प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
सारांश
- नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई गृहमन्त्री रामबहादुर थापा बादलले अचानक बोलाए ।
- उनले दिउँसो खनाललाई बोलाएर निवर्तमान सभामुख कृष्णबहादुर महरा मुछिएको महिलामाथिको जर्बजस्ती घटनाबारे प्रारम्भिक अनुसन्धानबारे जानकारी लिए ।
- आइजीपीले घटनाबारे ब्रिफिङ गरेपछि गृहमन्त्री बादलले गल्ती गर्ने कसैलाई नछाड्न निर्देशन दिएको बुझिएको छ ।
नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई गृहमन्त्री रामबहादुर थापा बादलले अचानक बोलाए । उनले दिउँसो खनाललाई बोलाएर निवर्तमान सभामुख कृष्णबहादुर महरा मुछिएको महिलामाथिको जर्बजस्ती घटनाबारे प्रारम्भिक अनुसन्धानबारे जानकारी लिए । आइजीपीले घटनाबारे ब्रिफिङ गरेपछि गृहमन्त्री बादलले गल्ती गर्ने कसैलाई नछाड्न निर्देशन दिएको बुझिएको छ ।
गृह स्रोतका अनुसार गृहमन्त्रीले कोही नफसोस् र कोही दोषीले उन्मुक्ति नपाओस् भन्दै अनुसन्धानमा अगाडि बढ्न निर्देशन दिए । घटनाको छानविन कसरी अगाडि बढाउने भन्नेबारे आइजीपी सर्वेन्द्र खनालसँग गृहमन्त्री थापाले छलफल गरेका हुन् । उनले घटनाबारे प्रारम्भिक जानकारी लिएपछि महराको संलग्नता छ वा छैन भन्नेबारे समेत प्रारम्भिक जानकारी लिएको बुझिएको छ ।
प्रहरी स्रोतका अनुसार बादलले आइजीपी खनाललाई घटनाको निष्पक्ष छानविनका लागि कुनै दबाब नसुन्न निर्देशन दिएका छन् । गल्ती गर्ने आफ्नै भाईलाई समेत नछाडेको उदाहरण दिंदै बादलले दोषी भए महराले पनि उन्मुक्ति नपाउने तर उनलाई फसाइएको भए त्यसबारे समेत गम्भीरतापूर्वक छानविन गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्रीको निर्देशनलगत्तै प्रहरीले अनुसन्धानलाई गति दिइसकेको छ । अब यो घटना प्रहरीको अनुसन्धानको दायराभित्र परेको छ । घटनास्थलको सुरक्षा गरि सकिएको छ र घटनाबारे बाहिर आएको विषयलाई दृष्टिगत गरी प्रहरीको प्रारम्भिक अनुसन्धान अगाडि बढिसकेको छ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि संसद भवनकी कर्मचारीले लगाएको
जर्बजस्तीको आरोप मिडियाबाट बाहिर नआउँदै प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान अगाडि बढाइसकेको थियो । आइतबार साँझ घटना घटेलगत्तै पीडित भनिएकी महिलाले प्रहरी हटलाइनबाट टेलिफोन गरेकी थिइन् । त्यसका आधारमा प्रहरी त्यहाँ पुगेको बुझिएको छ । महिलालाई प्रहरीले किटानी जाहेरी दिन भनेपनि अस्वीकार गरेको प्रहरीको भनाई छ ।
तीनकुनेस्थित महिला बस्ने गरेको कोठाको प्रकृति अवलोकन गरिसकिएको छ । घटनास्थल भनिएको ठाउँको प्रमाणको सुरक्षा समेत गरिसकिएको बुझिएको छ । आइतबार साँझबाट प्रहरीको उच्च तहमा घटनाबारे सूचना पुगिसकेपनि घटना मिडियामार्फत् बाहिर आएपछि गम्भीर बन्यो । घटनास्थलमा भेटिएको चश्मा र जुत्ता पनि नियन्त्रणमा लिइएको बुझिएको छ ।
त्यबाहेक अन्य अवस्थाबारे समेत प्रारम्भिक बयान लिइएको छ । महिलाले आइतबार साँझ किटानी जाहेरी दिन नमानेको भनिएपनि मंगलबार दिने तयारी गरेकी छिन् । अब उनको स्वास्थ्य परीक्षण हुनेछ ।
प्रतिक्रिया