मालपोत कार्यालयमा खुलेआम घुस लेनदेन
सारांश
- सप्तरीको राजविराजस्थित मालपोत कार्यालयमा खुलेआम घुस लेनदेन सामान्यजस्तै भएको छ ।
- सेवाग्राहीको काम गरे वापत सम्बन्धित फाँटका कर्मचारीले गैरकानूनी रुपमा घुस लिने गरेको आरोप मालपोत कार्यालयले वर्षौंदेखि खेप्दैआएको छ ।
- सेवाग्राहीहरुको अत्यधिक चाप रहने उक्त कार्यालयमा रजिष्ट्रेशन, नामसारी, अंशबण्डा लगायतका कामहरु हुँदै आएको छ ।
सप्तरीको राजविराजस्थित मालपोत कार्यालयमा खुलेआम घुस लेनदेन सामान्यजस्तै भएको छ ।
सेवाग्राहीको काम गरे वापत सम्बन्धित फाँटका कर्मचारीले गैरकानूनी रुपमा घुस लिने गरेको आरोप मालपोत कार्यालयले वर्षौंदेखि खेप्दैआएको छ ।सेवाग्राहीहरुको अत्यधिक चाप रहने उक्त कार्यालयमा रजिष्ट्रेशन, नामसारी, अंशबण्डा लगायतका कामहरु हुँदै आएको छ । कर्मचारीहरु घुस माग्छन् या सेवाग्राहीले नै घुस दिन्छन् भन्ने विषयमा खोजी गर्दै जाँदा भित्री रहस्य भने अर्कै पाइएको छ।
कर्मचारी अभाव
एकातर्फ सरकारले नागरिकलाई छिटो छरितो सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएको छ भने अर्कोतर्फ कार्यालयमा रहेका दरबन्दी घटाउँदै लगेको छ ।
अत्यधिक कामको चाप रहने त्यस कार्यालयले एक दशकयता कर्मचारी अभावमा नागरिकलाई छिटो–छरितो सेवा प्रदान गर्न सकेको छैन । कार्यालयबाट काम सम्पन्न भएपछि सेवाग्राहीले युद्ध जितेजस्तो अनुभूति गर्नुपर्ने अवस्था रहेको छ ।
कार्यालयमा एक जना प्रमुख मालपोत अधिकृत हुनुपर्नेमा वर्षौंदेखि निमित्त भएर मालपोत अधिकृतले कार्यालय धान्दै आएका छन् । दुई जना मालपोत अधिकृत हुनुपर्नेमा अहिले एक जना, नायव सुब्बा सात जना रहनुपर्नेमा पाँच जना मात्र कार्यरत छन् ।
यसैगरी, खरिदार दश जना हुनुपर्नेमा अहिले ६ जना मात्र कार्यरत रहेको प्रशासन प्रमुख तथा सूचना अधिकृत रामनारायण शर्माले जानकारी दिनुभयो । खाली भएको दरबन्दीमा कर्मचारी पठाउन आफूहरुले पटक–पटक पत्राचार गर्दा पनि अहिलेसम्म नपठाएकोले एक जना कर्मचारीले कहिलेकाहीँ चार ओटा फाँटको जिम्मेवारी सम्हाल्नुपरेको दुखेसो उहाँले पोख्नुभयो ।
‘२१ जना खरिदारबाट अहिले १० जनाको मात्र दरबन्दी छ, त्यसमा पनि ६ जना मात्र कार्यरत छन्, कामको भार अत्यधिक रहेकोले धान्नै गाह्रो छ’,उहाँले बताउनुभयो ।
श्रेस्ता र मोठ फाँटमा कामको अत्यधिक चाप रहने गरेकोले कर्मचारी अभावले सेवाग्राहीलाई छिट्टो–छरितो सेवा प्रदान गर्न नसकेको उहाँले स्वीकार्नुभयो । दश ओटा मोठ फाँट रहेकोमा पाँच÷६ जनाले भ्याउनुपर्ने अवस्था रहेको उहाँले बनाउनुभयो । सेवाग्राहीको काम समयमा हुन नसक्दा सेवाग्राहीबाट अपशब्द एवम् दुव्र्यवहार सहनु समान्य जस्तै भइसकेको उहाँको भनाई छ ।
‘कर्मचारी अभावले चाहेर पनि सेवाग्राहीलाई सेवा दिन नसक्दा हामीलाई पनि दुःख लाग्छ’, उहाँले भन्नुभयो, ‘काममा ढिलाई भएपछि सेवाग्राहीले पैसा नदिएकै कारण काममा ढिलाई गरेको भनी लगाएको आरोप हामीले झेल्नुपरेको छ ।’
सेवाग्राहीको गुनासो
महिनौं धाउँदा पनि सेवा नपाएको गुनासो गर्नेहरुको फेहरिस्त लामो छ । ती मध्येका एक हुन् राजविराज नगरपालिका वडा नम्बर–१२, का हरिहर चौधरी । उनले जग्गा नामसारी गराउन गएको चैत १२ गतेदेखि बिदाका दिन बाहेक दैनिकजसो फाइल बोकेर कार्यालय धाउने गरेका छन् ।
उनी कार्यालय खुल्नु अगावै ढोकामा कुरिरहेका हुन्छन् । सुरुमै कार्यालय पुगेर शान्त वातावरणमा काम गराउँला भने आशा लिएर उनी कार्यालय हाताभित्र छिर्छन् । कार्यालयको समय सकिएपछि निन्याउरो अनुहार लिएर बाहिरिन्छन् ।
राजविराज नगरपालिका वडा नम्बर–४, का राजेश्वर साह बाटो कित्ता काटका लागि गएको तीन महिनादेखि कार्यालय धाउँदै आएका छन् । तर उनको पनि काम बन्न सकेको छैन । कार्यालय आएर दिनभर समय बर्वाद गर्नु बाहेक अहिलेसम्म केही उपलब्धि नभएको उहाँको गुनासो छ ।
यसरी हुन्छ रकमको कारोबार
मालपोत कार्यालयमा काम गराउन आएका सेवाग्राहीलाई कुन फाँटमा जाने, कसरी काम गराउने भन्ने प्रक्रिया बुझ्नै गाह्रो छ । सर्वसाधारण नागरिक विभिन्न काम लिएर कार्यालय जान्छन् । विभिन्न फाँटहरु धाउँदा धाउँदै सेवाग्राही वाक्क हुन्छन् खसाेखासमा खवर छ। काम गराउने तरिकाबारे जानकारीको अभाव तथा समयमा काम नभएपछि दुई चार दिनको दौडधुपपछि थकित हुन्छन् ।
चाँडै काम गराएर फर्किने आशमा दिनहुँजसो कार्यालय धाउँदै आएका सेवाग्राहीलाई त्यही घुमिरहेका दलालहरुले काम तुरुन्तै काम गराइदिने भन्दै लेनदेनको कुरा गर्दै हातमा फाइल बोकेर काम गराइदिने गरेको एक सेवाग्राहीले बताए । उनका अनुसार दलालले चर्को रकम लिएर केही अंश फाँटवालालाई समेत बुझाउँदै काम गराइदिने गर्छन् ।
यतिमात्र होइन, चाँडो काम गराउनका लागि केही सेवाग्राहीले आफैं कर्मचारीलाई रकमको प्रस्ताव गरेर काम गराउने गरेको उनले बताए ।
कर्मचारी अभाव लगायतका समस्याले जिल्लामै सर्वाधिक ढिलासुस्ती तथा रकम लेनदेनका कारण मालपोत कार्यालय चर्चामा रहँदै आएको छ । त्यस कार्यालयमा सेवाग्राही र कर्मचारीबीच झै–झगडा हुनु समान्य जस्तै भइसकेको छ ।
यता कार्यालयका निमित्त प्रमुखको जिम्मेवारीमा रहेका मालपोत अधिकृत दधिराम गुरागाईंले कर्मचारी अभावले चाहेर पनि सेवाग्राहीलाई सेवा दिन नसकेको बताउनुभयो । सेवाग्राहीको अत्यधिक चाप तथा सम्पूर्ण फाँटमा कर्मचारी नहुनाले समस्या भइरहेकोले कर्मचारी पठाउन माग गरिसकिएको उहाँले जानकारी दिनुभयो ।
Hem Raj Regmi
मालपाेत कार्यालयका सवै कार्यालयहरूमा विना पैसा फायल अगाडि बढदैन,
Sajeman Shekh
Rajbiraj matrai hoina maile dekhe jati sabaima yestai hunchha!