‘बैशाखी उठाए पनि मान्छे चाहीँ नमारेस है’

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
‘बैशाखी उठाए पनि मान्छे चाहीँ नमारेस है’

सारांश

  • काठमाडौँ, १४ असोज ।
  • एउटा भर्खरै विद्यालय पढ्दै गरेको बालक जो जनयुद्धमा होमिन्छ ।
  • पहिले किताब र झोलामा रमाउने उसलाई विस्तारै बैशाखी (बन्दुक) सर्वप्रिय लाग्न थाल्छ ।

काठमाडौँ, १४ असोज । एउटा भर्खरै विद्यालय पढ्दै गरेको बालक जो जनयुद्धमा होमिन्छ । पहिले किताब र झोलामा रमाउने उसलाई विस्तारै बैशाखी (बन्दुक) सर्वप्रिय लाग्न थाल्छ । अर्को पात्र जो देशको मुहार फेर्न भनी क्रान्तीको बाटो रोज्छ । तर उसका बाआमा आफ्नो सन्तानको निर्णयले दुःखी हुन्छन् । उनीहरु कोशिस गर्छन् छोरालाई रोक्ने तर छोरा आफ्नो निर्णयमा दृढ हुन्छ । कसै गरेर पनि रोक्न नसकेपछि निस्कने बेला आमा भन्छिन्, ‘बाबु सुन् त, बैशाखी उठाए पनि मान्छे चाहीँ नमारेस है ।’

दशवर्षे माओवादी जनयुद्धमा होमिएका योद्धाहरुको कथा बोकेको नाटक ‘जनयुद्ध जारी छ ?’ मा उनीहरुले देखेका सपना र भागेको यथार्थको चित्रण गरिएको छ । नाटकले जनयुद्धमा योद्धाले गरेको बलिदान बापत के पाए भन्ने गम्भिर प्रश्न खडा गरेको छ ।

राजधानी स्थित सर्वनाम नाटकघरमा जारी नाटक ‘जनयुद्ध जारी छ ?’ मा नेपाली समाजले व्यहोरेको दश वर्षे माओवादी जनयुद्धलाई कलात्मक रुपमा चित्रण गरिएको छ । राज शाहको लेखन तथा निर्देशन रहेको नाटक नेपाली नाट्य क्षेत्रमा आफैमा एउटा नयाँ प्रयोग हो । जनयुद्ध जस्तो हिंसात्मक घटनालाई उनले कलाको लेपन लगाएर सुन्दर ढङ्गले मञ्चमा उतारेका छन् । धेरै कुराहरुलाई सांकेतिक रुपमा प्रयोग गरिएको नाटकमा बन्दुकको रुपमा बैशाखीको प्रयोग गरिएको छ ।

प्रष्ट युद्ध र अन्य हिंसात्मक दृष्य नदेखाइए पनि दर्शकका मनमा भने यसले ठूलै तरङ्ग ल्याएको देखिन्छ । रंगमञ्चका नयाँ दर्शकका लागि यो केही जटिल मानिए पनि नियमीत दर्शक र कलाका पारखीका लागि नाटक ‘जनयुद्ध जारी छ ?’ राम्रो खुराक हुन सक्छ । जनयुद्ध आफैमा गम्भीर विषय रहेको र यसमा नाटक लेख्नु र मञ्चन गर्नु आफैमा चुनौतिको पहाड उक्लनु जस्तो रहेको निर्देशक शाहको भनाइ छ । ‘मेरो विचारमा जनयुद्ध विचार र हतियारको मात्र लडाइ होइन यो भावना र सपनाको लडाइ पनि हो ।’ उनले भने ‘जनयुद्धले देशमा के परिवर्तन ल्यायो वा ल्याएन आफैमा समीक्षाको विषय बन्ला तर जनयुद्धमा सहभागी योद्धाहरुको जीवनमा के वित्यो भन्ने कुरा पनि महत्वपुर्ण छ जस्तो लाग्छ ।’

नेपाली समाजका मौलिक कथामा कलम चलाउन र त्यसलाई मञ्चमा उतार्न रुचाउने निर्देशक तथा लेखक राज शाहको यो तेस्रो नाटक हो । यस अघि उनका ‘जिम्दा सपना’ र ‘बुख्याँचा मन’ नाटक मञ्चन भैसकेका छन् । उनको जिम्दा सपनाले विदेशीएका नेपालीको कथा बोकेको थियो भने बुख्याँचा मनले समाजमा रहेको वर्गीय तथा जातिय भेदभावको मुद्दा उठान गरेको थियो ।

नाटक ‘जनयुद्ध जारी छ ?’ मा लेखक तथा निर्देशक शाह सहित सुजिता अधिकारी, शर्मिला नगरकोटी, सुदर्शन अर्याल, मनोज महर्जन, इन्द्रबहादुर चौधरी, मुकेश हमाल, पासलाक्पा शेर्पा, धिरज थापा मगर, कृष्ण खड्का, शोभा लिम्बु, आशिष काफ्ले मोहन श्रेष्ठ र नमराज पराजुलीको अभिनय रहेको छ । त्यस्तै प्रकाश परिकल्पना आदित्य शर्मा र रुपेन्द्र शिवाकोटीको रहको छ ।

असोज ५ देखि मञ्चन भैरहेको नाटक जनयुद्ध जारी छ ? असोज २१ सम्म मञ्चन हुनेछ । नाटक विहिबार बाहेक हरेक दिन साँझ ५ः१५ मा मञ्चन हुनेछ भने अतिरिक्त शो शुक्रबार, शनिबार र आइतबार दिउँसो १ बजे पनि हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?