बलात्कारका घटनामा संवेदनहीनता -आश्चर्यजनक रिहा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, माघ १७ ।
  •  पर्याप्त प्रमाण र आधार हुँदाहँुदै ललितपुर जिल्ला अदालतले बलात्कार र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका आरोपितलाई साधारण तारिखमा रिहा गरेको खुलेको छ ।
  • ‘गोदामचौर–क’ संकेत दिई दर्ता गरिएको उक्त मुद्दाका ३ आरोपितलाई जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारिखमा छाड्न आदेश दिएको थियो ।

काठमाडौं, माघ १७ । पर्याप्त प्रमाण र आधार हुँदाहँुदै ललितपुर जिल्ला अदालतले बलात्कार र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका आरोपितलाई साधारण तारिखमा रिहा गरेको खुलेको छ । ‘गोदामचौर–क’ संकेत दिई दर्ता गरिएको उक्त मुद्दाका ३ आरोपितलाई जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारिखमा छाड्न आदेश दिएको थियो ।

‘कसले घटना घटाएको भन्ने प्रश्नमा पीडित पक्षका कानुन व्यवसायीहरू कसैले कुन प्रतिवादीप्रति भनी देखाइदिन सकेको पाइँदैन,’ आदेशमा भनिएको छ, ‘पीडितले समेत यी–यी व्यक्तिले करणी गरेको भनी लेखाइदिन सकेको देखिँदैन ।’ कान्तिपुरलाई मुद्दाको सम्पूर्ण मिसिल उपलब्ध गराउने जिल्ला अदालतस्रोतका अनुसार प्रहरी प्रतिवेदनमा उक्त घटनामा भएको आक्रमणको विस्तार र हुनुपर्नेजति प्रमाण उपलब्ध छ । उपचारका क्रममा होस खुलेपछि पीडित युवतीले दिएको किटानी जाहेरीमा प्रतिवादीहरूको नाम स्पष्ट रूपमा उल्लेख गरी आफूमाथि आक्रमण, मुख थुन्ने काम र ढुंगा प्रहार भएको उल्लेख गरेकी छन् । जाहेरीअनुसार पीडितमाथि सुरुमै ढुंगा प्रहार भएको देखिन्छ । त्यसपछि उनी बेहोस भइन् । जिल्ला सरकारी वकिल कार्यालयस्रोतले भन्यो, ‘बेहोस अवस्थामा उनले आफूमाथि क–कसले जबर्जस्ती गरे, थाहा पाउने कुरै भएन ।’

जिल्ला अदालतको आदेशबाट रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवर आश्चर्यजनक ढंगबाट साधारण तारिखमा रिहा भएका हुन् । तीनै जना पीडितका नजिकका छिमेकी हुन् भने विशालध्वज र पवन त अत्यन्त मिल्ने साथीसमेत हुन् ।

पीडितले घटनास्थलमा आक्रमण हुनासाथ ‘रघु–रघु’ भनी बोलाइएको र रघु सिलवाल आएको भनी किटानी दरखास्त दिएकी छन् । त्यसपछि भने टर्च बालेर ‘विशाल’ र ‘पवन’ भनेरसमेत बोलाइएको भनी विशालध्वज कार्की र पवन कुँवरको नाम किटेकी छन् । आरोपितहरूको वीर्य परीक्षणका लागि प्रहरीको विधिविज्ञान प्रयोगशाला पठाइएको छ । उक्त प्रतिवेदन नआउँदै जिल्ला अदालतले थुनछेक बहसपछि ‘हतार’ मा आरोपितहरूलाई तारेखमा रिहा गरेको देखिन्छ ।

आदेशमा आरोपितहरूलाई सामान्य तारेखमा रिहा गर्नुको अर्को आश्चर्यजनक आधारसमेत उल्लेख छ । ‘पीडितउपर परेको चोट आरोपितले प्रहार गरेको कारणबाट भन्ने देखिँदैन,’ जिल्ला अदालतले ‘ज्यान मार्ने प्रयास भएको तर तेस्रो पक्षको उपस्थितिले त्यो रोकिएको भन्ने सबुद प्रमाणबाट नदेखिएको’ ठम्याएको छ । बयानमा भने पीडित ‘गोदामचौर–क’ ले आफूमाथि प्रहार गर्ने व्यक्तिले ‘रघु–रघु’ भनी चिच्याएको र पछि मोबाइलको उज्यालोमा आफूमाथि आक्रमण गर्नेको अनुहार चिनेको बताएकी छन् । त्यतिले मात्रै प्रमाण नपुग्ने भएकाले अन्य व्यक्तिलाई समेत सामेल गराई चिन्न लगाउँदा पीडितले आरोपितहरूको पहिचानगरेकी थिइन् ।

न्यायाधीश दवाडीको थुनछेक आदेशमा लामो समयको अन्तरालपछि पीडित महिलाले आरोपितको नाम उल्लेख गरेको घटनालाई समेत शंकास्पद ढंगले हेरेका छन् । ‘पीडितले मुद्दाको अनुसन्धान क्रममा लामो समयको अन्तरालमा प्रतिवादीको संलग्नता देखाएका आधारमा,’ आदेशमा भनिएको छ, ‘थुनामा राखिरहनु न्यायसंगत नहुँदा पछि ठहरेबमोजिम हुने गरी तीनै जनालाई तारेखमा राखी पुर्पक्ष गर्नू ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?