भिडियो नै मनमोहक आफै पुग्दा कस्तो होला म्याग्दीको दग्नाम गाउँ ? (भिडियोसहित)
सारांश
- काठमाडौं, ८ भदौ ।
- म्याग्दीको धौलागिरी हिमालको काखमा रहेको दग्नाम गाउँ प्राकृतिकरुपमा निकै सुन्दर र हराभरा छ ।
- हिमालको छहारीमा लुकेको दग्नाम गाउँ प्राकृतिक रुपले मात्र हैन सुन्दर मानव बस्ती र त्यहाँको संस्कृति, चालचलनले पनि सुन्दर बनाएको छ ।
काठमाडौं, ८ भदौ । म्याग्दीको धौलागिरी हिमालको काखमा रहेको दग्नाम गाउँ प्राकृतिकरुपमा निकै सुन्दर र हराभरा छ । हिमालको छहारीमा लुकेको दग्नाम गाउँ प्राकृतिक रुपले मात्र हैन सुन्दर मानव बस्ती र त्यहाँको संस्कृति, चालचलनले पनि सुन्दर बनाएको छ ।
अगाडितिर सधैं मुसुक्क हाँसिरहेको अग्लो धौलागिरी हिमाल । त्यसको मुनि पहाड र पहाडको बीचमा सुन्दर बाक्लो बस्ती । भर्खरै मात्र उक्त गाउँलाई चिनारी दिन मगर्स क्रियसन कम्पनीको प्रस्तुतिमा “म्याग्दी भ्रमण वर्ष २०७” लाई मध्यनजर गर्दै एउटा अत्यन्तै मीठो चिरपरिचित धौलागिरिकै गायक गगन पुन र म्याग्देली चेली गीता पाइजाको मिठो स्वर अनि खिम गर्बुजा र नमुना गर्बुजाको शब्दमा म्युजिक भिडियो बजारमा ल्याइएको छ । उक्त म्युजिक भिडियोमा आँसु लामाको संगीत रहेको छ भने क्यामरामा करन चैसिरले साथ दिएका छन् । त्यसैगरी म्युजिक भिडियोलाइ पुष्कर बिबेक थापाले निर्देशन गरेका छन् ।
पूर्णतः धौलागिरि हिमाल अनि वरपर रहेका प्राकृतिक छटाका मनोरम दृश्यलाई फिल्माङ्कन गरिएको छ । बिशेषतः दग्नाम गाउँ, गाउँ वरपरको सुन्दरतालाई यसमा देखाउन खोजिएको छ । गीत सुन्दा र हेर्दा कति खेर त्यहाँ पुगौं जस्तो अनुभूति हुन्छ । गीतको शब्दमा नै दिएको छ “तल गैरी माझी र कान्छी गाउँ भन्दै” दग्नाम गाउँका सुन्दर चेलीहरु आफ्नो जातीय भेषमा सजिएर नाचेको देख्दा हामी पनि त्यो ठाउँ गएर सँगै नाचौंजस्तो हुन्छ । अझ लिसंखुको त्यो हिमालबाट बगेर झरेको धाराको चिसो पानी पिउन पाउँदा एकछिन त स्वर्गकै आभास दिलाउँछ ।
गुराँसको मौसममा त झन गाउँ नै पूरै रातै देख्दा त नेपाल पनि यस्तो छ र ? भन्ने हुन्छ । त्यहीं माथि हिमाल हाँसेको देख्दा त कुरै नगरम् । बेला बेलामा प्रकृतिसँगै सोरठी र झ्याउरे नाच्न पाउँदा त्यहाँका मानिसहरु आफैलाई भाग्यमानी ठान्दछन् ।
त्यहाँका चेलीहरुले हातमा थाली राखेर नाच्दा साँच्चै अचम्मित पारिदिन्छन् । मगर जातिको जनघनत्व रहेको यो गाउँमा अझै लाहुरे संस्कृति झल्केको देख्न सकिन्छ । लाहुरे घर फर्कदा गाउँमा सबै मिलेर अझै रोदी बसी रातभरि रमाइलो गर्ने चलन छ ।
दग्नाममा बिशेषगरी बैशाखमा नांगी देवी र जेठ महिनामा भूमे थानलाई पुज्ने गरिन्छ । यही अवसरमा लिङ्गो जुधाउने पर्व पनि धुमधामले मनाउने गरिन्छ । राजधानीबाट टाढाको दुरीमा रहे पनि दग्नाम आन्तरिक र बाह्य पर्यटकको लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ ।
भौगोलिक हिसाबले दुर्गम रहे तापनि प्राकृतिक हिसाबले यो ठाउँ संसारकै धनी रहेको छ । किनकि जोकोही पनि एकपल्ट त्यहाँ पुगेपछि फर्किन मन लगाउँदैनन् । किनकि त्यहाँका पाखा, पर्वत, देउराली, भञ्ज्याङ, चौतारी, झरना, खोला अनि त्यहाँका मानिसले गर्ने दैनिकीले बेस्सरी लोभ्याउँछ ।
भिडियो
प्रतिक्रिया