भारतबाट आउने विजुलीमा कटौती, हिउँदमा लोडसेडिङको संभावना
सारांश
- काठमाडौं, मंसिर ११।
- भारतबाट आयात हुने विद्युत् कटौती भएसँगै हिउँदका लागि लोडसेडिङको संभवना देखिएको छ।
- भारतीय सर्वोच्च अदालतको फैसलासँगै दुई नाका हुँदै नेपाल आयात हुने ५५ मेगावाट विद्युत् कटौती भएपछि डिसेम्बरदेखि नै विद्युत् आपूर्ति व्यवस्थापन गर्न कठिन हुने देखिएको हो।
काठमाडौं, मंसिर ११। भारतबाट आयात हुने विद्युत् कटौती भएसँगै हिउँदका लागि लोडसेडिङको संभवना देखिएको छ। भारतीय सर्वोच्च अदालतको फैसलासँगै दुई नाका हुँदै नेपाल आयात हुने ५५ मेगावाट विद्युत् कटौती भएपछि डिसेम्बरदेखि नै विद्युत् आपूर्ति व्यवस्थापन गर्न कठिन हुने देखिएको हो। भारतको सर्वोच्च अदालतले पेट्रोकोक र फर्निस आयलबाट उत्पादित विद्युतमा प्रतिबन्ध लगाएपछि ढल्केबर–मुजफ्फरपुरबाट आयात हुने २५ र टनकपुरबाट आयात हुने ३० मेगावाट बन्द भएको छ।
भारतको टनकपुरबाट आयात हुने विद्युत् पीटीसीले र ढल्केबर–मुज्जफरपुरबाट आयात हुने बिजुली एनएनभीएनले पेट्रोकोक र फर्निस आयलबाट विद्युत् उत्पादन गर्ने श्री सिमेन्ट लिमिटेडबाट किनेर नेपाललाई दिँदै आएका थिए।
भारतबाट आयात हुने विद्युत् कटौती भएसँगै हिउँदका लागि नेपालमा विद्युत् आपूर्ति व्यवस्थापन गर्न कठिन हुने देखिएको छ।
डिसेम्बरदेखि पानीको बहाव घट्ने र विद्युत् माग बढ्दै जाने र अहिले कटौती भएको बिजुली भारतीय कम्पनीले दिन नसकेमा विद्युत् आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहने प्राधिकरणका अधिकारीहरू बताउँछन्।
नेपालमा निर्वाचनको कारण देखाउँदै प्राधिकरणको अनुरोधमा आगामी डिसेम्बरसम्मका लागि ढल्केबर–मुज्जफरपुरबाट १ सय ४५ मेगावाट सम्झौताको म्याद थपिएको छ भने निर्वाचनपछि सचिवस्तरीय बैठक बस्न नसकेमा डिसेम्बरपछि सो विद्युत् आयात समेत प्रभावित हुने देखिएको छ।
विद्युत् प्राधिकरणले आगामी हिउँदमा १४ सय मेगावाट माग पुग्ने तथा विद्युत् प्राधिकरणमार्फत ४ सय २० मेगावाट, निजी क्षेत्रको १ सय ६० मेगावाट र भारतबाट ४ सय ७० मेगावाट आयात गरी ११ सय मेगावाट आपूर्ति गरिने र ३ सय मेगावाट कम हुने प्रक्षेपण गरेको छ।
प्राधिकरणको यो तथ्यांकले आगामी हिउँद पनि लोडसेडिङमुक्त हुने देखिएको छ । तर, फेरि भारतीय सर्वोच्च अदालतको निर्णयसँगै थप विद्युत् आयातमा समस्या देखिएको छ । गत वर्ष प्राधिकरणले ३ सय ९९ मेगावाटसम्म विभिन्न नाकाबाट आयात गरेको थियो भने यस बर्ष त्यसलाई बढाएर ४७० मेगावाट पुर्याउने लक्ष्य छ।
टनकपुर सम्झौताबवापत नेपालले पाउने ७ करोड युनिट बिजुली हाल प्राधिकरणले आयात नगरी बढी माग हुने हिउँदमा आयात गर्ने लक्ष्य राखे पनि विद्युत् कटौती भएपछि हाल सो नाकाबाट १२ देखि १६ मेगावाट विद्युत् आयात गरेर तत्कालीन मागलाई व्यवस्थापन गरिरहेको अधिकारीले जानकारी दिए। उनका अनुसार गत वर्षभन्दा यो वर्ष कटैया–कुसाहा र रक्सौल–परवानीपुर प्रसारणलाइन निर्माण भएर ५०-५० मेगावाट थप भएपछि आपूर्ति व्यवस्थापन केही सहज भएको छ।
(कारोबार दैनिकबाट)
प्रतिक्रिया