प्राविधिक शिक्षालयबाट प्रदेश सरकारको काम : विद्यार्थी समस्यामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २२, २०७९
|
|
२१ पटक हेरिएको
Shares
प्राविधिक शिक्षालयबाट प्रदेश सरकारको काम : विद्यार्थी समस्यामा

सारांश

  • लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि त्यहाँ अध्ययनरत विद्यार्थी समस्यामा परेका छन् ।
  • राजधानी बुटवलबाट देउखुरी सार्दा प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन प्रयोग गरेको छ ।
  • जसका कारण त्यहाँ अध्ययनरत झन्डै एक हजार प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थी समस्यामा परेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि त्यहाँ अध्ययनरत विद्यार्थी समस्यामा परेका छन् ।

राजधानी बुटवलबाट देउखुरी सार्दा प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन प्रयोग गरेको छ । जसका कारण त्यहाँ अध्ययनरत झन्डै एक हजार प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थी समस्यामा परेका हुन् ।

केही हप्ताअघि प्रदेश सरकारले लालमटियामा रहेको प्राविधिक शिक्षालयको भवनबाटै आफ्नो काम गर्न थालिसकेको छ । गत आइतबार शपथ भएर सोमबारबाट प्रदेशसभा अधिवेशन पनि सुरु भइसकेको छ ।

दुई वर्षअघि २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । त्यसपछि राप्ती प्राविधिक शिक्षालयमा राजधानीका पूर्वाधार बनाउने निर्णय भयो ।

राजधानीको संरचना रहने भएपछि तीन दशकअघि लालमटियामा स्थापित राप्ती प्राविधिक शिक्षालय गढवा गाउँपालिका ३ मा ल्याइएको हो । गत तिहार र छठपछि शिक्षालयले आफ्नो कक्षा यहीँबाट चलाएको छ ।

व्यवस्थित संरचनाबाट नयाँ ठाउँमा आउँदा शिक्षालयका विद्यार्थीहरूले असहज मानिरहेका छन् । राप्ती प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रुकुमका अनिलकुमार बुढाथोकीले नयाँ ठाउँमा प्राक्टिकल गर्न समस्या रहेको बताउनुभयो । “झन्डै तीन वर्ष त्यहाँ बसियो । अहिले यता आइएको छ । सबै संरचना बनिसकेको छैन”– उहाँले भन्नुभयो, “त्यहाँ विषय अनुसारको संरचना सेट भइसकेको थियो । त्यसै आधारमा हामीले प्राक्टिकल गर्थ्यौँ । अब प्राक्टिकल गर्न समस्या छ ।”

लालमटियामा पूर्वपश्चिम राजमार्ग सामुन्ने नै प्राविधिक शिक्षालय रहेको थियो । अहिले स्थानान्तरण भएको ठाउँ राजमार्गबाट अलि दक्षिण पर्दछ । लालमटियाबाट राजमार्ग हुँदै पाँच किलोमिटर पश्चिम गएपछि सिसहनिया बजार आउँछ । सिसहनिया बजारबाट राजमार्ग छोडेर दक्षिण लागि सात किलोमिटर दूरीमा शिक्षालय आउँछ ।

यहाँ आउन नेपालकै दोस्रो लामो राप्ती पुल तर्नुपर्दछ । ग्रामीण क्षेत्र भएकाले गढवाका घरहरू व्यावसायिक प्रायोजनमा लगाउने गरी बनाइएका छैनन् । राजमार्ग क्षेत्रबाट तुलनात्मक रूपमा पर र ग्रामीण क्षेत्रमा आउँदा कोठाको पनि समस्या रहेको डिप्लोमा इन इन्जिनियरिङ छैटौँ सेमेष्टरकी एलिना पोखरेलले बताउनुभयो ।

“राजमार्गबाट टाढा भएकाले केही गाह्रो भयो । सुरुमा त स्कुल बसमा आउने जाने गर्थ्यौँ, अहिले यतै बस्न थालेका हौँ”– उहाँले भन्नुभयो, “उताभन्दा यता बसाइ अलि असजिलो छ । कोठाका साइज उताभन्दा सानो, पानी, बाथरुमको अलि समस्या भयो ।”

लालमटियामा प्रदेश सरकार र प्रदेशसभाले काम सुरु गरिसक्दा यता गढवामा शिक्षालयका सबै सामान सेटअप भइसकेका थिएनन् । राप्ती प्राविधिक शिक्षालयका प्रमुख शालिकराम डाँगीले अहिले सामान व्यवस्थापन भइरहेकाले अबको दुई महिनामा संरचना तयार हुने बताउनुभयो ।

“कक्षाकोठा र कार्यालय सेटिङ भइसकेको छ । केही मिलाउन बाँकी छ । आउन बित्तिकै प्रयोगात्मकको लागि वर्कसप र क्वार्टर अपुग थियो”– उहाँले भन्नुभयो, “वर्कसप लगभग बनिसकेको छ । क्वार्टर बन्ने क्रममा छ । व्यवस्थित गर्न समय लाग्ला ।” डाँगीले पठनपाठनलाई प्रभाव नपर्ने गरी मर्मत र सेटअपको काम भइरहेको बताउनुभयो ।

२०५० सालमा स्थापित राप्ती प्राविधिक शिक्षालयमा अहिले ७९२ विद्यार्थी अध्ययन गर्न सक्ने क्षमता छ । कोरोनाका कारण बीचमा परीक्षा नियमित नहुँदा हाल एक हजारभन्दा बढी विद्यार्थी छन् ।

शिक्षालयमा कृषि, सिभिल इन्जिनियरिङ र स्वास्थ्यका प्राविधिकतर्फ नौ वटा कार्यक्रम छन् । जसमध्ये ६ वटा डिप्लोमाका र तीन वटा प्री–डिप्लोमाका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको शिक्षालय प्रमुख डाँगीले जानकारी दिनुभयो ।

राप्ती प्राविधिक शिक्षालय सिटिइभिटीइको आङ्गिक शैक्षिक संस्था हो । शिक्षालयको स्थानान्तरका लागि प्रदेश सरकारले खर्च बेहोरेको छ । गढवा गाउँपालिका–३ मा सरस्वती माध्यमिक विद्यालयको नाममा १८ बिघा जग्गा रहेको छ । अहिले सबै जग्गा विद्यालयको नाममा रहे पनि सङ्घीय शिक्षा मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट राप्ती प्राविधिक शिक्षालयले १४ विघा जग्गाको भोगाधिकार पाएको छ ।

विद्यालयले चार विघा जग्गा उपयोग गरेको छ । सरस्वती मावि भवन प्राविधिक शिक्षालयले उपयोग गरेपछि गाउँपालिकाले बनाएको अस्थायी भवनमा विद्यालय सञ्चालन भएको छ । स्थायी भवन निर्माण पनि सुरु भएको छ ।

शिक्षालय प्रमुख शालिकराम डाँगीले नयाँ गुरुयोजना पनि बनेकाले केही वर्षमा गढवामा लालमटियाको भन्दा आधुनिक र व्यवस्थित संरचना बन्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढुंगाले च्यापेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते
ढुंगाले च्यापेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस र ट्रक ठोक्किदा दुईजनाको मृत्यु, ३२ घाइते
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस र ट्रक ठोक्किदा दुईजनाको मृत्यु, ३२ घाइते
सम्झनाको बलात्कार गरी हत्या गर्ने बोहर कोरोना भई अस्पतालमा राखिदा फरार
सम्झनाको बलात्कार गरी हत्या गर्ने बोहर कोरोना भई अस्पतालमा राखिदा फरार
टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ
टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
न्यायपरिषद्लाई नेपाल बारको चेतावनीः यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौं
न्यायपरिषद्लाई नेपाल बारको चेतावनीः यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौं
मलेसिया मा बस दुर्घटना मा नेपाली को मृत्यु । मलेसिया दूतावास नै बेखबर (फोटो सहित)
मलेसिया मा बस दुर्घटना मा नेपाली को मृत्यु । मलेसिया दूतावास नै बेखबर (फोटो सहित)
आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु
आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु
यौन दुरव्यवहारको आरोप लागेका  साहित्यकार चेतन भगतले यस्ताे लेखे
यौन दुरव्यवहारको आरोप लागेका साहित्यकार चेतन भगतले यस्ताे लेखे
कोरोना भ्याक्सिन निर्माता नोभाभ्याक्सलाई १.६ अर्ब डलर
कोरोना भ्याक्सिन निर्माता नोभाभ्याक्सलाई १.६ अर्ब डलर

तपाईंले छुटाउनुभयो कि?