बालविवाह रोक्दै तमानखोला गाउँपालिका !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
३९ पटक हेरिएको
Shares
बालविवाह रोक्दै तमानखोला गाउँपालिका !

सारांश

  • बागलुङ, १६ साउन ।
  • तमानखोला गाउँपालिकाले पछिल्लो तीन महिनामा भएका आठ बालविवाह बदर गरेको छ ।
  • कानून विपरीत भएका बालविवाह रोक्न गाउँपालिकाले अभियान थालेको हो ।

बागलुङ, १६ साउन । तमानखोला गाउँपालिकाले पछिल्लो तीन महिनामा भएका आठ बालविवाह बदर गरेको छ । कानून विपरीत भएका बालविवाह रोक्न गाउँपालिकाले अभियान थालेको हो । गाउँपालिका– १, २, ३ र ५ वडाका खुङखानी, बोङखानी, हिले, खोलेसवाङ र पहिरा गाउँमा भएका बालविवाह बदर गरिएको गाउँपालिकाले जनाएको छ । बालविवाह हुनै नदिने र भएका भएपनि त्यसलाई बदर गर्न अभियान चलाइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । अभियानमा छलफल, सचेतनाका लागि वृत्तचित्र, नाटक प्रदर्शन गर्ने गरिएको छ । ‘घरघरमै पुगेर अभिभावक र बालबालिकालाईसँगै राखेर परामर्श दिने गर्छौं,’ अध्यक्ष बुढाले भन्नुभयो, “पहिले बालविवाह रोक्न कठिन थियो, तर अहिले अभियान सफल बनेको छ ।”

तमानखोला गाउँपालिकाका अधिकांश वडामा बालविवाह सामाजिक समस्याको रुपमा रहिआएको छ । विद्यालय उमेरमै भागेर विवाह गर्ने पुरानो प्रवृत्ति अहिले पनि रहेको गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक मानसरी शेरचनले बताए। पछिल्लो समय बालविवाह भएको या हुन लागेको सूचना पाउने वित्तिकै गाउँपालिकाले त्यसलाई रोकेको उनको भनाइ छ । गाउँपालिकाले गतवर्ष बनाएको बालविवाह सम्बन्धी वृत्तचित्रले गाउँमा सचेतना बढाउन ठूलो सघाउ पु¥याएको छ । वृत्तचित्रमा बालविवाहबाट समस्या झेलेका व्यक्तिका कथा र त्यसले समाजमा पार्ने असरलाई जीवन्त ढंगले उठान गरिएको छ । बालविवाह गरी छुट्टिन नमान्ने जोडीलाई अधिकारकर्मी र स्वास्थ्यकर्मीले परामर्श समेत दिने गरेका छन् ।

व्यक्तिगत, पारिवारिक, सामाजिक जीवन र स्वास्थ्यमा पुग्ने असरका बारेमा सचेत पारेपछि बालविवाह रोक्न अभिभावक र बालबालिका सहमत बन्न थालेका हुन् । विद्यालय उमरेका किशोरकिशोरीले प्रदर्शन गर्ने बालविवाह सम्बन्धी सचेतनामूलक नाटकले पनि बालविवाह न्यूनीकरणमा टेवा पुगेको छ । गाउँपालिका अध्यक्ष बुढाले भने, “बालविवाहमुक्त गाउँपालिका बनाउने हाम्रो लक्ष्य छ ।” गरीबी, अशिक्षा, सचेतना अभाव जस्ता कारणले दुर्गम गाउँमा बालविवाह बढी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?