ उल्लेख गरेको छ।

जनसम्पर्क निर्देशनालयले शुक्रबार प्रेसित गरेका तीन तस्वीरमध्ये एउटा तस्वीरमा प्रधानसेनापति पुर्णचन्द्र थापा र कामु प्रधानसेनापति राजेन्द्र क्षत्री देखिन्छन्। सैनिक मञ्च रहेको टुँडिखेलमा खिचिएको यो तस्वीरमा एउटै गाडीमा बसेर थापा र क्षत्री ले सैनिक कवाजको निरीक्षण गरेका छन्।

अर्काे तस्वीरमा प्रधानसेनापति क्षत्री कवाज निरीक्षण गर्दै सलामी पनि फर्काइरहेका छन्। सैनिक मञ्च टुँडिखेलमा यस्तो कार्यक्रम यसअघिका प्रधानसेनापतिहरुको विदाईका अवसरमा आयोजना गरिँदैनथ्यो।

त्यसको साटो एउटा सानो सैन्य टुकडीले जंगी अड्डाभित्रै प्रधानसेनापतिलाई सलामी दिन्थ्यो। त्यसपछि जंगी अड्डाभित्र रहेको सभामण्डपभित्र औपचारिक कार्यक्रम आयोजना गरिन्थ्यो। त्यो कार्यक्रममा दुबै प्रधानसेनापतिले धन्यवाद स्वरुप सम्बोधन गर्थे। विदा पाउन लागेका प्रधानसेनापति र जिम्मेवारी सम्हाल्न लागेका प्रधानसेनापतिबीच उपहार साँटासाँट हुन्थ्यो।

सभामण्डपमा औपचारिक विदाई कार्यक्रम

सभामण्डपमा औपचारिक विदाई कार्यक्रम

तर प्रधानसेनापति क्षत्री को विदाईका लागि यस पटक सैनिक मञ्च टुँडिखेलमै ‘ईज्जत अर्पण कवाज’ कार्यक्रम आयोजना गरियो। यो बाहेक प्रधानसेनापति क्षत्री को विदाई स्वरुप अर्काे कार्यक्रमपनि आयोजना भयो। त्यो हो, सैनिक मञ्च टुँडिखेलदेखि भद्रकालीमा रहेको सैनिक मुख्यालय ‘जंगी अड्डा’ सम्म प्रधानसेनापति क्षत्री को रथयात्रा।

सैनिक जनसम्पर्क निर्देशनालयले प्रधानसेनापति क्षत्री को सम्मानमा गरेको ‘रथयात्रा’ बारे औपचारिक जानकारी दिएन, त्यस सम्बन्धी तस्वीर पनि सार्वजनिक गरेन। तर, शनिबार (२३ भदौ) साँझ प्रधानसेपति क्षत्री आफ्नो ‘फेसबुक पेज’ पोष्ट गरेका १२ मध्ये तस्वीरमध्ये एउटा ‘रथयात्रा’ को तस्वीरपनि देखिन्छ।

शनिबार साँझ क्षत्री को फेसबुकबाट सार्वजनिक भएको त्यो तस्वीरमा प्रधानसेनापति क्षत्री चार वटा घोडाले तान्ने बग्गीमा देखिन्छन्। प्रधानसेनापति क्षत्री का साथमा उनकी धर्मपत्नी रिता क्षत्री पनि छन्। अघि-पछि घोडचडी सैनिक (रिसल्ला) हरुको सुरक्षा पनि देखिन्छ। क्षत्री  हिजो (२३ भदौ) को मितिसम्म प्रधानसेनापति रहेपनि आज प्रधानसेनापतिको दर्ज्यानी पाएपछि नेपाली सेनाको कमाण्ड पूर्णचन्द्र थापाको हातमा गइसकेको छ। २४ साउनमा प्रधानसेनापति क्षत्री ले एक महिनाका लागि घरविदा लिएपछि सेनाको सम्पूर्ण जिम्मेवारी थापालाई सुम्पिसकेका थिए।

त्यसैले, २४ साउन यता नेपाली सेनाले जे जति काम र निर्णय गरेको छ, ती सबैको नैतिक दायित्व कामु प्रधानसेनापतिका रुपमा रथी थापाको काँधमा थियो। जंगी अड्डाले गरेका हरेक काम-कार्वाही कामु प्रधानसेनापति थापाको तर्फबाट भएका थिए।

त्यसैले, औपचारिक विदाई स्वरुप जंगी अड्डाभित्रै सानो टुकडीद्वारा दिइने सम्मानको साटो सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको ‘ईज्जत अर्पण कवाज’, टुँडिखेलदेखि जंगी अड्डासम्म प्रधानसेनापतिको रथयात्रा ‘कामु प्रधानसेनापति’ थापाकै निर्णयबाट भएको हो।

निर्देशनालयको विज्ञप्तीमा ‘नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको रक्षाका लागि सदा समर्पित भई करिब ४० वर्षसम्म अनवरत रुपमा सेवा गरेका’ कारण विशेष समारोह आयोजना गरिएको उल्लेख छ।

निश्चय नै, क्षत्री ले ४० बर्ष नेपाली सेनामा सेवा गरे, देश, जनता र संविधानको रक्षाका लागि समर्पित रहे। उनका पिता महासेनानी गोपालबहादुर खत्री राजा महेन्द्र जिउँदो छँदासम्म राजाका एडिसी थिए। महेन्द्रको निधनपछि उनी तत्कालिन मुमा बडामहारानीको एडिसी रहे।

पिता गोपालबहादुर दरवारमा एडिसी रहेपनि गणतन्त्रकालमा प्रधानसेनापति बनेका क्षत्री ले गणतान्त्रिक सम्बिधानप्रति इमान्दारितापूर्वक समर्पणभाव देखाए।

उनी प्रधानसेनापति नियुक्त हुँदा मुलुक संविधान सभाबाट संविधान निर्माण गर्ने अन्तिम तयारीमा थियो। प्रदेशहरुको सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न भागमा आन्दोलन सुरु भएका थिए। आन्दोलन हिँसात्मक बन्दै थियो। टिकापुर घटनापछि आत्तिएको तत्कालिन राजनीतिक नेतृत्वले आन्दोलनविरुद्ध सेना प्रयोग गर्न खोजेको थियो।

तर, प्रधानसेनापति क्षत्री नै हुन्, जसले ‘बन्दुकको आडमा संविधान लेख्दा त्यो सर्वमान्य नहुन सक्छ, स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरिँदा स्वदेशी तथा अन्तर्राष्ट्रिय समुदायले त्यसको विरोध गर्न सक्छ र यसको सोझो असर संविधान निर्माणमा पर्छ’ भनेर राजनीतिक नेतृत्वलाई ‘कन्भिन्स’ गरे।

यो सैनिक नेतृत्वबाट राजनीतिक नेतृत्वलाई दिइएको सुझबुझपूर्ण सुझाव थियो। संविधानप्रति मधेशी-जनजातिका असन्तुष्टी अझै छन्। तर, उनीहरुले सेनाको बन्दुकको बलमा संविधान जारी गरिएको आरोप लगाउन सकेका छैनन्। यसको केही जस प्रधानसेनापतिलाई पनि जान्छ।

संविधान सभाबाट संविधान जारी भएपछि भारतले नेपालमाथि नाकाबन्दी लगायो। त्यो नाकाबन्दी खुलाउन उनले निर्णायक भूमिका निर्वाह गरे। तर, त्यसको जस आफूले लिन चाहेनन्। ‘प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आफूले सकेको भूमिका निर्वाह गरेको’ बताएर उनले नाकाबन्दी खुलाउने कामको जस राजनीतिक नेतृत्वलाई नै दिन चाहे।

कवाज निरीक्षण कवाज निरीक्षण

‘सेनामाथि नागरिक नियन्त्रण’ को मान्यतालाई उनले सहज रुपमा स्वीकार गरे। सम्भवतः यही कुरा इंगित गर्दै जनसम्पर्क निर्देशनालयले ‘संविधानको रक्षाका लागि सदा समर्पित भई’ काम गरेवापत उनलाई विशेष सम्मान दिएको उल्लेख गरिएको हो।तर, जंगी अड्डाको तर्फबाट कामु प्रधानसेनापति थापाले शुक्रबार क्षत्री लाई दिएको त्यो विशेष सम्मानको कारण यतिमात्र चाहिँ होइन।


जानकारहरुका भनाईमा, क्षत्री ले जंगी अड्डाको नेतृत्व सहज रुपमा हस्तान्तरणको वातावरण निर्माण गर्नु नै र हस्तान्तरण गर्नु नै उनले शुक्रबार पाएको त्यो विशेष सम्मानको मुख्य कारण हो।

लोकतन्त्र यता नेपाली सेनाले ५ जना प्रधानसेनापति पायो। तर, यस पटक बाहेक कहिल्यै सहज रुपमा नेतृत्व हस्तान्तरणको अभ्यास भएन। कि आफ्नो कार्यकाल लम्ब्याउने, कि त अप्राकृतिक ढंगले आफूले चाहेको सैनिक अधिकारीलाई उत्तराधिकारी बनाउने खोज्ने प्रयास यसअघिका प्रधानसेनापतिहरुले एक पछि अर्काे गर्दै गरिरहे।२०६३ मा लोकतन्त्र पुनस्र्थापना हुँदा प्रधानसेनापति प्यारजङ थापा थिए। लोकतन्त्रपछि प्रधानसेनापति पदको अवधि ४ बर्षबाट घटाएर ३ बर्ष कायम गरियो। यो प्रावधान अनुसार, थापा २४ भदौ ०६३ मा अवकास पाउँदै थिए। तर, उनी अन्तिम समयसम्म आफ्नो पदावधि १ बर्ष लम्ब्याउने प्रयासमा लागे। सफल चाहिँ भएनन्।

थापापछि प्रधानसेनापति बनेका कटवाल पनि आफ्नो कार्यकालको अन्त्यताका आफ्नो पदावधि थप्ने खेलमा सक्रिय रहे। तत्कालिन एमाले-कांग्रेस सरकार र माओवादीबीचको तीब्र द्वन्द्वको परिस्थिति थियो। आफ्नो कार्यकाल लम्ब्याउन उनले त्यही द्वन्दलाई उपयोग गर्न खोजे। ‘माओवादीले सिर्जना गरेको यस्तो कठिन स्थितिमा छत्रमानसिँह गुरुङले सेनाको नेतृत्व गर्न सक्दैनन्’ भन्दै राजनीतिक नेतृत्वलाई ‘कन्भिन्स’ गरेर कटवालले आफ्नो पदावधि लम्ब्याउन खोजेका थिए। गुरुङलाई कमजोर र अक्षम देखाउँदा आफ्नो कार्यकाल बढाउन सकिन्छ भन्ने उनलाई लागेको थियो। कटवालपनि असफल भए।

छत्रमानसिँह गुरुङले आफ्नो पदावधि लम्ब्याउने प्रयास त गरेनन्। तर, प्रधानसेनापतिको रोलक्रम बिगार्न भरमग्दुर प्रयास चाहिँ गरे। सके आफ्ना बहिनीज्वाइँ दमनबहादुर घलेलाई प्रधानसेनापति बनाउने, नसके नेपालभूषण चन्दलाई बनाउने र उपरथी प्रेमप्रकाश थापामगरलाई प्रधानसेनापतिको रोलक्रममा राख्ने उनको योजना थियो। तर, रोलक्रम बिगार्ने गुरुङको प्रयासपनि सफल भएन। जंगी अड्डा प्रमुखको स्वभाविक उत्तराधिकारी गौरव शमशेर राणा नै प्रधानसेनापति बन्न सफल भए।

गुरुङका उत्तराधिकारी गौरव शमशेर राणाका पालामा पनि रोलक्रम बिगार्ने प्रयासहरु गरिए। राणा त्यसको मोहरा बने। रथी (लेफ्टिनेन्ट जनरल) को उमेरहद ५८ बर्ष भएपनि रथी पवनबहादुर पाँडे त्यसलाई बढाएर ५९ बर्ष बनाउने प्रयासमा लागे। यो प्रयासमा अर्का उपरथी (मेजर जनरल) भिक्टर राणापनि लागे। पाँडेको प्रयासमा रथीको उमेरहद ५८ को साटो ५९ बर्ष बनाइएको भए राणापछि राजेन्द्र क्षत्री होइन, पाँडे नै प्रधानसेनापति बन्ने थिए। यो भिन्दै कुरा हो कि, उमेर बाँकी रहेका कारण पाँडेपछि फेरि क्षत्री कै प्रधानसेनापति बन्ने पालो आउँथ्यो।

तर, लोकतन्त्र गणतन्त्र स्थापनापछिका आफ्ना पूर्वजहरुले जस्तो क्षत्री न आफ्नो पदावधि थप्ने खेलमा लागे, न स्वभाविक उत्तराधिकारको रोलक्रम बिगार्न नै। अप्राकृतिक ढंगले रोलक्रम बिगार्ने र अर्काे व्यक्तिलाई प्रधानसेनापतिको रोलक्रममा राख्ने काममा उनी लागेनन्। २४ भदौ ०७२ मा प्रधानसेनापति बनेदेखि नै क्षत्री ले खेलेको त्यही भूमिकाका कारण पूर्णचन्द्र थापाले आज प्रधानसेनापतिको दज्र्यानी पाउन सफल भएका हुन्। थापाको स्वभाविक उत्तराधिकारको रक्षा गर्नमात्र होइन, यो जिम्मेवारीका लागि अनुभव दिलाउन पनि उनले सहयोगी भूमिका खेले।

२४ भदौ ०७२ मा क्षत्री ले प्रधानसेनापतिको दज्र्यानी पाउँदा थापा गोलानहाइट (इजरायल-प्यालेस्टाइन सीमाक्षेत्र) स्थित राष्ट्र संघीय डिसइन्गेजमेन्ट फोर्स (अनडफ) को फोर्स कमान्डरका रूपमा कार्यरत थिए। दुई बर्षे अवधिका लागि उनलाई त्यो जिम्मेवारीमा पठाइएको थियो।

तर, प्रधानसेनापति बनेलगत्तै क्षत्री ले थापालाई नेपाल फिर्ता बोलाए। २ बर्षे नियुक्तिमा गएका थापा १ बर्षमात्र पुरा गरेर फर्के। खासमा उनलाई भावी प्रधानसेनापतिका रुपमा ‘ग्रुम’ गर्न फिर्ता ल्याइएको थियो। राष्ट्रसंघीय जिम्मेवारीबाट फिर्ता भएलगत्तै थापालाई बलाध्यक्षरथीको जिम्मेवारी दिइयो। यो जंगी अड्डाभित्रको तेस्रो बरियताको जिम्मेवारी हो। जब बलदेवराज महतले १६ कार्तिक २०७४ मा बलाधिकृत रथीको रुपमा अवकास पाए, त्यसपछि क्षत्री ले आफू (प्रधानसेनापति) पछिको यो शक्तिशाली जिम्मेवारी रथी थापालाई दिए।

जंगी अड्डाभित्रका दुई महत्वपूर्ण जिम्मेवारीको अनुभव प्राप्त गर्ने अवसर थापाले पाए। बलाध्यक्ष रथी र बलाधिकृत रथीका रुपमा उनले सँगालेको अनुभव प्रधानसेनापतिको सफल कार्यकालका लागि उपयोगी हुन सक्छ। सैनिक ऐनले नेपाली सेनामा रथीको पदावधि ३ बर्ष र उमेरको हद ५८ बर्ष तोकेको छ। तर, यदि उमेर बाँकी छ भने, रथीको दुई बर्षे पदावधि सकिएपनि प्रधानसेनापतिले उसलाई थप एक बर्ष थपिदिन सक्छन्। उमेर थपको अधिकार सैनिक ऐनले प्रधानसेनापतिलाई दिएको छ।

तर, नेपाली सेनामा बिरलैमात्र रथीको पदावधि एक बर्ष थपिएको बिगत छ।

थापाअघि बालानन्द शर्मामात्र यसका अपवाद हुन्, जसको २ बर्षे रथीको पदावधि सकिएपछि उमेर बाँकी नै रहेका थप एक बर्ष पदावधि थपिएको थियो। तर, तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जोडबलका कारण सेनाप्रमुख रुकमाङ्गद कटवाल शर्माको पदावधि थप्न बाध्य भएका थिए। सैनिक संगठनको सोपान प्रणाली अनुसार, रथी (लेफ्टिनेन्ट जनरल) को तहमा रहेको व्यक्ति नेपाली महारथी अर्थात् प्रधानसेनापतिमा बढुवा हुन पाउँछ। सरकारसँग मतान्तर भयो भने, सरकारले प्रधानसेनापतिलाई हटाएर अर्काे रथीलाई प्रधानसेनापतिको जिम्मेवारी दिनसक्छ, पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री छँदा २०६६ बैशाखमा कटवाललाई हटाएर रथी कूलबहादुर खड्कालाई जिम्मेवारी दिए जसरी नै।

त्यसैले, प्रधानसेनापतिहरुले कुनै रथीको उमेर बाँकी छ भनेपनि अपवाद बाहेक एक बर्षे पदावधि थपको सिफारिस गरेनन्। आफू मुनिका रथीहरुबाट असुरक्षाका कारण यसअघिका प्रधानसेनापतिहरु रथीको पदावधि थप्न सदैव अनुदार रहे।

तर, रथी थापाका हकमा क्षत्री अनुदार देखिएनन्। १६ असोज २०७४ मा उनको दुई वर्षे पदावधि सकियो, प्रधानसेनापति क्षत्री ले त्यस अगावै उनको एक बर्षे पदावधि थपको सिफारिस गरे। उनको पदावधि थपियो। जब १६ कार्तिक (२०७४) मा बरिष्ठ रथी महतले अवकास पाए, थापा प्रधानसेनापतिको रोलक्रममा बसे। महतको अवकास पछि थापा नै जंगी अड्डाभित्र सबैभन्दा बरिष्ठतम रथी थिए र उनको उमेरपनि बाँकी थियो। भाग्यपनि कस्तो भने, भोलि (२५ भदौ) मा उनी ५८ बर्ष पुग्दैछन्। अघिल्लै दिन (२४ भदौ) मा क्षत्री को ३ बर्षे पदावधि सकिने भएका कारण उनी प्रधानसेनापति बन्न सके। प्रधानसेनापतिको उमेर हद चाहिँ ६१ बर्ष छ।

….
२४ भदौ २०७२ मा क्षत्री प्रधानसेनापनि बन्दा थापा प्रधानसेनापति हुन सक्लान् वा नसक्लान्- धुकचुक थियो। क्षत्री पछि प्रधानसेनापतिका अर्का दावेदार थिए, उपरथी बिनोज बस्न्यात। महतको उपरथीबाट रथीमा बढुवा हुने नहुने यकिन थिएन। किनभने, दरबन्दी खालि भएपनि रथीमा बढुवा पाउन पृतना कमाण्ड गरेको १ बर्ष पुगेकै हुनुपर्ने प्रावधान थियो।

तर, क्षत्री ले महतको बढुवाका लागि समय कुरे। र, पृतना कमाण्ड गरेको एक बर्ष पुगेपछि उनलाई रथीमा बढुवा दिए। अर्काेतिर, सरकारको निर्देशनमा त्यही बेला नेपाली सेनाभित्र शैक्षिक प्रमाणपत्रको छानविन सुरु भयो। त्यसक्रममा उपरथी बिनोज बस्न्यातको जन्ममितिमा केही कमजोरी देखिए।

त्यही कारण बस्न्यातले उपरथीको ३ बर्षे पदावधि पुरा भएपछि अवकास पाए। २ बर्ष पदावधि थप्न सकिने प्रावधान भएपनि शैक्षिक प्रमाणपत्रमा देखिएका कमजोरीका कारण उनको पदावधि थपिएन।

एकातिर उपरथी महतको रथीमा बढुवा हुने नहुने धुकचुक नै रहेको अवस्थामा क्षत्री ले महतलाई पुरा एक बर्ष पृतना कमाण्डको अवसर दिएर रथीमा बढुवा गरिदिए। अर्काेतिर शैक्षिक जन्ममितिमा देखिएका दोहोरोपन देखिँदा उपरथी बस्न्यातले उपरथीको ३ बर्षे कार्यकाल सकेपछि अवकास पाए।

यदि उपरथी बस्न्यातको २ बर्षे अवधि थपिएको भए सम्भवतः अहिले प्रधानसेनापतिको दज्र्यानी थापाले होइन, बस्न्यातले लगाउन पाउने थिए। थापा प्रधानसेनापति पदका स्वभाविक उत्तराधिकारी थिए। यसको सुरक्षा क्षत्री ले पाइला-पाइलामा गरिदिए। प्रधानसेनापतिको रोलक्रममा राख्न सफल भएपनि थापालाई प्रधानसेनापति बन्न नदिने खेल साउन पहिलो सातासम्मपनि रोकिएको थिएन।

ती चलखेल रोक्न क्षत्री ले केही रणनीतिक कदम चाले। प्रचलन अनुसार उनी २५ साउनदेखि एक महिने घर विदामा बस्नुपर्थ्यो। त्यसअघि कामु प्रधानसेनापति तोक्नुपर्थ्यो। क्षत्री ले ६ साउनमा नै जंगी अड्डाको तर्फबाट २५ भदौदेखि लागू हुने गरी थापालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने सिफारिस रक्षा मन्त्रालयमा गरे।फोटोः राससफोटोः रासस

उनको त्यही सिफारिस अनुसार, १० साउनमा बसेको मन्त्री परिषद बैठकले रथी थापालाई कामु सेनापति बनाउने निर्णय गर्‍यो। यसैगरी, १० भदौको मन्त्री परिषदबाट क्षत्री पछिका प्रधानसेनापति थापालाई बनाउने सिफारिसको निर्णय भयो। मन्त्री परिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले १२ भदौमा नै ‘२४ भदौदेखि थापा प्रधानसेनापति नियुक्त हुने’ निर्णय गरिन्।

छिट्टै निर्णय नहुँदा थापालाई प्रधानसेनापति बन्न नदिनेहरुले खेल्ने समय पाउने भएकाले क्षत्री ले अलिक छिटो जंगी अड्डाबाट सिफारिस गरेका थिए। ‘प्रधानसेनापतिको उत्तराधिकारका लागि थापा नै सबैभन्दा योग्य छन्’ भनेर उनले राजनीतिक नेतृत्वलाई कन्भिन्स पनि गरे।

लोकतन्त्र स्थापना भएयता यति सहज ढंगले सेना प्रमुखको जिम्मेवारी हस्तान्तरण कहिल्यै भएको थिएन। चाहे पदावधि सकिनु भन्दा एक महिना अघि घरविदा बस्ने प्रचलनको कार्यान्वयन होस्, चाहे आफ्नो उत्तराधिकारीको नामको सिफारिस-  क्षत्री अघिका प्रधानसेनापतिहरुले अन्तिम समयमा मात्र यस्तो सिफारिस गर्ने गरेका थिए।

एकातिर प्रधानसेनापति क्षत्री ले थापाका लागि प्रधानसेनापतिको रोलक्रम सुरुदेखि नै सुरक्षित गरिदिए, अर्काेतिर अन्तिम समयमा हुन सक्ने चलखेलाई निश्प्रभावी बनाउन आफू छिट्टै घरविदामा बस्ने, कामु प्रधानसेनापति र पछि प्रधानसेनापतिको जिम्मेवारी दिने सिफारिस छिट्टै गरिदिए।

क्षत्री को विदाई स्वरुप शुक्रबार गरिएको ‘ईज्जत अर्पण कवाज’ र ‘टुँडिखेल टु भद्रकाली रथयात्रको मुख्य कारण यही हो।

….
विदाईका क्रममा क्षत्री प्रति थापाले जस्तो सम्मान दिए, त्यो सम्मान खासमा उनी आफैप्रतिको चुनौतिपनि हो। अर्थात्, आफूपछि स्वभाविक रुपमा प्रधानसेनापतिको उत्तराधिकारी तयार गर्ने चुनौति। गणतन्त्र अघिसम्म नेपाली सेनाको उच्च तहमा हुने सरुवा बढुवामा दरवार निर्णायक रहन्थ्यो। कसलाई प्रधानसेनापति बनाउने हो, त्यसै अनुसार सैनिक अधिकारीहरुको सरुवा-बढुवा र पदावधि थप/अवकासको निर्णय दरवारले नै गथ्र्याे। त्यसैले, प्रधानसेनापति बन्ने अवसर तिनैले मात्र पाउँथे, जसलाई दरवारको आशिर्वाद प्राप्त हुन्थ्यो।

लोकतन्त्र/गणतन्त्र स्थापनापछि सेनामा हुने सरुवा-बढुवा, पदावधि थप र पदावधि थप नगरी अवकास जस्ता कुरामा प्रधानसेनापति निर्णायक भए। रक्षा मन्त्रालय अर्थात् सरकारको भूमिका जंगी अड्डाले जे पठाउँछ, त्यसैलाई सदर गर्नेमा मात्र सीमित हुन थाल्यो। अर्थात्, जंगी अड्डाले कुनै सैनिक अधिकारीको पदावधि थप वा बढुवाको सिफारिस गरेर पठाए उनीहरुको पदावधि थप/बढुवा हुने भयो। नत्र उनीहरु पदावधि थप वा बढुवा नभई घर जानुपर्ने स्थितिमा पुगे।

दरवारले उपभोग गर्दै आएको अधिकार लोकतन्त्रपछिको सैनिक ऐनले प्रधानसेनापतिलाई दिइदिँदा र सरकार जंगी अड्डाको आदेश तामेली गर्ने निकायमात्र भइदिँदा प्रधानसेनापतिले चाहेकाहरुले पदावधि थप भयो, बढुवापनि पाए। प्रधानसेनापति नचाहँदा कतिपय सैनिक अधिकारीहरु अस्वभाविक ढंगले अवकास पाएर घर जान बाध्यपनि भए।

प्यारजङ थापाको पदावधि थपिएको भए कटवाल प्रधानसेनापति बन्न सक्दैनथे। राजनीतिक नेतृत्वले विवेक प्रयोग गर्‍यो, त्यसैले कटवालले प्रधानसेनापति बन्ने सौभाग्य पाए। तर, कार्यकालको अन्तिमताका प्यारजङले जे गरेका थिए, कटवालले पनि त्यही गर्न खोजे। आफ्नो पदावधि थपेर छत्रमानलाई प्रधानसेनापति बन्नै नदिई घर पठाउने खेल खेले। सकेनन्, त्यो छुट्टै कुरा हो।

छत्रमानले चाहिँ स्वभाविक उत्तराधिकारीको साटो अस्वभाविक उत्तराधिकार खडा गर्न खोजे। छत्रमान सफल भएको भए गौरव शमशेर प्रधानसेनापति बन्न पाउने थिएनन्। तर, प्रधानसेनापति बनेपछि गौरव शमशेरले पनि छत्रमानले गरेकै गल्ती दोहोर्‍याउन खोजे, अस्वभाविक उत्तराधिकारी बनाउने खेलमा सामेल भएर रथीको उमेर हद ५८ बर्षबाट ५९ बर्ष पुर्‍याएर पवनबहादुर पाँडेलाई आफ्नो उत्तराधिकारको रोलक्रममा राख्न खोजे।

अस्वभाविक रुपमा आफ्नो उत्तराधिकारी जन्माउने खेलमा पूर्व प्रधानसेनापतिद्वय गुरुङ र राणा दुबैलाई असफलता हात लाग्यो। र, राणापछि क्षत्री ले प्रधानसेनापतिको कमाण्ड सम्हाल्ने मौका पाए।

जंगी अड्डाबाट बिदाई क्षत्री का कार्यकालमा कमजोरी अवस्यै भए होलान्। तर, आफ्ना पूर्वजले गरेका उपरोक्त गल्ती क्षत्री ले दोहोर्‍याउन चाहेनन्। र, थापालाई प्रधानसेनापति बन्न सहज भयो।

आज प्रधानसेनापतिको दर्ज्यानी पाएका थापा सामान्य स्थितिमा सैनिक अनुसार ३ बर्ष प्रधानसेनापति हुनेछन्। उनको कार्यकालका थुप्रै चुनौति छन्। ती चुनौतिबारे पछि चर्चा गरौँला। तर, जुन ‘कज’ का लागि उनले निवर्तमान क्षत्री लाई त्यो सम्मान दिए, ३ बर्षपछि अवकास पाउँदा आफूपनि त्यही सम्मानको हकदार होलान् वा नहोलान्! धेरै मध्ये यो पनि उनको कार्यकालको एउटा उल्लेख्य चुनौति हो।

(नेपाल खबर बाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन
रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन
झुटा विवरण पेश गरी ​नेपाली नागरिकता लिने भारतीय पक्राउ…
झुटा विवरण पेश गरी ​नेपाली नागरिकता लिने भारतीय पक्राउ…
सहमति कार्यान्वयनमा ओली गम्भिर नभएको भन्दै दाहाल-नेपाल गठबन्धन सक्रिय
सहमति कार्यान्वयनमा ओली गम्भिर नभएको भन्दै दाहाल-नेपाल गठबन्धन सक्रिय
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु
मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु
बस्ती संरक्षणका लागि ग्याबिन पर्खाल
बस्ती संरक्षणका लागि ग्याबिन पर्खाल
फरार अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालत पुगिन्
फरार अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालत पुगिन्
कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिकस चीनपछि कोरिया, इटाली र इरानमा बढी फैलियो
कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिकस चीनपछि कोरिया, इटाली र इरानमा बढी फैलियो
मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी
मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी
कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्ष बन्धक

तपाईंले छुटाउनुभयो कि?