बाजुरा, हुम्लामा लेकाली बस्ती सेताम्मे, एक फिटसम्म हिउँ
सारांश
- काठमाडौं ।
- बाजुरा, हुम्ला लगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ ।
- पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म उच्च पहाडी तीन पटक हिमपात भएको हो ।
काठमाडौं । बाजुरा, हुम्ला लगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म उच्च पहाडी तीन पटक हिमपात भएको हो । पुसमा मात्र दुई पटक हिमपात भएको थियो ।
हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ । सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण बाजुरा, हुम्ला लगायतका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । हिमपात एकाएक भएको हो ।
मध्यरात एकाएक मौसम बदली भएर हिमपात भएको हो । बाजुराका हिमाली गाउँपालिकाको रुगीन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन, बडीमालिकाको डम्कने, रजातोली, जुगाडासहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ ।
सदरमुकाम मार्तडीलगायतका तल्लो क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ भने सदरमुकाम नजिकैका बस्तीमा हिमपात भएको छ । हिमपात हुने क्रम अझै जारी छ । हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानीयवासीले बताएका छन् । सदरमुकाम मार्तडीका पसलहरू फाट्टफुट्ट खुलेका छन् ।
सदरमुकाम आसपासको जङ्गलमा झण्डै आधा फिट हिउँ जमेको छ । यहाँका मानिस घरमा आगो तापेर बसेका छन् । हिमपातले सबैभन्दा जिल्लाको उच्च भेगको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।
हुम्लामा सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।
सिमकोटमा एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावतसमेत बन्द भएको छ ।
प्रतिक्रिया