माओवादी र राजा वीरेन्द्र–रवीन्द्र श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
माओवादी र राजा वीरेन्द्र–रवीन्द्र श्रेष्ठ

सारांश

  • माओवादी जनयुद्ध राजा वीरेन्द्रको कार्यकालमा शुरु भयो ।
  • त्यसबेलाको स्थिति राजतन्त्रसहितको संसदीय व्यवस्था थियो ।
  • ०४६ सालको जनआन्दोलनबाट राजा कमजोर भएका थिए तर पूरै शक्तिविहीन भने थिएनन् ।

माओवादी जनयुद्ध राजा वीरेन्द्रको कार्यकालमा शुरु भयो । त्यसबेलाको स्थिति राजतन्त्रसहितको संसदीय व्यवस्था थियो । ०४६ सालको जनआन्दोलनबाट राजा कमजोर भएका थिए तर पूरै शक्तिविहीन भने थिएनन् । ०४६ साल पछिको संविधान राजा र कांगे्रस तथा वाममोर्चा बीचको शक्ति वाँडफाँडसहितको सम्झौताको दस्तावेज थियो । ०४७ सालको संविधान राजा वीरेन्द्रले नै घोषणा गरेका थिए, त्यो जननिर्वाचित संविधानसभाले बनाएको थिएन । त्यस संविधानमा पञ्चायतकालको जस्तो सक्रिय राजतन्त्रको अधिकार राजालाई नभए पनि राजाका कयौँ अधिकार अझै सम्झौताका भाषामा राखिएकै थिए ।

संविधानमा जे–जस्तो लेखिएता पनि शाही सेना राजाकै मातहतमा थियो । संविधानको भाग ५ मा श्री ५ सम्बन्धी व्यवस्था थियो जसमा राजाको सम्पतिमा कुनै कर नलाग्ने, सम्पति अनतिक्रम्य हुने र राजगद्दी उतराधीकारीसम्बन्धी सबै निर्णय राजाले मात्र गर्न पाउने उल्लेख थियो । धारा ३५ मा नेपाल अधिराज्यको कार्यकारिणी अधिकार श्री ५ र मन्त्रीपरिषदमा निहित हुनेछ भनि राजालाई पनि कार्यकारीणी अधिकार दिइएको थियो । धारा ३७ मा राजाले मन्त्रीपरिषदलाई सचेत गराउन सक्ने अधिकार दिएको थियो । धारा ४४ मा व्यवस्थापिका भन्नाले श्री ५, प्रतिनिधिसभा र राष्ट्रियसभा सहितको संसद भनिएको थियो । धारा ५६ मा राजा र उनका परिवारबारे संसदमा वहस गर्न नपाइने गरिएको थियो । धारा ७२ मा राजा सन्तुष्ट भएमा मात्र अध्यादेश जारी हुने लेखिएको थियो । धारा १२७ मा राजाले वाधा अड्काउ फुकाउने आदेश जारी गर्न सक्ने बनाइएको थियो । नेपालको राजतन्त्र केवल नाम मात्रको संवैधानिक राजतन्त्र नबनाई केही यस्ता अधिकारहरू पनि दिइएको थियो जसबाट पछि राजा सक्रिय बन्न सक्दथे ।

राजा र राजपरिवार आफ्नो गुमेको शक्ति फर्काउन चाहन्थे भन्ने कुरा उनीहरूका गतिविधिले देखाइरहेको थियो । राजालाई भेट्न जानेहरूलाई आफ्नो अधिकार नपुगेको तथा भएका अधिकार पनि प्रयोग गर्न नपाएको वा नदिएको गुनासो गर्दथे भन्ने हल्ला व्यापक बन्दै थियो ।

माओवादी जनयुद्धको शु्रुवात गर्ने बेलामा प्रहारको निशाना शु्रुमा कहाँ कस्तोलाई बनाउने भन्ने व्यापक छलफल भएको थियो । निश्कर्ष थियो– शुरुमा शाही सेनामाथि नै आक्रमण गर्न सकिन्न । हाम्रो स्थिति फौजी क्षमताको हिसाबले धेरै कमजोर थियो । जम्मा दुईवटा थ्री नट थ्री राइफल थिए, दोश्रो विश्वयुद्धकालीन, त्यसमध्य एउटा बिग्रेको थियो । केही भरुवा बन्दुक र वारबोर बन्दुक संकलन भएका थिए । तालिम प्राप्त जनशक्ति केही थिएन । त्यसले गर्दा पनि शुरुमा शाही सेनासँगै लडाई नगरी केवल प्रहरीसँग मात्र लड्ने नीति बन्यो । दोश्रो कारण जनता वरुद्धको दमनमा सरकारले पनि सेना प्रयोग नगरी प्रहरी मात्रै प्रयोग गरिरहेको थियो । जनयुद्ध शुरु गर्ने सुरसार नभएकै बेला रोल्पा रुकुमलगायतका जिल्लाहरूमा नेपाली कांगे्रस सरकारले प्रहरी प्रयोग गरेर अपरेशन चलाएको थियो । तसर्थ जनयुद्ध शु्रु गर्ने बेलामा सरकारमा रहेका शक्तिका विरुद्ध तथा प्रहरीका विरुद्ध मात्रै आक्रमण गर्ने निर्णय भयो तर शाही सेनालाई शुरुमै नछुने नीति बन्यो ।

जनयुद्धको शुरुवात गरिएपछि छोटो अवधिमै अर्थात लगभग एक वर्षभित्रै शाही सेना पनि जनयुद्ध दबाउन प्रयोग होला भन्ने मोटामोटी अनुमान थियो, तर परिस्थिति अर्कै हुन थाल्यो । राजा वीरेन्द्रले कांग्रेस नेतृत्वको सरकार र माओवादी बीचको युद्धको परिस्थितिबाट फाइदा लिने मनसाय बनाएर शाही सेनालाई जनयुद्धका विरुद्ध प्रयोग गर्न नदिने योजना बनाएको र शाही सेनालाई युद्धमा उतार्न परे आफ्नो अधिकार बढाएर मात्र गर्न खोजेको हल्ला शुरु भयो ।

जनयुद्धको शुरुवात गरिएपछि छोटो अवधिमै अर्थात लगभग एक वर्षभित्रै शाही सेना पनि जनयुद्ध दबाउन प्रयोग होला भन्ने मोटामोटी अनुमान थियो, तर परिस्थिति अर्कै हुन थाल्यो । राजा वीरेन्द्रले कांग्रेस नेतृत्वको सरकार र माओवादी बीचको युद्धको परिस्थितिबाट फाइदा लिने मनसाय बनाएर शाही सेनालाई जनयुद्धका विरुद्ध प्रयोग गर्न नदिने योजना बनाएको र शाही सेनालाई युद्धमा उतार्न परे आफ्नो अधिकार बढाएर मात्र गर्न खोजेको हल्ला शुरु भयो । सरकारमा रहेको नेपाली कांग्रेस पनि शाही सेना उतार्दा राजा बलियो हुने र कालान्तरमा राजा सक्रिय हुने डर लिइरहेको थियो । युद्ध मोर्चामा माओवादीले धेरै ठुलो चुनौती दिन सकेको पनि थिएन । माओवादी जनयुद्धले प्रहरी शक्तिलाई क्रमशः हराउन थालेपछि भने नेपाली कांगे्रसको सरकारले सशस्त्र प्रहरी बल बनाउने नयाँ उपाय सोच्न थाल्यो र यससम्बन्धी कामहरू अगाडि बढाउन थाल्यो ।

हाम्रो प्रयास एकातिर सशस्त्र प्रहरी बल बन्न नदिन सबैतिर कोशिस गर्ने र अर्कोतिर सरकारसँग वार्ता अगाडि बढाउने गरी कामहरू शुरु भयो । तर नेपाली कांग्रेसका नेताहरू शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुबैसँग भएका अनौपचारिक वार्ताहरूबाट पनि अपेक्षित प्रतिफल आएन । गिरिजा सरकारका गृहमन्त्री रामचन्द्र पौडेलसँग उहाँ स्वयम् गृहमन्त्री रहेकै बेला पद्मरत्न तुलाधरको मध्यस्थतामा यो पंक्तिकार स्वयमले वार्ता गरेको र वार्तामा भएका सहमति सरकारी पक्षबाट पालना नभएकोले गर्दा वार्ता रोकिन पुग्यो । उल्टो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजालाई फकाएर सके सेना नै माओवादीका विरुद्ध उतार्ने, नसकेपनि सशस्त्र प्रहरी बल गठन गरेर दमन गर्ने योजना बनाउन थालेका समाचारहरू सार्वजनिक भए ।

राजा–गिरिजा मिलेर शाही सेना नै जनयुद्धका विरुद्ध उतार्ने योजना सफल भएमा हामीलाई अप्ठेरो हुन सक्दथ्यो । प्रहरी विरुद्धको लडाई नै कठिन भैरहेको बेला विनातयारी सेनासँग लडाई भएमा अझ कठिन हुन सक्दथ्यो ।

यही परिस्थितिमा माओवादी पार्टी हेडक्वाटरमा गम्भीर छलफल भए । अन्तमा हेडक्वाटरले राजा वीरेन्द्रसँग पनि कुटनैतिक पहल गरेर शाही सेना परिचालन रोक्न कोशिस गर्ने निर्णय गऱ्यो । उपत्यकामा मेरो नेतृत्वमा केन्द्रिय परिचालन कमिटि थियो र यसैलाई उक्त कामका जिम्मा पार्टी हेडक्वाटरले दियो । मैले प्रचण्डसँग यसवारे विस्तृत सल्लाह छलफल गरेँ । अन्तमाः विभिन्न च्यानल प्रयोग गरेर राजा वीरेन्द्रसँग कुराकानी गर्न चाहेको खवर पठाउने सल्लाह भयो । एउटै मात्र च्यानलमा भर पर्न नहुने विषय मैले हेडक्वाटरमा राखेको थिएँ । काठमाडौं फर्केपछि मैले कमिटिका साथीहरूसँग छलफल गरेँ र साथीहरूको चार–पाँच टिम बनाएर दरबारनिकट केही व्यक्तिहरू तथा दरबारका नातेदारहरू मार्फत राजा वीरेन्द्रसँग कुराकानीका लागि खबर पठाउने गरी काम बाँडफाँड गरियो । साथीहरूले विभिन्न च्यानलहरू मार्फत कुराकानी अगाडि बढाए । कुनै च्यानलले यो सम्भव छैन भन्ने जवाफ दिन्थे । कुनै च्यानलले समय लाग्छ भन्थे । कुनै च्यानलले अस्वाभाविक रुपमा यो काम तुरुन्तै गरिन्छ भन्थे तर महिनौँसम्म पनि केही खबर दिँदैनथे ।

राजा वीरेन्द्र पनि कुनै न कुनै बेला सत्ता आफ्नो हातमा लिन चाहन्थे भन्ने कुरा धीेरेन्द्रले त्यो बेला भनेका कुराहरूबाट पनि स्पष्ट हुन्थ्यो । राजा वीरेन्द्रले माओवादीलाई माया गरेर शाही सेना परिचालन नगरेका थिएनन्, उनले सरकार र माओवादीका बीच चलेको लडाईंमा बीचमा बसेर मौकाको फाइदा उठाउन चाहिरहेका थिए ।

अन्तमा एक च्यानलले राजा वीरेन्द्रका भाइ धीरेन्द्र शाहले नै हामीसँग भेट्न खोजेको खवर ल्यायो । हामीले त्यो च्यानल कत्तिको भरपर्दो होला र धीरेन्द्र शाहले आफ्ना दाजुसँग कुरा गरेरै हामीलाई भेट्न खोजेका हुन् वा आफ्नै हिसाबले कुरा गर्न तम्सिएका हुन् भनी जाँच्ने कोशिस गऱ्यौं । धीरेन्द्र शाहले आफ्ना दाजु वीरेन्द्रसँग कुरा गर्न सक्छन् र उनीमार्फत वीरेन्द्र र हाम्रो कुरा हुन सक्ने सम्भावनाका विषयमा पनि बुझ्न थाल्यौँ । अन्तमा अरु च्यानल भन्दा यो नै उपयुक्त हुन सक्ने तथा भेट्दा अरु विषय पनि थाहा लाग्ने हुनाले धीरेन्द्र शाहसँग भेट्ने भन्ने निर्देशन हेडक्वाटरले हामीलाई दियो । प्रचण्डले मलाई नै भेट्न जानुस् भन्नुभएको थियो । तर मलाई भने धीरेन्द्रसँग त्यसबेला शुरुमै भेट्न उपयुक्त लागेन । त्यसैले पहिला अरु क्षेत्रीय ब्युरोका दुई जना साथीहरूलाई भेट्न पठाउने निर्णय गरेँ ।

दुईजना साथीहरूले धीरेन्द्रसँग भेट गरे । पार्टीको तर्फबाट उहाँहरूले शाही सेनालाई जनयुद्धका विरुद्ध प्रयोग हुन रोक्ने विषय राख्नुभयो । धीरेन्द्रले आफू दाजु राजा वीरेन्द्रसँग सल्लाह गरेरै आएको तथा राजा वीरेन्द्रसँग तत्काल भेट्न कठिन हुने कुरा राखे । शाही सेनाको प्रयोग तत्काल माओवादीका विरुद्ध हुन नदिन राजा वीरेन्द्र सहमत रहेको पनि बताए । साथै धीरेन्द्रले माओवादी र राजा मिलेर देशमा नयाँ ढंगले शासन चलाउन पर्ने कुरासम्म पनि राखे र केही लेखेर ल्याएका बुँदाहरू पनि सुनाए । त्यसमा तात्कालिन अधिराजकुमार ज्ञानेन्द्र र युवराज दीपेन्द्र पनि सहमत भैसकेको र राजा वीरेन्द्रलाई पनि सहमत गर्न सकिने कुरा राखे । वास्तवमा धीरेन्द्र शाहका कुराहरू हाम्रा अपेक्षा भन्दा पनि बढी थिए ।

धीरेन्द्रका कुराहरू वास्तविक रूपमा राजा वीरेन्द्रका कति थिए र उनका आफ्नै कति थिए भन्ने कुरा हामीले जाँच्न पाएनौँ । उनका भनाईबाट तथा बाहिर चलिरहेको हल्लाहरूबाट राजा वीरेन्द्र पनि आफ्ना गुमेका अधिकार फिर्ता लिन चाहन्थे भन्ने बुझिन्थ्यो । यसमा राजाले माओवादीलाई उपयोग गर्न खोजिरहेका देखिन्थ्यो र हामी पनि आन्दोलनलाई अप्ठेरो पर्ने हुनाले राजा–गिरिजा नमिलुन् र तत्काल शाही सेना जनयुद्धका विरुद्ध प्रयोग नहोस् भन्ने चाहन्थ्यौँ ।

धीरेन्द्रसँग दुईजना साथीहरूले भेटेको केही समयपछि नै दरबार हत्याकाण्ड भयो । त्यसपछि नेपालको राजनीतिले अर्को मोड लियो । दरबार हत्याकाण्ड पछि बाबुरामले जुन ढंगले राजा वीरेन्द्रसँग माओवादीको अघोषित कार्यगत एकता थियो भन्दै जसरी बढाईचढाई प्रसंशा गरेर लेखहरू लेखे, त्यसबाट बाबुरामको जस्तापाता प्रवृत्ति अर्थात तात्दा पनि बढी तात्ने र सेलाउँदा पनि बढी सेलाउने उग्रवामपन्थी र उग्र दक्षिणपन्थी प्रवृत्ति प्रकट भएको थियो । वास्तवमा राजा वीरेन्द्र पनि कुनै न कुनै बेला सत्ता आफ्नो हातमा लिन चाहन्थे भन्ने कुरा धीेरेन्द्रले त्यो बेला भनेका कुराहरूबाट पनि स्पष्ट हुन्थ्यो । राजा वीरेन्द्रले माओवादीलाई माया गरेर शाही सेना परिचालन नगरेका थिएनन्, उनले सरकार र माओवादीका बीच चलेको लडाईंमा बीचमा बसेर मौकाको फाइदा उठाउन चाहिरहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुमार नगरकाेटीलाई कैदी बन्दीकाे प्रश्न :मीरालाई अहिले पनि प्रेम गर्नुहुन्छ ?
कुमार नगरकाेटीलाई कैदी बन्दीकाे प्रश्न :मीरालाई अहिले पनि प्रेम गर्नुहुन्छ ?
कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिटमा सर्वाेच्चले दियो यस्तो आदेश
कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिटमा सर्वाेच्चले दियो यस्तो आदेश
अझै रोकिएन सुन तस्करी
अझै रोकिएन सुन तस्करी
Social media rushes to define Trump’s ‘covfefe’ tweet
Social media rushes to define Trump’s ‘covfefe’ tweet
फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट ; प्रचण्ड
फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट ; प्रचण्ड
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
जबर्जस्ती गर्न खोज्नेलाई किशोरीले रडले हानेपछि मृत्यु
जबर्जस्ती गर्न खोज्नेलाई किशोरीले रडले हानेपछि मृत्यु
विद्यार्थीलाई ट्रयाकसुट र शैक्षिक सामग्री
विद्यार्थीलाई ट्रयाकसुट र शैक्षिक सामग्री
सय वर्ष पार गर्दा पनि छैन नागरिकता
सय वर्ष पार गर्दा पनि छैन नागरिकता
चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता
चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?