मान्छेलाई भगवान मान्नेहरुले गर्दा आत्महत्या नै गर्नुपर्ने स्थिति !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
१८ पटक हेरिएको
Shares
मान्छेलाई भगवान मान्नेहरुले गर्दा आत्महत्या नै गर्नुपर्ने स्थिति !

सारांश

  • सम्झना पौडेल मलाई लाग्छ मैले राम्रो र नराम्रो भन्दा पनि जहिले पनि सत्यको पक्षमा आफ्नो आवाज बुलन्द बनाउने प्रयास गरें ।
  • मान्छेलाई भगवान भनेर पुज्ने संस्कारबाट अलि बाहिरै रहेँ ।
  • तर अहिले सामाजिक सञ्जाल यति तातिरहेको छ कि मैले र नेपालभरका सारा पत्रकारले बुझेको र पढेको र जानेको पत्रकारिता नै गलत हो ।

सम्झना पौडेल

मलाई लाग्छ मैले राम्रो र नराम्रो भन्दा पनि जहिले पनि सत्यको पक्षमा आफ्नो आवाज बुलन्द बनाउने प्रयास गरें । मान्छेलाई भगवान भनेर पुज्ने संस्कारबाट अलि बाहिरै रहेँ । तर अहिले सामाजिक सञ्जाल यति तातिरहेको छ कि मैले र नेपालभरका सारा पत्रकारले बुझेको र पढेको र जानेको पत्रकारिता नै गलत हो ।

मैले पढेको पत्रकारितामा नागरिक समाजलाई सचेत गराउँदै अराजक भीडलाई रोकेर शान्त र शिष्ट पत्रकारिता गर्नु नै ठूलो धर्म हो । मैले कहिल्यै कागेस्वरमा बोल्न जानिन किनकि मलाई थाहा छ, काग भन्दा कोइलीकै आवाज मिठो हुन्छ । तर अहिले आफूलाई म जति जान्ने ठूलो र संसारभरको एक्लो पत्रकार भन्ने आशयको अभिव्यक्तिले गर्दा पत्रकारिताको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल र नेपालभरका श्रमजीवी पत्रकारको हकहित र प्रेस स्वतन्त्रताको लागि आवाज उठाउने पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ लगायत माथि प्रश्नचिन्ह खडा भएको छ ।

अझ त्योभन्दा पनि पीडादायी कुरा त मैले पनि सामाजिक सञ्जालमा सुन्न र हेर्नै नसक्ने खालका अशिष्ट, अशभ्य, अश्लील शब्दहरुको बर्षा खेप्नु परेको छ । एउटा अमुक व्यक्तिलाई भगवान मान्ने भक्तजनहरुले उसको गुणगान गाउने र कानुनको पक्षमा रहेर बोल्ने म जस्ता व्यक्तिहरुलाई फेसबुक तथा ट्वीटरमा केही स्टाटस राखेकै भरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । अनावश्यकरूपमा धम्की दिने, छाडा शब्दहरुले तथानाम गालीगलौज गर्ने त उनै भगवानलाई खुशी पार्न चढाएको भेटी पो हो कि ? आशंका पैदा भएको छ । बारम्बारको धम्की र गालीगलौजले मलाई आत्महत्या गर्ने स्थितिमा नै पु¥याएको छ ।

हामी सत्यका पुजारी हौं । कसैले बाघलाई बिरालो भन्यो भने हो भन्दै पत्याउँदैनौं । हामीले पनि थोरै विवेक प्रयोग गर्न सक्छौँ, के गलत र के सही छुट्याउन सक्छौँ । सबै कुराको जानकार म मात्र हो भन्नु महामुर्खता शिवाय अरु केही होइन । त्यस्ता सामाजिक सञ्जालमा भगवान मानिएको एक व्यक्तिको कर्मप्रति कसैको आपत्ति नहोला तर व्यवहारप्रति गुनासो हो ।

एउटा पत्रकार जस्तो राज्यको चौथो अंग भएर प्रेस कार्ड लिनुभन्दा सडकमा जुत्ता पालिस गर्छु भन्ने अभिव्यक्ति कानुनको धज्जी उडाउनु हो । सारा पत्रकार र पत्रकारिता पेशाको सम्मान गरेको हो कि होइन ? जड्याहा बालाई बा भन्नुभन्दा बरु छिमेकी काका नै सही भन्ने खालका अभिव्यक्ति दिने अनि यसो नभनेको भए हुने थियो कि भन्दा सामाजिक सञ्जालमा तथानाम गाली गर्ने । यही हो लोकतन्त्र, गणतन्त्र र अभिव्यक्ति स्वतन्त्रता ? के हामीले यस्तै व्यवहारको लागि गणतन्त्रका निम्ति संघर्ष गरेका हौ र ?

“पत्रकार र पत्रकारिता पनि कानुनभन्दा माथि हुँदैन ।” कसैको बारेमा मैले लेखेको स्टाटस यस्तो थियो ।

यसको तात्पर्य भनेको नियामक संस्थामा उजुरी परेपछि के कस्तो हो भनेर सोधेकै भरमा ब्यतिगत रिसइबीले संस्था र सञ्चारजगतलाई नै लत्याउने अभिव्यक्ति दिन र कानुन मान्दिन भन्ने कहाँसम्मको खोक्रे कुतर्क हो त ? आफै मूल्याङ्कन गर्नुपर्ने हो । यसको मतलब यो थिएन कि कुनै व्यक्तिले गरेका कामहरु भ्रमका खेती हुन्, अनावश्यक जनतालाई दुःख दिएका हुन्, नेपाली चेलीको उद्धार गर्नसक्ने महान् कार्य जसको सबैले प्रशंसा गर्नैपर्छ । म पनि गर्छु । तर विनम्र र सभ्य भाषामा लेखिएको एक पत्रकै भरमा सारा नेपालीलाई उतेजनामा ल्याएर तथानाम फेसबुके गालीगलौजमा उत्रने भीड जम्मा भयो । फेरि यति लेख्दैमा मेरो के गल्ती भयो, जहाँ मलाई तथानाम गालीगलौजदेखि स्क्रिनसट गरेर मार्ने धम्की समेत आयो ? भोलि मेरो हत्या भयो भने कसले जिम्मेवारी लिने हो ? मलाई यति थाहा छ, पत्रकारिता उत्तेजनामा आएर गर्ने पेशा हैन । कसैको झोला बोकेर अन्धभक्त भई हिड्न आवश्यक छैन । जेहोस, एक व्यक्तिको पत्रकारिताले नयाँ आयाम थपेको छ, त्यो भनेको श्रद्धाञ्जली, ज्यानको धम्की र उनका बारेमा लेख्ने वा विपक्षमा बोल्ने जोकोहीलाई असभ्य भाषामा गाली अनि नेपाली चेलीहरुको शब्दबाटै बलत्कार यही हो ? हैन भने किन एक स्टाटसलाई लिएर बोल्न नहुने लाजमर्दा शब्ददेखि लिएर मार्नुपर्ने, काटनुपर्ने जस्ता कुराहरु आयो ?

उनको आफ्नै शब्दमा उनी पत्रकार पनि होइनन् रे । बहुत चलेको रियालिटी शोका दर्शक धेरै होलान् तर देश चलाउन लाखौं मान्छेको त्याग र बलिदानबाट सार्बभौमसत्ता सम्पन्न राष्ट्र बनेको हो । पत्रकारिता पेशा भनेको कानुनी राज्यको स्थापना र सभ्य समाज निर्माणको सारथि हो र हुनैपर्छ तर यहाँ पत्रकार र तिनले गर्ने जुनसुकै कार्यलाई पनि कानुनभन्दा माथि राख्ने जबरजस्त प्रयास भइरहेको छ । यही मौका छोपेर पत्रकारिता क्षेत्रभन्दा बाहिरका व्यक्तिहरु लागिपरेका छन, सामाजिक सञ्जालको चरम दुरुपयोग गर्दैछन् । म पत्रकार हैन भन्नेले टेलिभिजनमा कार्यक्रम चलाएर जसलाई मन लाग्यो त्यसलाई, जस्तो मन लाग्यो त्यस्तै गाली गर्न पाउँछ ? हैन भने व्यक्तिगत बिषय लिएर संस्थालाई किन मुछियो ?
एक निर्दोष नारीको चरित्रमाथि कसैले खेल्छ भने त्यो आमाको बलात्कारी हो । किनकि सभ्य नागरिकले सभ्य भाषामा तर्कसंगत् कुरा गर्न सक्नुपर्छ । हैन भने त्यो पनि मानव हैन । प्रेस काउन्सिल सञ्चारमाध्यम एवं पत्रकारहरुको नियामक संस्था हो । फेरि एउटा सरकारी निकाय कुनै ब्यक्तिको हुनै सक्दैन भने पटक–पटक कुनै व्यक्तिको संस्था हो भनिएको छ । हुनसक्ला संस्थामा कोही एक दुई ब्यक्ति खराब वा मन नपरेको हुनसक्छ तर संस्थाकै मानमर्दन गर्ने र त्यसको गरिमामा आँच आउनेगरी पत्रकार जगत्कै धज्जी उडाउने गरी कुतर्क गरेर महान् सम्झनेहरुलाई के थाहा कि विचरा गरिबका छोरा–छोरी घरबाट ल्याएको गुन्द्रुक महिनौंसम्म साँधेर भुटेको मकै खाएर जनताको सेवामा लागेका छन् भनेर । टेलिभिजनमा ठाँटिएर बोल्ने अवसर मिलेन होला तर देशको लागि सबैले आ–आफ्नो तर्फबाट गरेको कामको सम्मान गर्न पनि सक्नुपर्छ । अझ उनले नै रोजेको पेशा जुत्ता सिउने कामको पनि सम्मान गर्नसक्ने क्षमता राख्न सक्नुपर्छ र म पनि राख्छु ।

बत्तीस लक्षणयुक्त भगवान पनि हुँदैनन् । भगवानमा त खोट हुन्छ भने मान्छेमा पनि हुन्छ । सार्वभौमसत्ता सम्पन्न देशका जनताले पाएको अभिव्यक्ति स्वतन्त्रताको नाममा अश्लील गालीगलौज गर्नेलाई र छाडा बोल्नेलाई साइबरक्राइम अनुसार कानुन लागेरै छाड्छ । आफ्नो कुरा आफ्नो सक्कली अनुहार र परिचय देखाउन नसक्ने गरी गरेका कुराले के प्रष्ट हुन्छ भने भुक्ने कुकुरले टोक्दैन । तर आफ्ना अभिव्यतिm सभ्य भाषामा सरल तरिकाले आफ्नो फेसबुकमा राख्दा तथानाम भन्नेहरुलाई त्यसै छाड्नु हुन्न र छाडिन्न पनि । कानुनी कठघरामा ल्याएपछि छाडा बोल्ने र लेख्नेहरुको असली रुप थाहा हुने नै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?