बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ३, २०७६
|
|
१७ पटक हेरिएको
Shares
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई

सारांश

  • बर्मा नेपालीसँग पुरानो साइनो जोडिएको मुलुक हो ।
  • कुनै समय नेपालका पहाडी भूभागबाट लावालस्कर सहित बर्माका खेतीयोग्य भूमिमा बसाई जाने चलन थियो ।
  • तर सैनिक शासनको उदयसँगै यो क्रम लगभग रोकियो नै त्यहाँ रहेका धेरै नेपाली पुर्खाको भूमि नेपाल फर्किए ।

बर्मा नेपालीसँग पुरानो साइनो जोडिएको मुलुक हो । कुनै समय नेपालका पहाडी भूभागबाट लावालस्कर सहित बर्माका खेतीयोग्य भूमिमा बसाई जाने चलन थियो । तर सैनिक शासनको उदयसँगै यो क्रम लगभग रोकियो नै त्यहाँ रहेका धेरै नेपाली पुर्खाको भूमि नेपाल फर्किए । तर अझै पनि बर्मामा धेरै नेपालीको स्थायी बसोबास रहेको छ ।

विभिन्न आँकडा अनुसार त्यहाँ करिब २ लाख नेपालीभाषीको बसोबास रहेको अनुमान गरिन्छ । पुरानो बर्मा र हाल म्यानमार भनिने यो देश बौद्ध धर्मावलम्वीको बाहुल्यता भएको देश हो । थेरवाद बौद्धमार्गीको बाहुल्यता भएको बर्मासँग बौद्ध इतिहासको लामो सम्बन्ध छ । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेदेखि यो मुलुकमा बौद्ध धर्म पुगेको थियो ।

बुद्धको शरणमा सबैभन्दा पहिला जाने पनि दुई बर्मेली व्यापारी थिए । तपस्सु र भल्लुक नाम गरेका दुई दाजुभाई बुद्धको शरणमा जाँदा संघको स्थापना समेत भएको थिएन । बुद्धले यी दुई बर्मेली दाजुभाईलाई चिन्हका रुपमा आफ्नो एकमुट्ठी कपाल दिएका थिए । बुद्धको कपाल लिनु अघि तपस्सु र भल्लुकले बुद्धलाई सातु र महको भोजन दान गरेका थिए ।

बर्मामा बौद्ध धर्मावलम्वीले बुद्ध स्वयम् बर्मा पुगेको विश्वास गर्छन् । बोधिज्ञान प्राप्त गरेको तीन महिना पाँच दिनपछि बुद्ध बर्मा पुगेको मानिन्छ । गौतम बुद्ध आफ्नो जीवनकालमै बर्मा पुगेको यस्तो भनाईलाई आधार मान्दा त्यहाँ बौद्ध धर्मको इतिहास गौतम बुद्ध जत्तिकै पुरानो छ । ऐतिहासिक अभिलेखले भने सम्राट अशोकको शासनकालमा बौद्ध धर्म बर्मा पुगेको देखिन्छ ।

थेरवादी परम्परा अनुसार बर्मामा पाँचौ र छैटौ संगायना भएको थियो । सन् १८७१ मा भएको पाँचौ संगायनाकै क्रममा सम्पुर्ण त्रिपिटक संगमरमरमा कुँदिएको थियो । नेपालमा थेरवादी बौद्ध धर्मको स्थापना, प्रचार र प्रचारमा पनि बर्माको महत्वपूर्ण योगदान रहेको छ । नेपालका सुरुआती समयका प्रमुख भिक्षु र भिक्षुणीले बर्मामै बौद्ध धर्मको अध्ययन गरेका थिए । बर्मामा अध्ययन गर्नेहरुको सबैभन्दा ठूलो उद्धाहरण धम्मावती गुरुमा हुन् । अहिले पनि बर्मामा गएर बौद्ध धर्मको अध्ययन गर्ने परम्परा कायम छ । बर्मामा करिब ८० प्रतिशत बौद्ध धर्मावलम्बी रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?