मान्छे बेच्ने नयाँ उपाय- देखाउने भारत, पठाउने कुवेत
सारांश
- काठमाडौं, १५ माघ- नेपाली महिला कामदारलाई अवैध रुपमा विदेश पठाउँदै आएका तस्करका लागि पछिल्लो समयमा भारतीय ‘नेटवर्किङ’ व्यापार सजिलो बहाना बनेको छ ।
- भारतमा सञ्चालनमा रहेका कम्पनीमा जागिर लगाइदिने, ती कम्पनीको सदस्य बनाइदिने भन्दै महिलालाई सीमा कटाउने तस्करले अन्ततः उनीहरुलाई विभिन्न मुलुक पुर्याउँदै आएको खबर आजको नागरिक दैनिकमा राजु अधिकारीले लेखेका छन् ।
- भारतमा सञ्चालनमा रहेका यस्ता नेटवर्किङ व्यापारसँग कुनै साइनो सम्बन्ध नै नभएकाले तिनै कम्पनीको फर्जी कागजात र प्रमाण देखाएर नेपाली महिलाको तस्करी गरिरहेका छन् ।
काठमाडौं, १५ माघ- नेपाली महिला कामदारलाई अवैध रुपमा विदेश पठाउँदै आएका तस्करका लागि पछिल्लो समयमा भारतीय ‘नेटवर्किङ’ व्यापार सजिलो बहाना बनेको छ । भारतमा सञ्चालनमा रहेका कम्पनीमा जागिर लगाइदिने, ती कम्पनीको सदस्य बनाइदिने भन्दै महिलालाई सीमा कटाउने तस्करले अन्ततः उनीहरुलाई विभिन्न मुलुक पुर्याउँदै आएको खबर आजको नागरिक दैनिकमा राजु अधिकारीले लेखेका छन् ।
भारतमा सञ्चालनमा रहेका यस्ता नेटवर्किङ व्यापारसँग कुनै साइनो सम्बन्ध नै नभएकाले तिनै कम्पनीको फर्जी कागजात र प्रमाण देखाएर नेपाली महिलाको तस्करी गरिरहेका छन् । आफूलाई अवैध बाटो हुँदै विदेश पठाउन लागेको, त्यसरी विदेश पुग्दा अनेक अप्ठ्यारो भोग्नुपर्ने जोखिमबारे बेखबर महिला तस्करको प्रलोभनमा फस्दै आएका छन् । भारतीय बाटो हुँदै अवैध रुपमा बिदेसिएका झापाकै धेरै महिला वर्षौंदेखि बेखबर छन् । विदेशमा अनेक यातना सहन बाध्य भए पनि उनीहरु फर्कन सकेका छैनन् । नेपाली महिला विदेश पठाउँदै कमिसन लिन पल्केको गिरोहले भने यो धन्दालाई नयाँनयाँ बहानामा अघि बढाइरहेको छ । मानव तस्करीको संगठित अपराध चलाइरहेकासम्म प्रहरी पुग्न नसक्दा यो क्रम रोकिनुभन्दा तीव्र बनिरहेको छ ।
इलाम चुलाचुलीकी सरिता फुयाल (नाम परिवर्तन) लाई केही साताअघि पूर्वको काँकडभिट्टा नाकामा रहेका माइती नेपालका प्रतिनिधिले रोके । उनी जान लागेको ठाउँबारे सोधपुछ गर्दा सरिताले ‘सिलिगुढीमा हाम्रो कम्पनी छ, त्यहीं जान लागेको’ भन्ने जबाफ दिइन् । उनले माइती नेपालको टोलीसँग ओरियन्ट नामक कम्पनीको नाम लिएकी थिइन् । पछि विस्तृत कुराकानीका क्रममा खुल्यो, सरिता कम्पनी होइन, कुवेत जान हिँडेकी रहिछन् ।
‘साथमा कागजात पनि थिएन, श्रम स्वीकृतिलगायत केही थिएन’, माइती नेपालकी एक कर्मचारीले भनिन्, ‘तर उनलाई कुवेत जाने रहर यति थियो कि दलालले सिकाएअनुसार विवरण ढाँटेर सुनाइन् । परिवार बोलाएर कुरा गर्दा उनी कुवेत जान भनेर हिँडेको पाइयो ।’ उनका अनुसार सरिताले अभिभावकलाई भने आफूसँग सबै कागजात भएको तर भारतबाट जाँदा सस्तो पर्ने भन्दै सम्झाएकी थिइन् । भारतीय कम्पनीको बहानामा अवैध रुपमा विदेश जान खोज्ने सरिता एक्ली महिला होइनन् । दलालले सिकाएको बताएर अवैध रुपमा बिदेसिन खोज्ने र बिदेसिनेको संख्या ठूलो छ । कुनै बेला बिहेको, उपचारको, नातेदारको बहाना गरेर सीमा काट्ने महिला अहिले भारतीय कम्पनीमा हिँडेको भन्दै जोखिमपूर्ण रोजगारीमा गइरहेका छन् । मानव तस्करी नियन्त्रणमा सक्रिय संघसंस्थाका अनुसार काँकडभिट्टा नाकामा यो क्रम झन् बढी छ ।
प्रतिक्रिया