फेसबुकको मायापिरेमले लियो यसरी श्रीमानकै ज्यान
सारांश
- विष्णुकुमार आले काठमाडौं, २१ भदौ ।
- भदौ १८ गते सोमबार सन्धिखर्क नगरपालिका १२ बस्यालटोला नजिकै बोरामा फालेको अवस्थामा एउटा शव भेटियो ।
- उक्त शवको यतिबेला पहिचान भएको छ ।
विष्णुकुमार आले
काठमाडौं, २१ भदौ । भदौ १८ गते सोमबार सन्धिखर्क नगरपालिका १२ बस्यालटोला नजिकै बोरामा फालेको अवस्थामा एउटा शव भेटियो । उक्त शवको यतिबेला पहिचान भएको छ । सन्धिखर्क– १२ बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको उक्त शव कपिलबस्तुको वाणगंगा नगरपालिका ७ धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको भएको पुष्टि भएको छ ।
डिभर्ना बस्याल टोलाका महिलाहरू घास काट्न गएको समयमा गन्ध आएपछि खोज्दै जाँदा स्थानीयहरूले अनुहारै नचिनिने अवस्थामा शव देखेका थिए । शव देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए । बेवारिसे शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । शव भेटिएको दुई दिनपछि कपिलवस्तुको वाणगंगा ७ धैरेनीडाँडा बस्ने धनबहादुरको शव हुन सक्ने भन्दै मंगलबार राति (१९ गते) उनका श्रीमती राधा घर्ती मगरले जिल्ला अस्पतालमा आएर शव हेरिन् ।
“मेरा श्रीमानको शव हैन” भन्दै राधा फर्किइन् । प्रहरीले फेरि पनि “राम्रोसँग हेर्नुस्, हुन सक्छ” भन्यो । “मेरो श्रीमानलाई मैले भन्दा अरु कसले चिन्न सक्छ ?” राधाले उल्टै प्रश्न गरिन् र उनी घर फर्किइन् ।
प्रहरीले फेरि राधालाई जिल्ला प्रहरी कार्यालयमा बोलायो । शवको बारेमा फेरि अनुसन्धान सुरु गरियो । प्रहरीसँग राधाले आफ्ना श्रीमानले घडी नलगाउने, कपाल अर्कै खालको भएको भनेर झुठो विवरण बताइन् । प्रहरीलाई शंका लाग्यो र राधालाई हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्ना प्रेमीले हत्या गरेको खुलासा गरिन् । हत्या गरेर बोरामा बाँधेर फालेको उनले स्वीकार गरेकी छन् ।
यसरी भयो अपराध
कपिलवस्तु वाणगंगा– ७ धैरेनीडाँडाका ३३ वर्षीया राधा घर्तीमगरका श्रीमान ३६ वर्षका धनबहादुर घर्तीमगर कामको सिलसिलामा बागलुङ गएका थिए । त्यही मौकामा भदौ १० गते राधाका प्रेमी रुकुम घर बताउने रमेश विक विदेशबाट राधाको घरमा आए । उनी त्यहाँ तीन दिन बसे । उनीहरु फेसबुकमा भेट भएर प्रेममा फसेका थिए ।
राधा, राधाकी आमा र रमेश तीन जना भएर कपिलवस्तुबाट अर्घाखाँची हिँडे । सन्धिखर्कबाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका १२ डिभर्नाको बस्याल टोला पुगे । उता, दशैँमा आउँछु भनेर बागलुङ गएका राधिकाका श्रीमान धनबहादुर घर्तीमगर अचानक घर फर्के । घरमा श्रीमतीलाई नदेखेपछि फोन गरे । फोनमा किन नभनी माइत गएको भनेर कुराकानी भयो । कुराकानीकै क्रममा वादविवाद पनि भयो । प्रहरीका अनुसार धनबहादुरले “तँ आउने कि म आऊँ ?” भनेपछि चर्काचर्की समेत भयो ।
राधाले “आउनु पर्दैन । म भोलि आउँछु” भनेपछि त्यतिकैमा कुराकानी टुंगियो । धनबहादुर १३ गते साँझ एक्कासी ससुराली डिभर्ना पुगे । ससुरालीमा आफ्नी श्रीमती अपरिचित मानिससँग देखेपछि उनीहरूबीच भनाभन सुरु भयो । भनाभनले उग्र रुप लिँदा त्यहीबीच धनबहादुरको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हत्या गरेर बोरामा बाँधेर जंगलमा फालेको राधा र उनको माइती परिवारले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरले बताए । धनबहादुरको हत्या भएको अर्को दिन राधा र रमेश बिहानै कपिलबस्तुतर्फ लागेका थिए । राधा वाणगंगा र रमेश आफ्नो सुटकेस समेत नलिएरै बनगाईबाट हिँडेको राधाले बताएकी छन् ।
राधिकाको बुबा, आमा र राधिकालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमै राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया