प्रमुख अतिथि र महिलामन्त्रीलाई रुक्मांगद कटुवालले प्रत्यक्ष प्रसारणमै ‘तलुवा’ देखाइदिएपछि….
सारांश
- काठमाडौँ,माघ २० ।
- रुक्मांगद कटुवाल, नेपाली सेनाका पूर्व सेनापति ।
- शेरबहादुर देउवा सरकारले कुनै प्रदेश प्रमुखको जागिर दिन रुचाएका व्यक्ति ।
काठमाडौँ,माघ २० । रुक्मांगद कटुवाल, नेपाली सेनाका पूर्व सेनापति । शेरबहादुर देउवा सरकारले कुनै प्रदेश प्रमुखको जागिर दिन रुचाएका व्यक्ति । वामगठबन्धनले देउवाको मनसाय बुझेपछि बैठकमै अनुपश्थित भइदिँदा प्रदेश प्रमुख हुने सपना किचिमिची भएका व्यक्ति । यिनै कटुवालले शनिबार विभिन्न राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको ‘चक्रपथ सरसफाइ अभियान’ को २५ औँ सप्ताहमा अतिथि हुँदा आफ्नो मानमर्यादा र शिष्टता भुलेको तस्बिर भाइरल भइरहेको छ ।
कार्यक्रम हो, चक्रपथ सरसफाइ अभियानको २५ औँ सप्ताह । प्रमुख अतिथि हुन् मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी । त्यहीँ अतिथि छन् महिला, बालबालिका मन्त्री बिक्रमबहादुर थापा । माननीय जीवनराम श्रेष्ठ । देशकै लब्धप्रतिष्ठितहरुलाई सम्मान गरिएको कार्यक्रम पनि हो यो । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी छेउमा छन् । बीचमा पूर्व सेनापति कटुवाल । अनि मन्त्री थापा । छेउमै छन् देउवा सरकारले नै केही घण्टा नेपाल प्रहरी प्रमुख बनाएका तर अदालतबाट खारेजीमा परेका प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द ।
तस्बिर नियाल्नुहोस् । मन्त्री थापा र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी शालीनसँग बसेका छन् । अर्थात् संस्कार के हो जान्दछन् उनीहरु । बीचमा बसेका सेनाका पूर्वसेनापति कटुवालको बसाइ कति अमर्यादित छ ? शब्दहरु प्रहार गरिरहन पर्दैन । तस्बिरले देखाइरहेको छ उनको आडम्बर, अभिमान र अमर्यादा ।
सेना, सबैभन्दा मर्यादित, कुटनीतिक मर्यादापालन गर्ने, अनुशासित निकाय हो नेपालमा । राष्ट्र, राष्ट्रियता र नागरिक सर्वोच्चताका खातिर अविराम अनुशासित ढंगले प्रस्तुत हुने सेनाका पूर्व कमाण्डर, जो अन्तर्वार्ताहरुमा भन्छन्, ‘वान्स अ जर्नेल, अलवेज जर्नेल’, तिनैले विभिन्न टेलिभिजनमा प्रसारण भइरहेको एउटा जनमुखी अभियानमा अभिमान प्रस्तुत गर्दै प्रमुख अतिथिलाई जुत्ताको तलुवा देखाउँदै, उपरखुट्टी लगाउँदै बस्नु पक्कै सुहाएन ।
पहिलो तस्बिरमा मात्र होइन, प्रमुख अतिथि खिलराज रेग्मीले बोलिरहँदा पनि कटुवालको बसाइ उस्तै छ । अर्थात् बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक जयबहाद्र चन्द र प्रमुख वक्तालाई कटुवाल जुत्ताको तलुवा देखाइरहेका छन् । कटुवालको धेरै आलोचना नगरौँ, यो तस्बिर सार्वजनिक भएपछि लाग्छ, उनले केही सचेतता र संयमता अपनाउनेछन् ।
प्रसंग, जयबहादुर चन्दको पनि जोडौँ । पहिलो तस्बिरमा उनी पनि कार्यक्रममा मर्यादा ख्याल नगरी मोबाइल चलाइरहेका छन् । शान्तिसुरक्षाको जिम्मा लिएका निकायको दोस्रो वरियताको कमाण्डरले मोबाइल मात्र चलाएका छैनन्, प्रमुख अतिथि खिलराज रेग्मी बोलिरहँदा उनको हुलिया सपाट देखिन्छ, देशका एआइजी चप्पल लगाएर पो यस्तो समारोहमा विशिष्ट अतिथिको आसनमा देखिएका छन् । (साभार : जनता समाचार)
प्रतिक्रिया