बुटवल उप–महानगरपालिको बजेट एक अर्ब ६३ करोड
सारांश
- आचार्य प्रदीप बुटवल, १३ भदौ ।
- बुटवल उप–महानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि एक अर्ब ६३ करोडको बजेट तय गरेको छ ।
- नगरसभाले चालु आर्थिक वर्षका लागि एक अर्ब ६३ करोड ३५ लाख ७८ हजार ८ सय ५ रूपैयाँको बजेट पारित गरेको हो ।
आचार्य प्रदीप बुटवल, १३ भदौ । बुटवल उप–महानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि एक अर्ब ६३ करोडको बजेट तय गरेको छ । नगरसभाले चालु आर्थिक वर्षका लागि एक अर्ब ६३ करोड ३५ लाख ७८ हजार ८ सय ५ रूपैयाँको बजेट पारित गरेको हो । आइतबारको नगरसभा बैठकमा नगर प्रमुख शिवराज सुवेदीले बजेट प्रस्तुत गरेका थिए ।
बजेट प्रस्तुत गर्दै प्रमुख सुवेदीले नगरबासीको विकासको चाहनालाई साधन र स्रोतले भ्याएसम्म समेट्ने प्रयास गरिएको बताए । बजेटमा आन्तरिक स्रोत तर्फबाट २३ करोड ७२ लाख ६३ हजार ९ सय ६५ अर्थात् १४ दशमलव ५२ प्रतिशत र बाह्य स्रोतबाट एक अर्ब ३९ करोड ६३ लाख १४ हजार ८ सय ४० रूपैयाँ अर्थात् ८५ दशमलव ४८ प्रतिशत प्राप्त हुने उल्लेख छ । बजेटमा चालु खर्चतर्फ २९ करोड ६१ लाख ५६ हजार रूपैंया छुट्याइएको छ । यो कुल बजेटको १८ दशमलव १३ प्रतिशत हो । यस्तै पूर्वाधर तथा सामाजिक विकासका लागि कुल एक अर्ब ३३ करोड ७४ लाख २२ हजार ८ सय ५ रूपैयाँ विनियोजन गरिएको छ ।
यो कुल बजेटको ८१ दशमलव ८७ प्रतिशत हो । चालु खर्चतर्फको बजेट मध्येबाट कर्मचारी तलब भत्ता तथा कार्यालय संचालनका लागि १५ करोड ६६ लाख ५६ हजार रूपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्तामा १३ करोड ३५ लाख छुट्याइएको छ भने क्षमता विकास कार्यक्रमका लागि ६० लाख विनियोजन गरिएको छ । बजेटमा पूर्वाधार विकास तथा सामाजिक विकास कार्यक्रमका लागि विनियोजन गरिएको कुल बजेटको मध्ये क्रमागत केन्द्रीय तथा नगर स्तरीय योजना कार्यक्रमका लागि एक अर्ब २५ करोड ७२ लाख ९७ हजार ८ सय ५ रूपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सामाजिक विकास तथा अन्य लक्षित विकास कार्यक्रमहरूका लागि कुल ८ करोड १२ लाख ५ हजार रूपैयाँ विनियोजन गरिएको छ ।
सामाजिक विकास कार्यक्रम अन्तर्गत् महिला विकास कार्यक्रमका लागि एक करोड ५ लाख रूपैयाँ निर्धारण गरिएको छ । यसैगरी युवा तथा बालबालिका विकास कार्यक्रमका लागि सामाजिक विकासतर्फकै बजेटबाट कुल ४ करोड ४६ लाख विनियोजन गरिएको छ । यस्तै अन्य लक्षित विकास कार्यक्रमका लागि २ करोड ५० लाख २५ हजार विनियोजन गरिएको छ । साउन ३२ बाट सुरु भएको नगरसभा बैठक अर्थ विधेयक र विनियोजन विधेयक पारित गरेसँगै सकिएको नगर कार्यपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया