मास्क कालोबजारी गर्नेमाथि कारबाही

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २३, २०७६
|
|
२१ पटक हेरिएको
Shares
मास्क कालोबजारी गर्नेमाथि कारबाही

सारांश

  • फागुन ।
  • सरकारले मास्कको कालोबजारी गर्ने औषधि व्यवसायीमाथि कारबाही थालेको छ।
  • मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ जरिवाना असुल्न थालेको हो।

फागुन । सरकारले मास्कको कालोबजारी गर्ने औषधि व्यवसायीमाथि कारबाही थालेको छ। मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ जरिवाना असुल्न थालेको हो।

व्यवसायीले पाँच रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँसम्ममा बेच्दै आएका छन्। कतिपय उपभोक्ताले यो मूल्यमा पनि मास्क किन्न पाएका छैनन्। व्यवसायीका अनुसार कोरोना भाइरसको त्रासका कारण मास्कको प्रयोग दर सयौं गुणा बढेको छ। विभागको टोलीले बिहीबार राजधानीका महाबौद्ध र क्षेत्रपाटीमा सातवटा पसलमा गरेको अनुगमनमा चारवटा पसलबाट चार लाख ३० हजार रुपैयाँ जारिबाना गराएको छ। विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले व्यवसायीको चलखेलका कारण मास्क र ह्यान्ड सेनेटाइजरको कालोबजारी बढेको बताए।

विभागको टोलीले महाबौद्धस्थित आयुष फार्मेसीसँग दुई लाख, क्षेत्रपाटीस्थित आइज्याक हस्पिटेक सपोर्टसँग दुई लाख, एसजे मेडिको सर्जिकलसँग २० हजार र आरएफ फार्मेसीसँग १० हजार रुपैयाँ जरिवाना असुलेको छ। क्षेत्रपाटीको दीप सर्जिकल सप्लायर्सले मास्क राखेर पनि नभएको भन्दै छलेको थियो। पसलको गोदाममा नियमन गर्दा ४३ थान प्याकेट मास्क फेला परेको थियो। विभाग टोलीले प्रतिगोटा दुई रुपैयाँमा उक्त मास्क बिक्री गर्न लगाएको थियो।

‘अहिले बजारमा आपूर्ति निकै कम भएको छ,’ सुवेदीले भने, ‘स्वदेशी उत्पादनकर्ता कम्पनीसँग कच्चा पदार्थ नभएर उत्पादन भएको छैन। चीन र भारतबाट आउन बन्द भएपछि स्वदेशी बजारमा भण्डारण गरी राखिएका मास्क र ह्यान्ड सेनेटाइजरको कालोबजारी भएको हो।’ कालोबजारी गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको जानकारी दिँदै सुवेदीले नियमनमा धेरै टोली खटाउँदा बजार झनै आतंकित हुने बताए। (अन्नपूर्ण दैनिकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?