मन्त्रीका छाेरा रूबीकाे अवैध काराेबारमा !
सारांश
- उनको युट्युब च्यानलमा धादिङमा रहेको गणेश हिमालको माणिक (रुबी) को भिडियो छ।
- च्यानलमा १२ वटा भिडियो अपलोड भएका छन्।
- तीमध्ये १० वटा भिडियो यो बहुमुल्य खनिजको बिक्री वितरणका लागि ग्राहक खोज्न राखिएको विज्ञापन हो।
उनको युट्युब च्यानलमा धादिङमा रहेको गणेश हिमालको माणिक (रुबी) को भिडियो छ। च्यानलमा १२ वटा भिडियो अपलोड भएका छन्। तीमध्ये १० वटा भिडियो यो बहुमुल्य खनिजको बिक्री वितरणका लागि ग्राहक खोज्न राखिएको विज्ञापन हो। उनले भिडियोमा ‘बिक्रीका लागि’ भन्ने उल्लेख पनि त्यहीँ गरेका छन्।
प्रदेश-३ का भौतिक पूर्वाधारमन्त्री तथा नेकपाका नेता केशब स्थापितका छोरा अश्वेत स्थापितको नाममा खोलिएको च्यानलबाट बहुमुल्य खनिज धातु रुबीको व्यावसायिक प्रचारप्रसार यसरी भइरहेको हो। एकवर्ष अघि राखिएको भिडियोमा रुबीको कारोबारको आसयका साथ कतिपयले उनको ब्यक्तिगत नम्बरसमेत मागेको देखिन्छ।अश्वेतले च्यानलमा सार्वजनिक गरेका रुबीका तीनवटा भिडियोमा गणेश हिमालको रुबी कारोबारबारे उल्लेख गरेका हुन्। भिडियोमा ७ सय ३० ग्राम, आधा किलो र तौल उल्लेख नभएको गरी रुबीका तीनवटा परिणाम बिक्रीका लागि राखिएका छन्। तीनवटैमा यी रुबीको उत्पादन गणेश हिमालबाट भएको उल्लेख छ।
अबैध कारोबार
खानी तथा भूगर्भ विभागका अनुसार नेपालमा माणिक (रुबी) को उत्खन्नको अधिकार कसैलाई छैन। यदि कसैले उत्खनन् गरेर धातु वा खनिज निकाल्छ भने त्यो कार्य अबैध र गैरकानूनी हो। मन्त्रीपुत्र अश्वेतले गरिरहेको कारोबारबारे उनैसँग बुझ्न नेपालखबरले सम्पर्कको प्रयास गरेपनि सफल हुन सकेन।
विभागका प्रवक्ता वरिष्ठ इन्जिनियर कृष्णदेव झा धादिङको गणेश हिमाल वरपर नेपाल मेटल कम्पनीलाई जिङक उत्खन्नका लागि अनुमति पत्र दिईएको बताउँछन्। झा भन्छन्, ‘त्यसबाहेक सो क्षेत्रमा अन्य धातुको उत्खन्नका लागि अनुमति पत्र दिईएको छैन।’ झाको यो कथनले देखाउँछ, मन्त्रीपुत्र स्थापित रुबीको अबैध कारोबारमा संलग्न छन्।
‘गणेश हिमालको फेदीमा रुबी पाईन्छ भन्ने थाहा छ, कसैलाई उत्खन्नको अनुमति दिएका छैनौँ’ झाले भने, ‘विभागले यसबारेमा खोजतलास गरेको भने छैन।’ तर, मन्त्री स्थापित पुत्रलेमात्र होइन, अरुले समेत रुबीको अबैध कारोबार गरिरहेका छन्। र, राजधानीमा यतिबेला बहुमुल्य रुबीको अवैध कारोबार बैध शैलीमा चम्किएको छ।
‘नेपालमै अबैध उत्खनन भएको यो पत्थर काठमाडौँमा अबैध रुपमा विक्री वितरण हुने गरेको छ’ नाम उल्लेख गर्न नचाहने स्रोतले भन्यो, ‘यहाँका व्यवसायीले युरोप र अमेरिकामा यो पत्थर बेचबिखन गर्ने गरेको छ।’ आकारमा सानो र ओसारपसारमा सजिलो, अनि कानूनी सहुलियतका कारण यसको कारोबार सहज छ।
विभागका अनुसार गणेश हिमालको १४ हजार पाँच सय फिटमा सिसाको खनिज धाउ फेला परेपछि २०२४ देखि २०५० सम्म अनुसन्धान तथा खोजतलास भएको थियो। हाल सोही क्षेत्रमा नेपाल मेटल कम्पनीलाई उत्खननको अनुमति दिएपनि काम पुरै ठप्प छ।
नेपाल मेटल कम्पनी २०३३ मा सरकार, विडला समूह अन्तर्गतको हैदरावाद इन्डस्ट्रिज लिमिटेड (भारत), केके वामफोर्ड एन्ड कम्पनी लिमिटेड (हङकङ) र खेतान समूह अन्तर्गतको म्युचुअल ट्रेडिङ कम्पनी (नेपाल) को संयुक्त लगानीमा स्थापना भएको थियो।
धादिङमा उत्पादन, समुन्द्रपारि खपत
अन्तर्राष्ट्रिय जेम्स सोसाईटी र अमेरिकी जेम्स सोसाईटीको आधिकारिक वेबपेजमा उल्लेख भए अनुसार माणिक (रुबी) धातुको प्रति क्यारेट मुल्य एकलाख अमेरिकी डलरदेखि १ हजार अमेरिकी डलर (एक करोड देखि एकलाख रुपैयाँ) पर्छ। धातु तथा खनिजका अन्वेषक हरिभक्त उपाध्यायका अनुसार नेपालमा पाईने बहुमुल्य धातुको बजार समुन्द्रपार छ।
उनले आफ्ना पुस्तकमा दाबीका साथ केपनि भनेका छन् भने, नेपालमा माणिक (रुबी) को खानी छ र धादिङको गणेश हिमालमा माणिक (रुबी) पाईन्छ।’ धादिङको गणेश हिमाल क्षेत्रमा उपलब्ध माणिक (रुबी) काठमाडौँ भित्रिने र यहाँबाट युरोप र अमेरिका लगायतका देशमा जाने गरेको तथ्य बिस्तारै खुल्न थालेको पनि उनले उल्लेख गरेका छन्।
यो बहुमूल्य पत्थरको कारोबार अबैध हो भन्ने कुरा केही समययता बिक्री प्रयोजनका लागि रुबी पक्राउ पर्न थालेको घटनाले देखाउँछ। बैशाखयता प्रहरीले गरेका दुईवटा कारवाहीमा रिफाईन नभएको रुबीसहित कारोबारी पक्राउ गर्याे। १६ बैशाखमा ४६२ ग्राम (२३१० क्यारेट) रुबी सहित धादिङको निलकण्ठ नपा-४ का सूर्य तामाङ पक्राउ परेका थिए। तामाङ बा ४ ख ५८४६ नम्बरको माइक्रोबाट काठमाडौँ आउँदै थिए।
तामाङका साथबाट बरामद रातो पत्थर प्रहरीले परिक्षणका लागि खानी तथा भूगर्भ विभागमा पठाएको थियो। विभागले बरामद पत्थर रुबी रहेको प्रमाणित भइसकेको छ। ‘बरामद धातु रुबी हो, तर त्यसको उद्गम पत्ता लगाउन सकेका छैनौँ’ विभागका प्रवक्तासमेत रहेका झाले भने। तामाङलाई केही सार्वजनिक अपराध ऐन अनुसार केही दिन थुनामा राखेर छाडेको परिसरका डिएसपी मोहन थापाले बताए।
प्रहरीले आइतबार (२४ असार) मात्रै २२ लाख मुल्य तोकेको ११० क्यारेट माणिक (रुबी) किनबेचमा संलग्न ९ जनालाई काठमाडौँको ज्याठाबाट पक्राउ गरेको थियो। पक्राउ पर्नेमा जाजरकोटका पदमबहादुर थापा, अमृतकुमार बुढा, प्रदीपकुमार बोहोरा, हुम्लाका सरोज कार्की, बाँकेका जीवन शर्मा, गोरखाका सुमन तामाङ, रुकुमका मनोज बोहोरा, डोल्पाका भीम बोहरा र काठमाडौँ टोखाका राजाराम सिलवाल छन्।प्रहरीले प्रति क्यारेट २० हजारका आधारमा चारथान माणिक (रुबी)को मुल्य २२ लाख बिगो बनाएर सोमबार राजस्व अनुसन्धान विभागमा पठाएको छ। प्रहरी नियन्त्रणमा रहेका ती नौजना बिरुद्ध राजस्व चुहावट ऐन अनुसार विभागले काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद लिएर अनुसन्धान थालेको छ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली प्रहरीले बुझाएको रुबी सम्बन्धी घटनामा बिशेष चासोका साथ अनुसन्धान भइरहेको बताउँछन। ‘पक्राउ परेका ब्यक्ति र बरामद सामाग्रीका बिषयमा सोधपुछ भइरहेको छ’ मैनालीले भने, ‘मुद्दा अवैध उत्खन्न, चोरीपैठारी वा राजस्व छली के हो यस बिषयमा स्पष्टता नहुँदा कारवाही प्रभावित भएको छ।’
प्रहरीले बरामद गरेको माणिक (रुबी) को उद्गम नेपाल बाहिर भएको रत्न तथा आभुषण संघको पत्रसहित सो मुद्दा विभागमा बुझाएको हो। बरामद रुबी म्यानमारबाट चोरीपैठारी भएको र तेस्रो देशमा बेचबिखनका लागि ‘डिल’ भईरहेका बेला कारवाही भएको दावी प्रहरीकाे दाबी छ।
(दीपक खरेलले नेपाल खबरमा लेखेका छन )
Jyoti Khanal
Hammai lootera hun.