गुण्डालाई नेताको साथ! नेतासहित पक्राउ
सारांश
- प्रहरी इन्काउन्टरमा मारिएका रुपन्देहीका मनोज पुनको आपराधिक क्रियाकलापमा नेतादेखि व्यवसायीहरूको साथ रहेको पाइएको छ ।
- अपराधमा संलग्न मनोज पुनलाई व्यापारीको हरेक सूचना पुर्याउने र रकम असुलीमा सहयोग गरेको तथ्य फेला पारेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसहित नेता तथा व्यवसायीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
- रुपन्देहीका तत्कालीन युवा संघका अध्यक्ष दुर्गा तिवारी, व्यापारी बलु पौडेललगायतको हत्याका मुख्य अभियुक्त मनोज पुनलाई सीधै सम्पर्क गरेर सूचना पुर्याएको प्रमाण फेला पारेपछि नेता तथा व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी इन्काउन्टरमा मारिएका रुपन्देहीका मनोज पुनको आपराधिक क्रियाकलापमा नेतादेखि व्यवसायीहरूको साथ रहेको पाइएको छ । अपराधमा संलग्न मनोज पुनलाई व्यापारीको हरेक सूचना पुर्याउने र रकम असुलीमा सहयोग गरेको तथ्य फेला पारेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसहित नेता तथा व्यवसायीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
रुपन्देहीका तत्कालीन युवा संघका अध्यक्ष दुर्गा तिवारी, व्यापारी बलु पौडेललगायतको हत्याका मुख्य अभियुक्त मनोज पुनलाई सीधै सम्पर्क गरेर सूचना पुर्याएको प्रमाण फेला पारेपछि नेता तथा व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । पुन झन्डै एक महिनाअघि प्रहरी इन्काउन्टरमा मारिएका
यी हुन् पक्राउ पर्ने
रुपन्देही देवदहका लेखनाथ न्यौपानेसहित बुटवल उपमहानगरपालिका वडा नं. ७ शिवनगरका उत्तम आचार्य, देवदह नगरपालिका वडा नं. ५ बस्ने तुल्सी न्यौपाने, स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ४ घर भई बुटवल बस्ने हरिप्रसाद श्रेष्ठ र देवदह नगरपालिका वडा नं. ६ बस्ने रोशन खड्का पक्राउ परेका छन् ।
लेखनाथ न्यौपाने माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी रुपन्देहीका अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्षसमेत भइसकेका थिए । तुल्सी न्यौपाने माओवादी केन्द्रका कार्यकर्ता हुन् । त्यसैगरी आचार्य एमालेनिकटको युथफोर्सको पूर्वनेता हुन् । श्रेष्ठ मदिरा व्यवसायी हुन् । श्रेष्ठले दुईजनाको हत्या गर्नका लागि रकम पुनलाई उपलब्ध गराएको प्रहरीले जनाएको छ । खड्का जग्गा व्यापारी हुन् ।
कसको के थियो भूमिका ?
लेखनाथ तथा तुल्सी न्यौपाने, रोशन खड्का र उत्तम आचार्यले रकम असुलीका लागि मनोज पुनसँग सम्पर्कमा रहेर विभिन्न भूमिका निर्वाह गरेको पाइएको प्रहरीले जनाएको छ । विभिन्न उद्योगी व्यवसायीको नाम पुनलाई दिने र यीमध्ये सात/आठजनाको हत्या गर्न सकेमा पैसा धेरै आएर सम्हाल्न पनि कठिन हुने स्थिति आउन सक्ने भन्दै पुनसँग संवाद गरेका छन् । उनीहरूले पुनको आपराधिक कामलाई सघाउने र पक्राउ परेकाहरूलाई छुटाउन राजनीतिक नेतृत्वमा दबाब दिनेदेखि रकम असुली गर्न नेता तथा व्यवसायीले दबाब दिँदै आएको खुलेको छ ।
माओवादीका नेताले यसरी पुर्याउँथे रिपोर्ट
छुट्टाछुट्टै गर्थे सम्पर्क
मनोज पुनको आपराधिक क्रियाकलापको अनुसन्धान गर्दै आएका रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले पक्राउ परेकाहरूबीच सहकार्य नभई पुनसँग छुट्टाछुट्टै सम्पर्कमा रहेर सघाउने गरेको पाइएको बताए । ‘पुनले विभिन्न डिर्पाटमेन्टहरू खडा गर्ने र ती विभिन्न व्यक्तिहरू सम्पर्कमा रहने, त्यही ग्रुपबाट आपराधिक जालो फस्टाएको पाइएको छ,’ उनले भने, ‘अझै केही छुटेका छन्, ती पनि पक्राउ पर्छन ।’
५०औँ करोड पैसा कहाँ गयो, अनुत्तरित
अपराधको अनुसन्धान गरिरहेका एसपी ज्ञवालीले पुनको समूहबाट ५०औँ करोड रकम उठेको हुन सक्ने बताए । उनी भन्छन्, ‘५०औँ करोडभन्दा बढी रकम गयो भन्ने लाग्छ, तर कहाँ गयो भन्ने अनुत्तरित छ, रकम बुझाउनेहरूले को–कोमार्फत कति रकम दिनुभयो, त्यो गोप्य रूपमा जानकारी गराउनुभयो भने तथ्य खुल्ने र डम्प भएको रकम राज्यले लिन पनि सक्ने थियो ।’
रसियन महिलालाई भारत पुर्याउने गरेको आशंका
प्रहरीले माओवादी नेता नेखनाथ न्यौपानेको रसियन महिलाहरूलाई नेपालको बाटो हुँदै भारत पुर्याउने भूमिकामा समेत संलग्नता रहेको आशंका गरेको छ । मनोज पुन भारतमा रहँदा त्यहाँका आपराधिक समूहका नाइके योगेन्द्र सिंहसँग सम्पर्कमा रहेको प्रहरीको भनाइ छ । सिंहसँग न्यौपानेको सीधा सम्पर्क रहेको प्रहरीको आशंका छ । भारतमा रहँदा पुन पनि रसियन युवतीसँग समेत बस्ने गरेको र सिंहसँग रसियन महिला पुग्ने गरेको आशंका प्रहरीको छ । सिंहसँग पुग्ने रसियन महिलाहरू नेपालको बाटो जान न्यौपानेले सहयोगी भूमिका खेलेको प्रहरीको भनाइ छ । एसपी ज्ञवालीले यस्ता अपराधमा केही भारतीय नागरिकको समेत संलग्नता रहेको हुन सक्ने बताए ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया